कामदार अभावलाई सम्बोधन गर्न अस्ट्रेलियाले स्थायी बसोबास सङ्ख्या थप्न सक्ने

Usual day in crowded nursing home

Healthcare workers with seniors in nursing home. Credit: Getty Images

महामारीका दौरान दक्ष कामदारको अभाव भोगेको अस्ट्रेलिया सरकारले स्थायी बसोबास भिसामा थप २००,००० सङ्ख्या थप्ने सम्भावना देखिएको छ।


करिब दुई वर्षसम्म अस्ट्रेलियाली सीमा बन्द रहँदा, थुप्रै व्यवसायहरू कामदार अभावका कारण मारमा परेका थिए।

अझै पनि आतिथ्य र बृद्धस्याहार लगायतका केही क्षेत्र कामदार अभावका कारण प्रभावित बनिरहेका छन्।

बृद्धस्याहार केन्द्रहरूमा कर्मचारी अभावका कारण, भएका कामदार माथि दबाब त बढेको छ नै , कतिपय कामदार यो क्षेत्रबाटै पलायन हुँदै गएको बताइन्छ।

एङ्गलीकेयर सिड्नीका प्रमुख कार्यकारी अधिकृत साइमन मिलर कामदारहरूले सो क्षेत्रमा काम गर्न नखोज्नुले ठुलो समस्या पारेको बताउँछन्।

“पछिल्ला तथ्याङ्कहरूले बर्सेनि करिब ६५,००० कामदारले यो क्षेत्र छाड्ने गरेको देखाउँछ, हामी यसबाट प्रभावित नहुने कुरै भएन, हामी निकै गार्‍हो समयबाट गुज्रिएका छौ र यो यसलाई भरपाई गर्न महत्त्वपूर्ण भूमिका अन्तर्राष्ट्रिय कामदारले निभाउँन सक्छन्” उनले भने।

दक्ष आप्रवासी कामदारको आगमनले समस्यालाई केही हदसम्म समाधान गर्ने साइमनको भनाई छ।

स्वास्थ्य सेवा प्रणालीमा देखिएको समस्या समाधानका लागि नयाँ प्रकारको भिसाले सहयोग गर्ने पनि उनी बताउँछन्।

“यो क्षेत्रलाई सहयोग गर्न विशेष किसिमको भिसाको प्रवर्द्धन गरेको हेर्न हामी उत्सुक छौ, यस क्षेत्रमा थप कामदारको माग हुनेछ, यसको मतलब हामीलाई थप अन्तर्राष्ट्रिय कामदार चाहिन्छ, यो खाडल भर्नका लागि हामीलाई विशेष भिसा चाहिन्छ,”उनले भने।

कामदार अभावको समस्या समाधानका लागि सरकारले स्थायी भिसाको सङ्ख्यालाई थप गर्न छलफल अगाडी बढाउने सम्भावना रहेको देखिन्छ।

सिप तथा प्रशिक्षण मन्त्री ब्रेन्डन ओ' कोनर देशमा देखिएको कामदार अभावको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउँछन्।

हामी यहाँ कामदार र सिपको सुनिश्चितताका लागि खुला छौ, विकासशील देशहरू मध्ये अस्ट्रेलिया कामदार अभावको हिसाबले दोस्रो नम्बरमा भएको आर्थिक सहयोग र विकास सङ्गठनको प्रतिवेदनले पनि देखाएको छ, श्रम बजारमा सिप उपलब्ध गराउन सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्नु पर्दछ
रोजगार मन्त्री ब्रेन्डन ओ' कोनर

महामारी अघि स्थायी भिसाका लागि १९०,००० स्थानहरू तोकिएका थिए।

सन् २०१९ मा यो सङ्ख्यालाई केही कम गदै सरकारले बर्सेनि १६०,००० स्थायी भिसा दिने बताएको थियो।

अहिले पनि उक्त सङ्ख्या कायमै छ, तर यसले बर्सेनि थपिने आप्रवासीहरूको वास्तविक सङ्ख्या भने बताउदैन्।

किनकि यसले देश छाडेर जाने आप्रवासीहरूको सङ्ख्यालाई गणना गदैन्।

महामारीका बेला, सीमा बन्दका कारण नयाँ आप्रवासी भित्रन नपाउँदा, आप्रवासीको कुल सङ्ख्या नकारात्मक बन्न पुगेको थियो।

मन्त्री ओ’ कोनर दक्ष कामदारलाई अस्ट्रेलिया भित्रन दिने मात्र नभई यहाँ रहीरहेका कामदारलाई पनि त्यसमा समेटिनु पर्नेमा जोड दिन्छन्।

दुई वटा कुरा छन्: एक दक्ष कामदारलाई अस्ट्रेलिया आउन दिने र दोस्रो चाहिँ यहाँ रहेका अस्थायी भिसाधारीहरुलाई स्थायी बसोबासका लागि बाटो प्रदान गर्ने, जसका कारण यहाँ बसेकाले पनि अवसर पाउँछन्
रोजगार मन्त्री ब्रेन्डन ओ' कोनर

यता अस्ट्रेलियाका विभिन्न सङ्गठनहरूले भने आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूको अवस्थाका बारेमा चासो देखाइरहेको बताएका छन्।

अन्तर्राष्ट्रिय कामदार कतै सस्तो विकल्पका रूपमा त प्रयोग हुने होइनन् भन्ने कुरामा चासो रहेको अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनका मिकेल व निल बताउँछिन्।

“हामीले पहिलो जाँच्नु पर्ने कुरा भनेको साँच्चीकै दक्ष कामदारको अभाव हो वा उचित ज्याला वा सर्त सहितको कामको अभाव हो भन्ने हो, प्राय रोजगारदाताले कामदार अभाव भएको बताउँछन् तर हामीले थुप्रै यस्ता घटनाहरू देखेका छौ, जहाँ कामदारलाई अस्ट्रेलियाली नियम अनुसार तलब र सुविधाहरू दिइएको छैन,” उनले भनिन्।

यस योजनाले सरकारलाई अल्पकालीन आर्थिक भार परेता पनि अर्थतन्त्रलाई उकास्ने दीर्घकालीन अवसरका रूपमा हेरिएको छ।

अर्को महिना, सरकारले रोजगारी र सिप सम्बन्धी सम्मेलन आयोजना गर्दैछ, जहाँ आप्रवासीको सङ्ख्या हेरफेर गर्ने विषयलाई केन्द्रमा राखिनेछ।

ग्रिन्सकी सांसद बारबरा पोककले आफ्नो पार्टीले उक्त सम्मेलनमा भाग लिने कुरालाई पुष्टि गरेकी छन्।

“एडम व्यान्ट र मलाई उक्त सम्मेलनमा भाग लिनका लागि निमन्त्रणा आएको छ, हामीले समुदाय सामु अस्ट्रेलियाली कामदारहरूको जीवनलाई कसरी सुधार गर्न सकिन्छ भन्ने बिषयमा आफ्ना विचारहरू राख्नेछौ,” पोककले भनिन्।

skilled_workers_getty.jpg

यता विपक्षी लिबरलका नेता पिटर डटनले भने सम्मेलनलाई 'बेकार' भएको भन्दै, आफूले भाग नलिने बताएका छन्।

नेशनलका नेता डेभिड लिटलप्राउडले भने पिटर डटनको विचारलाई समर्थन जनाए पनि आफूले भने सम्मेलनमा भाग लिने बताए।

“हामी गठबन्धनमा भए पनि, हामी दुई भिन्न दल हौ, पिटर डटनले भने जस्तै यो केवल स्टन्ड मात्रै हो, यो भित्र केही छैन तर रिजनल क्षेत्रको पक्षको लागि म भाग लिनेछु,” उनले बताए।

रोजगार तथा सीप सम्मेलन सेप्टेम्बर १ र २ तारिखमा क्यानबेरामा आयोजना हुदैछ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now