'क्यासलेस पोकर मेसिन': के जुवाको लतलाई कम गर्न यसले मद्दत गर्ला?

A woman on a poker machine

A woman on a poker machine Source: AAP

राज्यका पोकर मेसिनलाई 'क्यासलेस' बनाउने न्यु साउथ वेल्स सरकारको योजनालाई प्रहरी र विपक्षी दलको पनि साथ मिलेको छ।


न्यु साउथ वेल्स राज्य सरकारको पोकर मेसिनहरूलाई 'क्यासलेस' अर्थात् सिधै पैसा घुसाएर खेल्न नमिल्ने बनाउने योजनालाई विपक्षी दलले पनि साथ दिने भएको छ।

राज्यले ३४ करोड ४० लाख डलर खर्च गरेर ल्याउन लागेको योजनाले जुवाको लतलाई कम गर्न मद्दत गर्नु साथै साङ्गठनिक अपराधलाई पनि निरुत्साहित गर्ने प्रिमीयर डोमिनीक पेरोटेले बताएका छन्।

सरकारले विभिन्न क्लबहरूबाट २,००० वटा यस्ता मसिन 'बाइव्याक' अर्थात् खरिद गर्ने योजनालाई पनि विपक्षीले अनुमोदन गरेको छ।

“जुवामा हुने महत्त्वपूर्ण परिवर्तनले मानिसहरूको जीवनमा ठुलो परिवर्तन ल्याउनेछ, यसले राज्यको साङ्गठनिक अपराध कम गर्नेछ, समुदायलाई सुरक्षित बनाउनेछ, मनि लन्डरिङ्ग कम गर्नेछ र जुवाको समस्या कम गर्नेछ,” प्रिमीयर पेरोटेले भने।

यो सँगै न्यु साउथ वेल्सकी प्रहरी कमिस्नर केरेन वेबले सरकारी योजनामा आफ्नो सहमति जनाएकी छन्।

“हामीलाई थाहा छ कि अपराधीहरूले मनि लन्डरीङ्गका लागि पोकर मेसिनको प्रयोग गर्छन्, यसले अपराधीलाई समात्न सहयोग पुर्‍याउनेछ, उनीहरूले पैसा कहाँ खर्च गरिरहेका छन् भनेर पत्ता लगाउन र खोज्न सहयोग पुर्‍याउनेछ,” उनले भनिन्।

प्रहरी र विपक्षी बाहेक जुवा सम्बन्धी सहयोगी संस्थाहरूले पनि यसमा समर्थन जनाएका छन्।

टनिङ्ग पोइन्ट नामक, जुवा र लागु औषध सम्बन्धी सहयोगी संस्थाका क्लिनिकल निर्देशक डान लुबम्यान क्यासलेस र निश्चित रकम खर्च गर्न पाउने नियम राख्दा जुवा खेल्न जानेहरूको लतलाई कम गर्न मद्दत पुग्ने बताउँछन्।

“अधिकांस समयमा मानिसहरू एउटा निश्चित रकम खर्च गर्छु भनेर त्यहाँ गएका हुन्छन्, तर यी मेसिनहरू यस्तो बनाइएका छन् कि धेरै भन्दा धेरै पैसा तान्ने र आफूले गुमाएको रकम फिर्ता पाउन पछि लाग्ने बनाइएका हुन्छन्,” उनले भने।

“लत लागेका मानिसले आफूले कति खर्च गर्न भनेर गएको हो नै बिर्सन्छन्, आफू जानु अघि नै एउटा निश्चित बिन्दु तोकिदा मानिसहरूलाई आफूलाई सम्हाल्न सजिलो हुन्छ।”

तर प्रिमीयर पेरोटेको योजनामा सबै खुसी छैनन्।

A man playing a poker machine
A man playing a poker machine Source: SBS

क्लब न्यु साउथ वेल्स र अस्ट्रेलियन होटेल एसोसिएसनले यसको विरोधमा बोलेका छन्। उनीहरूका अनुसार यसको लागत निकै नै धेरै हुन्छ।

उक्त संस्थाहरू यसले प्रोब्लम ग्याबलिङ्गलाई सहयोग नगरेर कहिले काहीँ खेल्नेहरूलाई समेत धपाउने बताउछन्।

उनीहरूको भनाइमा क्याजुयल जुवाडेहरूले आफ्नो बैंक एकाउन्टमा गेमिङ्गलाई लिङ्क गराउने छैनन्।

न्यु साउथ वेल्सले यो वर्षको अन्त्यसम्म २,००० पोकर मेसिनलाई क्यासलेस बनाउने योजना अघि सारेको छ।

बाँकि ८८,००० मेसिन भने सन् २०२८ सम्म क्यासलेस हुनेछन्।

यस अघि टास्मेनियाले जुवा सम्बन्धी परिवर्तन अघि सारिसकेकाले यस्तो खाले परिवर्तन गर्ने न्यु साउथ वेल्स पहिलो राज्य भने हुनेछैन।

यद्यपि जुवाको समस्यामा परेका मानिसहरूसँग नजिकमा रहेर समस्या समाधानमा लागिरहेका लुबम्यान जस्ता मानिसहरू भने देशैभर यसलाई लागु गर्नु पर्नेमा जोड दिन्छन्।

“यो समयमा जुवाका बारेमा गम्भीर छलफल भइरहेको छ, यसका लागि देशैभर शाही आयोगहरू बनेका छन्, सरकारले कदम चाल्ने पनि बताइरहेको छ, यसको प्रभाव बालबालिकामा पनि परिरहेको छ....अन्य राज्यहरूले पनि यसलाई लागु गर्नै पर्छ,” लुबम्यान भन्छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now