सस्तो बन्दै 'चाइल्ड केयर' तर के भर्ना पाउन सजिलो छ त?

Thank you for helping me, doc!

An estimated 1.2 million Australian families are expected to benefit from changes to the government childcare subsidy. Credit: FatCamera/Getty Images

सङ्घीय सरकारले 'चाइल्ड केयर'को अनुदानको दायरालाई बढाउँदा, करिब १२ लाख अस्ट्रेलियन परिवारलाई फाइदा पुग्ने देखिएको छ।


सरकारले गत मे महिनामा बजेट मार्फत गरेको घोषण अनुरूप, 'चाइल्ड केयर' अर्थात् बालस्याहार केन्द्रमा लाग्ने शुल्कमा अनुदानको दायरालाई बढाएको छ।

यसले आम अस्ट्रेलियालीहरूलाई महँगीको मारबाट थोरै भए पनि मद्दत गर्ने भए पनि यस्ता केन्द्रहरू अहिले नै दबाबमा रहेको र माग झनै बढ्ने भएकाले अभिभावकको खोजेको जस्तो सहज रुपमा उपलब्ध हुने कुरामा संचालकहरु शङ्का व्यक्त गर्छन्।

सिड्नीको हर्स्टभिलमा बस्ने श्रद्धा गुरुङले आफ्नी चार बर्सिया छोरीलाई हप्ताको पाँचै दिन चाइल्ड केयर पठाउने गरेकी छिन्।

छोरी आठ महिना भएदेखि चाइल्ड केयर पठाउन थालेको बताउने गुरुङले पाक्षिक रूपमा ५५५ डलर तिर्दै आएको भनाइ राखिन्।

new child care package
Source: Getty / Getty Images

'कस्ट अफ लिभिङ्ग' बढिरहेको अवस्थामा, चाइल्डकेयर मार्फत थोरै राहत दिने प्रयास सरकारले गरेको हो।

५.४ अर्ब डलरको योजना मार्फत चाइल्ड केयर बापतको ९० प्रतिशतसम्मको भार सरकारले बेहोर्ने जनाएको छ।

यस बाहेक, ५३०,००० डलरसम्म वार्षिक आम्दानी भएका परिवारले समेत सरकारी अनुदानबाट फाइदा लिन सक्नेछन्।

श्रद्धा गुरुङका लागि यो समाचार सुखद त छदै छ, बचेको पैसाले उनी आफ्नी छोरीको व्यक्तित्व विकासका लागि अन्य तालिमहरूमा खर्च गर्ने योजना बनाइरहेकी छिन्।

"चाइल्ड केयरमा त्यत्रो पैसा खर्च गर्नु भन्दा, बढ्दो उमेरका बच्चाहरूलाई अरू एक्स्ट्रा करिकुलर एक्टीभिटीमा पुस गरेर इन्गेज गराउने हो कि भन्ने होप हो मेरो," गुरुङले भनिन्।

“त्यहाँबाट आउने एक्स्ट्रा सब्सिडीले बच्चा कै ग्रोथ एन्ड डेभेलेपमेन्ट राम्रो हुन्छ जस्तो लाग्छ।”

धेरैले सरकारी कदमको स्वागत गरेको भए पनि, के पर्याप्त मात्रामा स्याहार केन्द्रमा सिटहरू उपलब्ध हुन्छन् त भन्ने शङ्का पनि धेरैमा उब्जिएको पाइएको छ।

हर्स्टभिलमा आफ्नी छोरीका लागि सजिलै चाइल्डकेयर पाएको भए पनि आफूले खोजेको जस्तो चाइल्ड केयरमा बुकीङ्ग पाउन भने मुस्किल पर्ने गुरुङको अनुभव छ।

यता तीन सन्तानकी आमा गेमाले सरकारी सहयोगका कारण आफू काममा फर्कनका लागि सहज हुने भएता पनि चाइल्ड केयरमा बुकीङ्ग पाउन मुस्किल भएको अनुभव छ।

“सबैभन्दा गार्‍हो कुरा भनेकै, यदि म अहिले नै काममा जाने सोचेँ भने के बच्चाहरूका लागि डे केयर उपलब्ध हुन्छन् त भन्ने हो, अहिलेको अवस्थामा धेरै जसो डे केयरहरूमा ठाउँ नै छैन, ” गेमाले भनिन्।

सिड्नीमा रहेको एक चाइल्डकेयरमा एजुकेटरका रूपमा काम गर्ने जुलियना फरेरेको अनुभवमा पनि चाइल्डकेयरमा बच्चाका लागि ठाउँ पाउनु मुस्किल नै छ।

उनका अनुसार सरकारी योगदानको दायरा बढाइनु अघि नै यसको माग उच्च रहँदै आएको छ।

“हामी अहिले नै आफ्नो पूर्ण क्षमतामा सञ्चालित छौँ, अभिभावकहरू आफ्ना केटाकेटी पठाउन खोजी रहेका छन्, सम्भव भएसम्म हामीले लिएका छौँ,” जुलियानाले भनिन्।

चाइल्ड केयर सञ्चालक स्वयं पनि बढ्दो महँगाइका कारण व्यवसायलाई टिकाउन गार्‍हो परिरहेको बताउँछन्।

एक चाइल्डकेयर सेन्टरका प्रमुख कार्यकारी रिर्चड बेल पछिल्लो समय कर्मचारीको तलबसँगै न्यापि देखि खेलौनासम्मको भाउ बढेको र यसले गर्दा व्यवसाय धान्न मुस्किल परेको बताउँछन्।

अर्का सञ्चालक सी वाङको भनाई पनि उस्तै छ, माग उच्च भए पनि राम्रा र दक्ष कर्मचारीहरू पाउनै मुस्किल परेको उनको अनुभव छ।

अस्ट्रेलियन कम्पिटीसन एन्ड कन्जुमर कमिसन (एसीसीसी)का अनुसार कम आम्दानी भएका घरपरिवारले आफ्नो कमाइको २१ प्रतिशत चाइल्ड केयरमा बच्चा पठाउनमा खर्च गर्ने गरेको देखाएको छ।

सरकारले विस्तार गरेको चाइल्ड केयरको दायराले अस्ट्रेलियन नागरिक र स्थायी बासिन्दालाई सहयोग मिल्ने भए पनि अस्थायी भिसामा भएकाहरू भने आम्दानीको ठुलो हिस्सा चाइल्ड केयरमा खर्च गर्न बाध्य छन्।

हाल सिड्नीमा बसोबास गर्दै आइरहेकी मोनिका न्यौपानेलाई आफ्ना दुई सन्तानलाई चाइल्ड केयरमा राख्नलाई थप काम गर्नु पर्ने बाध्यता छ।

दुई दिन चाइल्ड केयर राख्दा हप्तामा ४०० डलर तिर्नु परि रहेको न्यौपानेले एसबीएस नेपालीसँग बताएकी छिन्।

"एउटा काम चाहिँ चाइल्ड केयरमा तिर्नै भनेर गरेको हो, " न्यौपानेले भनिन्।

“सरकारबाट थोरै, १० नै डलर हेल्प भए पनि हामीलाई ठुलो कुरा हुन्थ्यो।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now