२४ वर्षीय जयेन्द्र शाहीलाई सिड्नीको ब्याङ्क्स्टाउन स्थानीय अदालतमा तीन वटा कमन असल्टका मुद्दामा दोषी ठहर गरिएको हो।
अदालतमा सुनुवाइका क्रममा घटनाहरू सिड्नीको पनेनिया स्थित बाल स्याहार केन्द्र वा चाइल्ड केयरमा तीन र चार वर्ष उमेरका बालबालिकासँग सम्बन्धित रहेको बताइएको थियो ।
न्यु साउथ वेल्स पुलिसले एसबीएस नेपालीलाई दिएको जानकारी अनुसार २४ एप्रिल सन् २०२६ मा ब्याङ्कस्टाउन पुलिसले एक कर्मचारीले अघिल्लो दिन दुई साना बालकहरूलाई गालामा झापड हानेको आरोप सहितको एक रिपोर्ट प्राप्त गरेको थियो। जसपश्चात शाहीलाई २५ एप्रिलमा पक्राउ गरे पनि धरौटीमा रिहा गरिएको थियो ।
पछि थप अनुसन्धानपछि प्रहरीले समान उमेरका दुई बालिकामाथि आक्रमण भएको छुट्टै घटनाको आरोप लागेपछि उनलाई गत ४ मेमा बेल्मोर स्थित घरबाट पुनः पक्राउ गरेको थियो।
थप दुई वटा कमन असल्टका आरोप दर्ता गर्दै अदालत उपस्थित हुनुअघि उनको धरौटी अस्वीकार गरिएको थियो।
उक्त मुद्दामा गएको बिहीवार ७ मेमा न्यायाधीश जे जायल्सले अन्तिम फैसला सुनाउँदै मुद्दालाई ब्याङ्क्स्टाउन स्थानीय अदालतमा टुङ्ग्याइएको छ। अदालतले दोष स्वीकारको शाहीको अपिललाई स्वीकृत गर्दै सबै आरोपमा दोषी ठहर गरेको हो ।
उनलाई सोही दिनदेखि लागू हुने गरी दुई वर्षको कम्युनिटी करेक्सन अर्डरको सजाय सुनाइएको छ। यो गम्भीर प्रकृतिका तर जेल सजाय आवश्यक नभएका कसुरहरूमा अदालतले दिने कारागार बाहिर रहेर असल आचरण देखाउनु पर्ने लचिलो प्रकृतिको सजाय हो।
उक्त आदेशअनुसार उनले सो अवधिमा कुनै पनि कानून उल्लङ्घन गर्न हुँदैन भने अदालतले बोलाएमा उपस्थित हुनु पर्नेछ ।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइनलाई १८०० ५५ १८०० सम्पर्क गर्न सक्नुहुन्छ।
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
थप पोडकास्ट सुन्नुहोस्

कुराकानी: विक्रम लामाको मृत्युबारे ‘कोरोनियल’ छानबिन हुनुपर्ने माग




