अस्ट्रेलियाली संसदमा घुसपैठ गर्ने कथित चिनियाँ योजनाबारे व्यापक राजनीतिक प्रभावका माँझ चिनियाँ पृष्ठभूमिका अस्ट्रेलियालीहरु माथि पनि नकारात्मक असर परिरहेको बताइएको छ।
देशको राजनीति देखि शिक्षण संस्था र संस्कृतिक निकायहरुमा पनि चिनियाँ हस्तक्षेप बढेको आरोपका साथ आफुहरुलाई पनि समुदायमा खतराको रूपमा लिईन सुरु भएको केहि चिनियाँ अस्ट्रेलियालीहरुको भनाइ छ।
उक्त चिन्ता व्यक्त गर्ने मध्येका एक हुन् स्कट यंग। लिबरल पार्टीको चिनियाँ युवा परिषदको संस्थापक अध्यक्ष पनि रहेका यंग भन्छन कि आफु जस्ता चिनियाँ पृष्ठभूमिका राजनीतिज्ञहरु प्रतिको शंका आफ्नो घर सम्म पनि पुगिसकेको छ।
आफ्नो एक नातादारले के समुदायमा मानिसहरुले मलाई चिनियाँ जासूस भएको सोचेका छन् भनि सोधेको प्रश्नले आफुलाई अच्चम र दुखित पनि बनाएको उनि बताउछन्।
स्कट यंगले २०१९ को न्यु साउथ वेल्स राज्य निर्वाचनमा लिबरल पार्टीको तर्फबाट एक दक्षिण सिड्नी सीटका लागी चुनाव लडेका थिए।
यंगका साथी जेफ्री वाङ्ग, सन् २००० को दशकको सुरु देखि लिबरल पार्टी सदस्य रहेका छन्।
र वाङ्गका अनुसार पनि चिनियाँ सरकारको कथित पहुँच र शक्तिबारे विचारले समुदायमा चिनियाँ अस्ट्रेलियालीहरु बारे नकारात्मक सोंच सिर्जना गराइरहेको छ।
"यसले मलाई केहि चिन्ति बनाएको छ किन भने चिनियाँ अस्ट्रेलियालीहरुलाई चिनियाँ सरकारसंग जोडेर हेरिन्छ", उनि भन्छन।
"वास्तविकता त के हो भने प्राय चिनियाँ अस्ट्रेलियालीहरुको चिनियाँ सरकारसंग कुनै सम्बन्ध रहेको छैन।"

चीन सरकार द्वारा खण्डन गरिएका हस्तक्षेप सम्बन्धि आरोपहरुबारे अस्ट्रेलियाली जासूसी निकाय एसियो र सङ्घीय प्रहरी द्वारा छानबीन सुरु गरिएको छ।
यसले अस्ट्रेलिया र चीन बीचको सम्वन्धलाई झनै बिगारेको पनि बताइएको छ।
सन् २०१२ मा चिनियाँ मूलभूमि बाट सिड्नी सरेका वारेन वाङ्गले हालै अस्ट्रेलियाली नागरिकता पनि लिएका छन्।
उनि पनि चिनियाँ कम्युनिस्ट पार्टी द्वारा अस्ट्रेलियामा आफ्नो प्रभाव बढाउने प्रयास गरिरहेको कुरा विश्वास गर्दछन्।
तर कम्युनिस्ट पार्टीको काम र चिनियाँ अस्ट्रेलियालीहरु बीच कुनै सम्वन्ध नरहेको जोड दिन पनि जरूरी रहेको उनि बताउँछन्।
"कम्युनिस्ट पार्टीलाई खतराको रूपमा लिंदा चिनियाँ मानिसहरुलाई पनि त्यहि रूपमा हेर्नु गलत हो", उनि भन्छन्।
गए हप्ता पुर्व प्रधान मन्त्री पौल किटिंगले चीन विरोधी विचारधारा व्यापक हुँदै गएको भन्दै त्यस विरुद्ध चेतावनी पनि जारी गरेका थिए।

"अहिले कम्युनिस्ट शब्दको सट्टा चीन प्रयोग गर्दै विदेश मामिला नीति लागु गरिनु रणनीतिक वास्तविकतामा आधारित रहेको छैन", उनले भने।
यसैक्रममा प्रधान मन्त्री स्कट मोरिशनले चाहिं कथित चिनियाँ जासूसीका आरोपहरु धेरै गम्भीर रहेको बताएका छन्। तर अस्ट्रेलियालीहरु यसबारे कुनै प्रकारको निष्कर्षमा चाहिं पुग्न नहुने उनले जोड दिएका छन्।
साथै चिनियाँ अस्ट्रेलियालीहरुले पनि समझदारीको लागि पहल गरेका छन्।
राजनीतिक टिप्पणीहरुका कारण दिर्घकालिन रूपमै सामाजिक असर पर्नसक्ने बारे आफु चिन्तित रहेको बताउँछन् स्कट यंग।
"चिनियाँ अस्ट्रेलियालीहरु यो देश प्रति धेरै वफादार रहेका छन्। अन्य अस्ट्रेलियालीहरु झैँ उनीहरुले पनि यो देशको लागि धेरै योगदान पुराएका छन्। त्यसैले चिनियाँ अस्ट्रेलियाली, चिनियाँ संस्कृति र चिनियाँ सरकारसंगको मामिला सबै छुट्टै राख्न जरूरी रहेको छ", उनि भन्छन्।





