सत्तरी प्रतिशत खोपको पूर्ण दर पुगे सँगै न्यु साउथ वेल्स, भिक्टोरिया र एसीटीमा ७५० डलरको उक्त साप्ताहिक प्याकेजमा कटौती सुरु हुनेछ।
अस्ट्रेलिया भर कोभिड-१९ विरुद्धको खोप लगाउने मानिसहरूको सङ्ख्या बढ्दै जाँदा हाल सङ्घीय सरकारले प्रदान गदै आइरहेको प्रकोप राहत भुक्तानी अन्तर्गतको रकम कटौती गरिने बारेमा जानकार रहन संघीय ट्रेजरर जोश फ्राइडनबर्गले सबैलाई आग्रह गरेका छन्।
“हामीले यो अनुमान गरेका छौँ कि जब प्रतिबन्धहरू खुकुलो हुन्छन्, मानिसहरू आफ्नो काममा फर्कने छन्, व्यवसायहरू पुन सञ्चालनमा आउने छन् र मानिसहरू आफ्नो सामान्य दैनिकी तर्फ फर्कने छन्,” उनले भने।
जब खोपको पूर्ण मात्रा लगाउने मानिसको दर ७० प्रतिशत पुग्नेछ, महामारी राहत अन्तर्गतको भुक्तानी प्राप्त गर्न मानिसहरूले आफ्नो व्यक्तिगत अवस्थाको बारेमा जानकारी गराई प्रत्येक हप्ता आवेदन दिन जरुरी हुनेछ।
८० प्रतिशत मानिसले खोप लगाई सकेपछि भने राहत रकममा कटौती सुरु हुनेछ जस अनुसार हालको ७५० डलर साप्ताहिक भुक्तानी रकम घटेर ४५० डलर कायम हुनेछ।
त्यसको अर्को हप्ता उक्त रकमलाई ३२० डलरमा पुर्याइनेछ। तेस्रो हप्ताबाट भने उक्त सहयोग पूर्ण रूपमा बन्द गरिनेछ।
त्यस्तै, यदि कसैले जबसीकर बेरोजगार भुक्तानीका अलावा पूरक भुक्तानी पनि प्राप्त गरिरहेका छन् भने, ८० प्रतिशत पुगेको पहिलो साता २०० डलरबाट घटेर उक्त रकम १०० डलर कायम हुनेछ।
त्यसको अर्को हप्ताबाट भने उक्त रकम पनि पूर्ण रूपमा बन्द गरिने बताइएको छ।

हाल कोभिड-१९ लकडाउनका कारण न्यु साउथ वेल्सको सबै भन्दा बढी प्रभावित क्षेत्र भने उत्तर पश्चिमी र पश्चिमी सिड्नी परेका छन्, जहाँ घरमै बस्नु पर्ने आदेशका कारण मानिसहरूले काममा जान व्यवसाय सञ्चालन गर्न पाएका छैनन्।
स्टेफेन काम्पर, विपक्षी दल लेबरका लागि साना व्यवसाय,सम्पत्ति र बहु सांस्कृतिक मामिला हेर्ने विभागका प्रवक्ता हुन्।
उनका अनुसार सङ्घीय र राज्य सरकारले प्रदान गर्दै आइरहेको राहत बन्द गर्ने उचित समय भने यो होइन। पश्चिमी सिड्नीका मानिसहरूलाई निरन्तर सहयोगका लागि मुद्दा सजिलै बनाउन सकिने उनको भनाई छ।
"यो सम्भाव्यताको विषय हो - तपाईँ पश्चिमी सिड्नीका बासिन्दालाई लक्षित गर्न सक्नुहुन्छ, उनीहरूलाई चिन्न सहज छ, बन्दको प्रभाव अहिले कम भएको छैन, आज तपाई भन्नुहुन्छ खोल्नुहोस्, एक दिन खुल्ला पनि, तर ती व्यवसायलाई सञ्चालन हुन अझै पनि सहयोगको खाँचो पर्छ।"
अधिकारीहरू भन्छन् कि पश्चिम र उत्तर पश्चिमका हटस्पट क्षेत्रहरूमा स्वागत योग्य रूपमा कोभिड-१९ मामिलाहरू घट्दै गएका छन् तर राज्यका रिजनल क्षेत्रमा सङ्क्रमित सङ्ख्या बढ्दो अवस्थामा छ।
भिक्टोरियाको अवस्था बारे थप चिन्ता
भिक्टोरियामा भने केस सङ्ख्या निरन्तर उकालो लागिरहेको कारण उक्त राज्यको स्वास्थ्य प्रणालीमा निरन्तर दबाब बढिरहेको छ।

मानिसहरूलाई अप्ठेरो परेको अवस्थामा मात्र आपतकालिन नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
एम्बुलेन्स भिक्टोरियाका क्लिनिकल विभागका कार्यकारी निर्देशक मिक स्टेफेन्सन बढ्दो माग पुरा गर्नका लागि थप स्रोत साधन मगाइएको बताउँछन्।
“हामीले एम्बुलेन्स सेवालाई निरन्तरता दिन, अन्य सेवाहरूको पनि प्रयोग गरिरहेका छौँ, सेन्ट जोन्स एम्बुलेन्स र राज्यको आपतकालिन सेवा पनि यसमा समावेश छन्।"
"एम्बुलेन्सको पर्खाइमा रहेका मानिसहरूलाई सेवा दिन समुदाय र विद्यार्थी पारामेडिक्सहरुको पनि सहयोग लिइरहेका छौँ, हामी चाहन्छौँ कि अस्पतालमा ती मानिसहरू मात्र पुगुन् जसलाई साँच्चिकै त्यहाँ पुग्न आवश्यकता छ,” उनले भने।
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियन मेडिकल एसोसिएसनका भिक्टोरिया राज्यका अध्यक्ष हुन्, डाक्टर रोड्रीक मक्रे।
उनी भन्छन् रोकथाम गर्न सकिने मृत्युको दरको वृद्धिका लागि भिक्टोरीयालीहरू तैयार रहनुपर्छ।
अहिलेको अवस्थामा सबैभन्दा राम्रो कुरा भनेको खोप लगाउनु र हिँडडुल कम गर्नु हो।
यता अकुपेशनल हेल्थ एन्ड सेफ्टी एक्ट भनिने कार्यस्थल सुरक्षा सम्बन्धी ऐनका नियमहरू ५८ पटक तोडेको आरोप सहित राज्यको स्वास्थ्य विभाग माथि मुद्दा चलाइएको छ।
होटेल क्वारेनटिनका नियमहरू उल्लङ्घन हुँदा गत वर्ष मार्च देखि जुलाईका बिचमा भिक्टोरियामा कोरोनाको दोस्रो लहर बढेको भन्दै उक्त घटनामा स्वास्थ्य विभागको कमजोरी रहेको आरोप छ।
वर्क सेफ भिक्टोरियाले सङ्क्रमण रोकथाम दिशानिर्देश र प्रशिक्षण प्रदान गर्न असफल भएको आरोप लगाएको छ, जसमा त्यहाँ काम गर्ने कर्मचारी र सुरक्षा गार्ड माथि स्वास्थ्य जोखिम बढेको उल्लेख छ।
अक्टोबर महिनामा यसलाई अदालतमा लगिने छ भने आरोप साबित भए प्रत्येक आरोप बापत स्वास्थ्य विभागले १० लाख अस्ट्रेलियन डलर भन्दा बढी रकम जरिवाना स्वरूप तिर्नु पर्ने हुनेछ।
विपक्षी दलकी स्वास्थ्य प्रवक्ता जोर्जी क्रोजिए भिक्टोरियाको इतिहासमै सरकारी प्रशासनमा भएको सबैभन्दा ठुलो असफलताका लागि प्रिमियर ड्यानियल एन्ड्रुज जिम्मेवार हुनु पर्ने बताउँछिन्।
यता क्वीन्सल्यान्डका स्वास्थ्य अधिकारीहरू पनि राज्यमा बुधवार सामुदायिक सङ्क्रमणको एउटा केस देखा परेसँगै सतर्क बनेका छन्।
राज्य सरकारले ब्रिसबेन र मोर्टन वे क्षेत्रमा लगाएको अनिवार्य मास्कको नियमलाई गोल्डकोष्ट सम्म लागु गरेका छन्।
क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी
क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्।
- न्यु साउथ वेल्स: यात्रा, पारवाहन र क्वारेन्टिन
- भिक्टोरिया: यात्रा अनुमति, विदेशबाट आउने यात्रु र क्वारेन्टिन
- एसीटी: यात्रा र क्वारेन्टिन
- नर्दर्न टेरिटरी: यात्रा र क्वारेन्टिन
- क्वीन्सल्यान्ड: यात्रा र क्वारेन्टिन
- साउथ अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
- टास्मेनिया: यात्रा र क्वारेन्टिन
- वेस्टर्न अस्ट्रेलिया: यात्रा र क्वारेन्टिन
यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्।
अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।
कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड, वेस्टर्न अस्ट्रेलिया, साउथ अस्ट्रेलिया, नर्दर्न टेरिटरी, एसीटी, टास्मेनिया ।
नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ।
न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप
प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू
- न्यु साउथ वेल्स
- भिक्टोरिया
- एसीटी
- नर्दर्न टेरिटरी
- क्वीन्सल्यान्ड
- साउथ अस्ट्रेलिया
- टास्मेनिया
- वेस्टर्न अस्ट्रेलिया
महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी
कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।
यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।









