Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल: मनोरञ्जन क्षेत्र खुल्न थालेपछि जनस्वास्थ्यको चिन्ता

Kathmandu bazaar

A marketplace in Kathmandu. Source: SAMEER GHIMIRE

नेपालमा कोरोनाको महामारीका बीचमा पनि मनोरञ्जन तथा क्षेत्रका धेरै ठाउँहरु खुल्न थालेपछि जनस्वास्थ्यको चिन्ता बढेको छ।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


नेपालमा कोरोनाको महामारीका बीचमा पनि मनोरञ्जन तथा क्षेत्रका धेरै ठाउँहरु खुल्न थालेपछि जनस्वास्थ्यको चिन्ता बढेको छ।


सरकारले गत अक्टोबर महिनादेखि पर्वातोरोहण लगायतका पर्यटन गतिविधिहरु खुलाएको छ, र त्यसपछि देशभर केही आन्तरिक र विदेशी पर्यटक देखिन थालेका छन्। त्यसै समयमा होटल र रेष्टुरेण्टहरु खुले पनि नाइट क्लबहरु भने खुलेका थिएनन्, र गत महिनादेखि व्यवसायीहरुले त्यसका विरुद्धमा प्रदर्शन गर्दै आएका थिए।

पर्यटकीय क्षेत्रहरुमा इसाई धर्मावलम्बीको मुख्य चाड क्रिस्मस र अंग्रेजी नयाँ वर्षमा विशेष चहलपहल हुने हुँदा राख्दै सरकारले क्रिस्मस अघि रात्रीकालीन मनोरञ्जन स्थलहरु पनि सञ्चालन गर्ने अनुमति दिएको थियो। काठमाण्डुको मुख्य पर्यटकीय क्षेत्र ठमेलमा क्रिस्मसमा निकै भीड देखिएको थियो।

बिहीबार बेलुकी गरिने अंग्रेजी नयाँ वर्षका कार्यक्रममा पनि त्यत्तिकै भीड हुने अपेक्षा गरिएको छ।

मार्च महिनाको अन्तिममा कोरोनाको महामारीका कारणले बन्दाबन्दी गरिएपछि सार्वजनिक क्षेत्रहरु बन्दहरु गरिएका थिए। चरणबद्ध रुपमा थुप्रै क्षेत्र खुल्ने क्रममा गत महिना देखि प्रसिद्ध पशुपतिनाथ मन्दिर लगायत मठ मन्दिर पनि खुलिसकेका छन्। त्रिभुवन विश्वविद्यालयले केही परीक्षा लिइसकेको र कक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेको छ भने कतिपय विद्यालयहरु पनि खुल्दै गरेका छन्।

यति धेरै सार्वजनिक क्षेत्र खुलिसक्दा पनि फिल्म हल चल्न नदिएकोमा चलचित्रकर्मीले आक्रोश व्यक्त गरिरहेका छन्। गत शुक्रबार चलचित्र संघले एकतर्फी निर्णय गर्दै ९ महिनादेखि बन्द रहेका फिल्म हल खोल्न थालेको छ।

संघका महासचिव अशोक शर्मा भन्छन्,"जुलुसलाई हामीले सक्दैनौं। त्यहाँ हामीले न सामाजिक दूरी कायम राख्न सक्छौं, न कसैलाई मास्क अनिवार्य गराउन सक्छौं। त्यो नसक्ने ठाउँहरु खुलिसक्यो। क्लबमा ड्रिंक्स गर्दा त मास्क लगाएर त गर्दैन। त्यस्तो ठाउँहरु पनि खुलिसक्यो। मात्र एउटा सिनेमा हललाई चाहिँ सरकारले खोल्न चाहेन। सरकासँग यसको कुनै तर्क थिएन।"

फिल्म हल खुले पनि नयाँ चलचित्र भने लागेका छैनन्, किनकी मार्च भन्दा पछाडि नयाँ नेपाली चलचित्र बन्न सकेका छैनन्। अहिले हलहरुमा बन्दाबन्दीका कारणले प्रदर्शन रोकिएका चलचित्रहरु आमा र सेन्टी भाइरस प्रदर्शन भइरहेका छन्।

हल नखुलेका कारण नयाँ चलचित्र निर्माण गर्ने वातावरण नबनेको चलचित्र व्यवसायीहरुको दावी छ। हलमा स्यानिटाइजर लगायत स्वास्थ्यका मापदण्ड पुरा गरिएको र आधा मात्र दर्शक राखिने व्यवसायीहरुले बताएका छन। तर त्यति गर्दा पनि दर्शक भने एकदम कम देखिएका छन्।

सार्वजनिक क्षेत्रहरु खुल्दै जाँदा जनस्वास्थ्यको चिन्ता बढिरहेको छ। प्रधानमन्त्रीको संसद विघटनको विरोधमा सार्वजनिक प्रदर्शन, र्याली र जुलुस कार्यक्रमहरु पनि बढिरहेकाले नेपालमा कोरोनाको संक्रमण अचानक बढ्ने अनुमान गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now