अस्ट्रेलिया बुझ्नुहोस्: अस्ट्रेलियामा क्रिकेट सिजनको मज्जा लिन क्रिकेट बुझ्नुहोस्

Playing cricket

Cricket, Australia’s national summer sport. Credit: Riccardo Parretti/pexels

क्रिकेट अस्ट्रेलियामा धेरै लोकप्रिय छ, र यो लामो समयदेखि अस्ट्रेलियाको संस्कृतिको हिस्सा भएको छ, र त्यो पनि विशेष गरी गर्मी महिनाहरूमा। यसले छुट्टीको समयमा परिवार र समुदायहरूलाई एकसाथ ल्याउँछ। चाहे तपाईँ पहिलेदेखि नै क्रिकेट प्रेमी हुनुहुन्छ, वा खेलमा नयाँ हुनुहुन्छ, यस भागमा हामी तपाईँलाई सबैभन्दा लोकप्रिय टुर्नामेन्टहरूको भ्रमण गराउने छौँ ताकि तपाईँ पनि उत्तिकै जोस र उत्साहका साथ अस्ट्रेलियाको क्रिकेट सिजनमा भाग लिन सक्नुहोस्।


अस्ट्रेलियाको गर्मी यामको राष्ट्रिय खेल भनेर चिनिने क्रिकेटलाई स्थानीय स्तरमा क्रिकेट अस्ट्रेलियाले नियमन गर्छ।

यो खेल १६ औँ शताब्दीमा इङ्गल्यान्डमा सुरु भएको मानिन्छ।

त्यसो भए त यो पनि कुनै आश्चर्यको कुरा होइन कि क्रिकेटले आफ्नो इतिहास अस्ट्रेलियामा सन् १८०० को प्रारम्भमा सुरु गर्‍यो।

पहिलो रेकर्ड गरिएको खेल सन् १८०४ मा सिड्नीमा खेलिएको थियो।

त्यस बेलादेखि, अस्ट्रेलियाले क्रिकेटको समृद्ध विरासतलाई अगाडी बढाइ रहेको छ, जसले एलिस पेरी र मायाले 'द डन' भनेर चिनिने सर डोनल्ड ब्राडम्यान जस्ता दिग्गजहरू दिएको छ, जसलाई सबै समयको महान् क्रिकेटरको रूपमा मानिन्छ।

खेलको आधारभूत कुराहरू बुझ्न सकियो भने खेलको साँचो अर्थमा प्रशंसा गर्न सकिन्छ।

त्यसो भए अब यसका आधारभूत कुराहरू नै बुझ्नतर्फ लागौँ।

खेलका नियमहरू

क्रिकेट दुई टोलीहरू बिच खेलिन्छ, र प्रत्येकमा एघार खेलाडीहरू हुन्छन्।

न्यु साउथ वेल्स प्रिमियर एसोसिएसनको युनिभर्सिटी अफ न्यु साउथ वेल्स क्रिकेट क्लबका खेलाडी अब्सर हसन एक पेसेवर क्रिकेटर हुन्।

र उनी यस खेलका म्याचहरूमा रहने आधारभूत कुराहरूलाई बुझाउँछन्।

"ब्याटिङ र फिल्डिङ साइड भनेर दुई साइड हुन्छन्," उनी भन्छन्।

प्राय: खेलको सुरुवातमा हुने टसमा जुन टिमले जित्छ उसले ब्याटिङ वा फिल्डिङ मध्ये एक छान्न सक्छ।

"फिल्डिङ साइडमा सबै ११ जना खेलाडीहरू मैदानमा उत्रिन्छन् भने ब्याटिङ टिमका दुई जना ब्याट्सम्यानहरू मैदानमा आउँछन्।"

त्यसैले टिमहरूले पालैपालो ब्याटिङ र फिल्डिङ गरेर सबैभन्दा बढी रन बनाउने लक्ष्य राख्छन्।

wickets in stadium
Wickets in a stadium. Source: Getty / Colin Anderson

एउटा टोलीले लक्ष्य दिन पहिले खेल्छ, त्यसपछि विपक्षी टोलीले धेरै रन बनाएर यो लक्ष्यलाई पराजित गर्ने प्रयास गर्छ। यसको अर्थ यो खेलमा समयको पाबन्दी हुँदैन।

र यो अन्य धेरै खेलहरू भन्दा धेरै लामो समयसम्म चल्छ।

प्रत्येक दिन छ घण्टा खेल खेल्दै जाँदा खेल अवधि तिन दिनदेखि पाँच दिनसम्म चल्न सक्छ।

रन कसरी बनाइन्छ भन्ने बारे पनि हसन बुझाउँछन्।

"रन स्कोर गर्ने पनि भिन्न तरिकाहरू छन्। प्रमुख तरिका भनेको चाहिँ पिचको एक साइडबाट अर्को साइडमा दौडिएर जाने हो।"

यसरी एक एक साइडबाट अर्को साइडमा पुग्नुलाई एक रन भनिन्छ।

र बललाई फिल्डरले विकेट किपरसम्म नल्याएसम्म रन लिइरहन सकिन्छ तर एक पटकमा यसरी कुदेर चार रनभन्दा बढी चाहिँ लिन पाइँदैन।

चौका र छक्का भनिने एकै डेलिभरीमा चार र छ रन लिने पनि आफ्नै तरिका हुन्छन्।

बललाई एकै झट्कामा मैदानभन्दा बाहिर पुर्‍याउनुलाई बाउन्ड्रिज भनिन्छ।

यसो गर्दा पनि मैदानलाई छोएर मैदान बाहिर बल गए चार रन गणना हुन्छ भने हावामा नै उड्दै मैदान पार गरे, छ रन दिइन्छ।

ब्याटिङ गरिरहेको टिमले सकेसम्म धेरै रन बनाउने प्रयास गर्दा फिल्डिङ टिमले उनीहरूलाई आउट गर्ने प्रयास गर्छ।

हसन ब्याटर कसरी आउट हुन्छ त भन्ने बारे भन्छन्, "१० वटा तरिकाबाट आउट गर्न सकिन्छ। जसमा दुई काठका स्टम्पहरूलाई बलले छोए आउट हुन्छन्। त्यस्तै विकेटमा छुनु अगाडी वा विकेटको अगाडी ब्याटरको अगाडीको खुट्टाले छोयो भने पनि आउट हुन्छ।"

त्यस्तै बललाई हान्दा भुईँमा नखसी फिल्डरले बल समातेमा पनि आउट हुन्छन्।

Batter bowled out
Bowled out. Credit: Patrick Case/pexels

क्रिकेटका शब्दहरू

केही क्रिकेट विशेष शब्दहरू पनि छन् जुन तपाईँले खेलको दौरान धेरै सुन्नु हुनेछ - र ती हुन् डेलिभरीज, ओभर्स र इनिङ्स।

  • बलरले ब्याटर तर्फ बल हुर्‍याउनुलाई डेलिभरी भनिन्छ।
  • छ वटा डेलिभरी भनेको एक ओभर हो।
  • जब एउटा टिमले ब्याटिङ वा बलिङ गरेर सकाउँछ त्यसलाई इनिङ्स भनिन्छ।

"एक पटक ओभर पूरा भएपछि, पिचको साइड पनि परिवर्तन हुन्छ र अर्को बलरले पिचको अर्को छेउबाट बलिङ गर्छ।"

यो क्रम जारी रहन्छ जबसम्म सबै ओभरहरू सकिँदैन वा विपक्षी टोलीका सबै १० खेलाडीहरू आउट हुँदैनन्।

    खेलका ढाँचाहरू

    अस्ट्रेलियामा गर्मी महिना एक यस्तो समय हो जहिले यहाँ छोटो तीन घण्टाको म्याचदेखि पाँच दिनको टेस्ट खेलहरू सम्मका धेरै भिन्न-भिन्न टुर्नामेन्ट र खेलहरू खेलाइन्छ।

    क्रिकेटमा विभिन्न ढाँचाहरूमा खेलहरू हुन्छन् जुन प्रशंसकहरू बिच प्रसिद्ध छन्।

    टेस्ट क्रिकेटदेखि टी-२० सम्म खेलमा केही रोचक प्रतिद्वन्द्वी र च्याम्पियनसिपहरू छन् जुन लोकप्रिय छन्।

    टेस्ट क्रिकेट क्रिकेटको सबैभन्दा पुरानो ढाँचा हो र यसमा सामान्यतया दुई इनिङस्हरू पर्ने गर्छन्।

    हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

    एशेज सबैभन्दा प्रसिद्ध टेस्ट क्रिकेट शृङ्खलाहरू मध्ये एक हो र सन् १८८२ देखि अस्ट्रेलिया र इङ्गल्यान्ड बिच खेल्न थालिएको हो।

    दुई देशले पालै पालो गरेर यो खेलको आयोजना गर्छन् र जब यो अस्ट्रेलियामा हुन्छ खेलहरू प्राय: पाँच दिनमा देशका अधिकांस प्रमुख शहरहरूमा खेलिन्छन्।

    मेहर राई हाल ग्रीनभेल क्रिकेट क्लबको प्रतिनिधित्व गर्ने पेशेवर क्रिकेटर हुन्।

    उनी परम्परागत टेस्ट क्रिकेटलाई बुझाउँछिन्, "यो फर्म्याट लगभग पाँच दिनको लागि जान्छ। दुवै टोलीले दुई पटक ब्याटिङ र दुवै टोलीले दुई पटक बलिङ गर्न पाउँछन्।"

    एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट, नामले नै बुझिन्छ कि यो छोटो खेल हो।

    टेस्ट म्याचमा जुन ९० ओभरको खेल हुन्छ त्यसको तुलनामा ओडीआईमा एक साइडले ५० ओभर मात्र खेल्छन्, त्यसैले यो म्याच एकै दिनमा पूरा गर्न सकिन्छ।

    यदि अझै पनि तपाईँलाई यो धेरै लामो लाग्छ भने, सन् २००५ देखि टी-२० वा ट्वेन्टी-ट्वेन्टीको रूपमा चिनिने एक महत्त्वपूर्ण छोटो फर्म्याटको खेल पनि छ।

    यस ढाँचामा, प्रत्येक टोलीले मात्र बिस ओभरको खेल खेल्छन्।

    प्राय: बीबीएल भनेर चिनिने बिग ब्यास लिग अस्ट्रेलियन पुरुषहरूको व्यावसायिक टी-२० लीग हो जसमा विभिन्न अस्ट्रेलियाका शहरहरूका टोलीहरू छन्।

    महिलाहरूको आफ्नै व्यावसायिक टी-२० लीग पनि छ, जसलाई महिला बिग ब्यास लिग, वा डब्लुबीबीएल भनिन्छ।

    परम्परागत टेस्ट क्रिकेटमा, विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) ले प्रमुखता प्राप्त गरेको छ, जसको फाइनल प्रायः इङ्गल्यान्डको प्रतिष्ठित लर्ड्स क्रिकेट मैदानमा हुने गर्छ।

    क्रिकेट अस्ट्रेलिया द्वारा नियुक्त बहुसांस्कृतिक क्रिकेट राजदूत सञ्जय शर्मा इन्डियन अस्ट्रेलियन मल्टिकल्चरल स्पोर्ट्स एसोसिएसन (आइ एएमएसए) र जुनियर क्रिकेट क्लब, वाईडीसीसीका संस्थापक हुन्।

    र उनी डब्लुटीसीलाई बुझाउँछन्, "विभिन्न देशका टिमहरू दुई वर्षसम्म एक अर्कासँग खेल्छन् र केवल उत्कृष्ट दुई फाइनलमा पुग्छन्, र त्यहीँबाट विश्व च्याम्पियन निर्धारण हुन्छ।"

    क्रिकेट विश्वकप एक दिवसीय र टी-२० दुवै ढाँचामा आयोजना गरिन्छ र प्रशंसकहरू बिच अत्यधिक लोकप्रिय छ। एक दिवसीय विश्वकप हरेक चार वर्षमा हुन्छ भने टी–२० विश्वकप प्रत्येक दुई वर्षमा हुन्छ।

    Father teaches children cricket
    A family plays backyard cricket. Source: Getty / Marilyn Nieves

    अस्ट्रेलियाका सबैभन्दा प्रसिद्ध क्रिकेटरहरू मध्ये एक शेन वार्नले एक पटक भनेका थिए, "क्रिकेटको इतिहास मेरो लागि धेरै महत्त्वपूर्ण छ - इतिहास र विशेष गरि पात्रहरू।"

    र अब तपाईँले पनि क्रिकेटको आधारभूत कुराहरू, यसको इतिहास र अस्ट्रेलियाका केही प्रसिद्ध पात्रहरू बारे सिक्नुभएको छ।

    तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्


    Share

    Follow SBS Nepali

    Download our apps

    Watch on SBS

    Nepali News

    Watch it onDemand

    Watch now