भिक्टोरियामा क्यासिनोको लागि प्रख्यात क्राउन रिर्सोट्सको छानबिनका लागि स्थापना भएको शाही आयोगले आफ्नो अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ। अस्ट्रेलियाको ठुला क्यासिनो मध्येमा पर्ने क्राउनलाई गलत आचरण सुधार्नका लागि दुई वर्षको समय दिइएको छ। छानबिन समितिले विभिन्न सुझाव सहित व्यावसायिक सुशासन कायम गर्न उक्त अल्टिमेटम दिएको हो।
शाही आयोगले “बेइज्जती पूर्ण” गलत आचरण गरेको रिपोट सार्वजनिक गरे पनि मेलबर्न स्थित क्यासिनोले आफ्नो जुवा खेलाउने अनुमतिलाई भने कायम राख्न सफल भएको छ ।
शाही आयोगका आयुक्त रे फिन्कलस्टाइन क्यासिनोलाई संस्थागत प्रशासनिक सुधारका लागि दुई बर्से समय प्रदान गरिएको बताउँछन् ।
क्यासिनोलाई सो दुई वर्षका दौरान पालना गर्नुपर्ने थुप्रै नियमहरू पनि आयोगले सिफारिस गरेको छ ।
उक्त अवधि पछि पनि सुधार नदेखिएको खण्डमा चाही हाल प्राप्त अनुमति खोसिनेछ ।
यद्यपि 'अवैध र शोषणकारी' आचरणका बाबजुद पनि क्यासिनोलाइ दुई बर्से समय दिइएको प्रति धेरै मानिसहरू स्तब्ध र रुष्ट बनेका छन् ।
स्विनर्वन बिश्वबिद्यालयको कर्पोरेट कानुनकी लेक्चरर हेलेन बर्डलाई भने क्वासिनोलाई सुधारको चेतावनी सहित दिइएको समयावधि प्रति रुष्टता छैन ।
उनको बिचारमा त्यति धेरै मानिसहरू संलग्न रहेको ठुलो संस्था प्रति निर्णय गर्दा धेरै कुराको बिचार गर्नु पर्दछ ।
रिपोर्ट सुन्नुहोस् हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यता जुवाका विरोधमा वकालत गर्ने टिम कोस्टेलो ७ सय पृष्ठ लामो रिर्पोटका बाबजुद पनि क्यासिनाले अनुमति पाई रहनुलाई आश्चर्य मान्दैनन् ।
"कुनै पनि व्यवसायले यसरी छुटकारा पाउँदैनन् अधिकांश भिक्टोरीयालीले जव गलत आचरण गरेको बारेमा सोच्छन् उनीहरुले जेल जानेबारे सम्झन्छन् तर क्राउन अझै सञ्चालनमा छ" उनले भने।
आयुक्त रे फिनक्लेस्टीनले ३३ वटा सुझावहरू पेस गरेका छन् ।
जस अन्तर्गत क्यासिनोको सम्पूर्ण निर्णय उसैले गर्ने गरी “विशेष व्यवस्थापक”को नियुत्ती गर्नु पर्ने भनिएको छ ।
सँगै क्यासीनो निरीक्षकहरूबाट जाँचको दायरालाई पनि बढाइने बताइएको छ ।
यसका अलावा यस्ता निरीक्षकलाई अतिरीत्त शक्ति प्रदान गरी क्यासिनोका निगरानी गर्ने यन्त्रहरू, खाता र रेकर्ड पुस्तकहरू सम्म पहुँच दिइनु पर्ने पनि उल्लेख गरिएको छ ।
राज्य सरकारले नौ वटा सिफारिसका लागि विधान पनि ल्याइसकेको छ ।
जस मध्ये जन्केट भनिने आफ्नै खर्चमा समूहमा मानिसहरूलाई ल्याएर कमिसनमा खेलिइने खेल ,त्यसै गरी मनी लन्डरीङ्ग वा हुन्डी लगायतका अवैध रूपमा पैसाको गैर कानुनी गतिविधि गरेमा तिनु पर्ने जरिवानालाई १० लाख डलर बाट बढाएर १० करोड डलर पुराएको छ ।
भिक्टोरियाकी गेमिङ्ग मन्त्री मेलिसा हर्नका अनुसार राज्य सरकारले यस प्रतिवेदनलाई सम्बोधन गर्न अभूतपूर्व कदम चालेको छ ।
यसले क्यासीनो सञ्चालकहरूलाई कडा निर्देशन पालना गर्ने अवस्थाको सिर्जना गरेको छ ।
हाल प्रदान गरिएको दुई बर्से समय पश्चात् भने उक्त विशेष व्यवस्थापकले क्यासिनोको लाइसेन्स रद्द गर्ने वा नियमित राख्ने भन्ने बारेमा सुझाव पेस गर्नेछन् ।
क्राउनले सुधार गर्न सक्षम नभएको अवस्थामा भने लाइसेन्स स्वतः रद्द भएको मानिने राज्य सरकारले जनाएको छ ।
राज्यको सांसदमा बोल्दै प्रिमीयर ड्यानिएल एन्ड्रूजले क्यासिनो व्यवहार प्रति आक्रोश व्यक्त गरे पनि सरकारले यसलाई दोहोराउन नदिने प्रतिबद्धता व्यक्त गरे ।





