डार्विनको मुटुमा रहेको पर्यटकीय प्रदर्शनी स्थल वाटरफ्रन्टमा नेपाली खानाका साथ संस्कृति झल्काउने महोत्सव आयोजना हुन गइरहेको छ।
नेप्लिज फुड एन्ड कल्चर फेस्टिभल २०१९ नाम दिइएको यस महोत्सव वृहत् अस्ट्रेलियाली समुदायमा नेपाली खाना र संस्कृतिलाई चिनाउने उद्देश्यका साथ गर्न लागिएको आयोजकको भनाइ रहेको छ।
यही शनिवार दिउँसो ४ बजे देखि राति ९ बजेसम्म आयोजना हुन गइरहेको महोत्सवमा नेपाली मौलिक परिकारहरू राखिनुका साथै सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिनेछ।

सरकारी मान्यता प्राप्त स्थानीय सामुदायिक संस्था, नेप्लिज एसोसिएसन अफ नर्थर्न टेरोटोरीको आयोजनामा उक्त महोत्सव हुन लागेको हो।
संस्थाको पहलमा नर्दर्न टेरिटोरीमा हुन लागेको यो नै पहिलो ठुलो महोत्सव भएको नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीका अध्यक्ष सुवास पोख्रेलले एसबीएस नेपालीलाई बताए।
"हाम्रो नेपाली संस्कृति, हाम्रो नेपाली परिकारहरू बृहत् अस्ट्रेलियाली समुदाय समक्ष प्रस्तुत गर्न लागेका छौँ। नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीले आफ्नो सिग्नेचर कार्यक्रम अन्तर्गत पहिलो पटक गर्न आँटेको छ।"
यस अघि भने उक्त संस्थाले २०१८ मा पहिलो पटक उक्त राज्यमा रहेको गैर आवासीय नेपाली सङ्घ एनआरएन अस्ट्रेलियाको शाखासँगको सहकार्यमा नेपाल फेस्टिभलको आयोजना गरेको थियो।

पोख्रेलले महोत्सवमा नेपाली परिकारहरू सेल रोटी, मःम, नेपाली स्वाद बोकेको सेकुवा का साथै केही मिश्रित स्वादका परिकारहरू पनि रहने बताए।
जीवित देवी कुमारीको नृत्यका साथै महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय नेपाली ब्याण्डहरूको साङ्गीतिक प्रस्तुति, स्थानीय नेपाली विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट नृत्य प्रस्तुति लगायत समावेश गरिएको पोख्रेल ले बताए।
आयोजक नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटोरीलाई समुदायमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै यसै वर्ष अस्ट्रेलिया दिवसको अवसरमा दिवस अन्तर्गतको उच्च पदकबाट सम्मानित पनि गरिएको थियो।
नेपाल फेस्टिभलका लागी 'डार्विनको वर्षको उत्कृष्ट सामुदायिक कार्यक्रम' को उपाधिबाट गैर आवासीय नेपाली सङ्घ एनआरएन अस्ट्रेलियाको शाखा र आयोजक नेप्लिज एसोसिएसन अफ नर्दर्न टेरिटरी संयुक्त रूपमा सम्मानित भएका थिए।




