फूडबैंक नामक एक गैर-नाफामूलक संस्थाका अनुसार पछिल्लो लकडाउनका कारण प्रभावित भएका मानिसहरूको सहयोगको लागि उसले मात्र अहिलेसम्म खाद्य सामग्रीको १० हजार भन्दा बढी राहत ह्याम्परहरु वितरण गरिसकेको छ।
र, लकडाउन सुरु भएयता राहत सामाग्रीको मागमा २१० प्रतिशतको वृद्धि रहेको पनि फुडबैंकको भनाइ छ।
गत जुन २६ तारिखका दिन न्यु साउथ वेल्स सरकारद्वारा लकडाउन सुरु गरिएदेखि अहिलेसम्म उक्त च्यारिटीले वृहत् सिड्नीदेखि, ब्लु माउन्टेन्स, सेन्ट्रल कोस्ट र वलङगङसम्म पनि राहत सामग्री वितरण गरेका छन्।
फुडबैंक न्यु साउथ वेल्सका कार्यकारी प्रमुख जोन रोबर्टसन् भन्छन् कि हाल दैनिक २५ सयदेखि ३५ सय वटा ह्याम्परहरुको वितरण गरिँदै छ।
"आफ्नो कुनै गल्ती बिना नै धेरै सङ्ख्यामा मानिसहरू आफ्नो जीवनमै पहिलो पटक खाद्य सहयोग माग्न बाध्य भएका छन्," उनी भन्छन्।
आफू र आफ्नो परिवारका लागि खानाको बन्दोबस्त गर्न नसक्ने अवस्थामा मानिसहरू पुगेको पनि रोबर्टसन् बताउँछन्।

न्यु साउथ वेल्सको दुर्गम स्थानमा रहेका आदिवासी समुदायहरूका साथै सङ्कटमा परेका क्यानबेरा निवासीहरूका लागि पनि खाद्य सहयोग उपलब्ध गराइएको फुडबैंकका न्यु साउथ वेल्स प्रमुखको भनाइ छ।
अर्को तर्फ ऋणको समस्यामा परेका मानिसहरूको सहयोगका लागि सञ्चालित राष्ट्रिय टेलिफोन सेवा वा नेश्नल डेट हटलाइनमा पनि सहायताका लागि सम्पर्क गर्ने मानिसहरूमा पहिला कहिले आर्थिक तनावको सामना गर्न नपरेकाहरू पनि रहेका छन्।
उक्त सेवामा आर्थिक परामर्शदाताको रूपमा कार्यरत रहेका क्लौड भोन आर्क्स भन्छन् कि रोजगारी गुमाएका र अन्य कारणहरूले पनि धेरै मानिसहरूले सम्पर्क गरिरहेका छन्।

यो रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।
साथै लकडाउनका कारण आर्थिक तनावमा परेका मानिसहरूले सक्दो चाँडो सहायता लिन जरुरी रहेको पनि आर्क्स बताउँछन्।
विशेष गरी एउटा ऋण तिर्न अर्को ऋण लिने जस्तो काम गर्नु झनै ठुलो गल्ती हुनसक्ने बारे उनी सचेत गराउँछन्।
र वर्तमान लकडाउनका कारण समस्यामा परेकाहरूको सहयोग गर्न विभिन्न पक्षहरूद्वारा पनि अपिल गरिएको छ।
वेसाइड च्यापेलका प्रमुख जोन ओवेन भन्छन् पछिल्लो लकडाउन घोषणा हुँदा मानिसहरूले खासै केही तयारी गर्न नपाएको अवस्थाका कारण पनि धरैमा तनाव देखिएका छन्।
मानसिक स्वास्थ्य सहायता चाहिन्छ भने तपाईंले बियन्ड ब्लुलाई १३०० २२ ४६ ३६ मा सम्पर्क गर्न सक्नु हुन्छ। विविध सांस्कृतिक र भाषिक पृष्ठभूमिका मानिसहरूको सहयोगका लागि इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ नामक संस्था पनि रहेको छ।








