अगिल्लो महिना ऊर्जाको थोक मूल्यमा गिरावट देखिएपछि एल्बनिजी सरकारले आफ्नो कदमले नतिजा दिन थालेको बताएको हो।
तर, आम मानिसहरूको बिलमा सोही किसिमको राहत देखिन भने अझै कयौँ महिना लाग्ने बताइएको छ।
ट्रेजरीले जारी गरेको पछिल्लो आँकडाहरू अनुसार देशभर ग्याँसको थोक मूल्यमा गिरावट आएको छ।
क्वीन्सल्यान्डमा उक्त मूल्य चौवालीस प्रतिशतसम्म घट्ने एक अनुमान छ भने न्यु साउथ वेल्समा चाहिँ अठ्तिस प्रतिशतसम्म ग्याँस सस्तो हुने बताइएको छ।
त्यसै गरी, साउथ अस्ट्रेलियाले ३२ प्रतिशतसम्म मूल्य घट्ने आसा लिएको छ भने भिक्टोरियामा चाहिँ यो दर २९ प्रतिशत हुने अनुमान छ।
गत डिसेम्बर २१ सम्म उपलब्ध तथ्याङ्कहरूको आधारमा यस्तो पूर्वानुमान गरिएको हो र यसको हप्ता दिन भित्रै संसद्को विशेष बैठक डाँकेर सरकारले ऊर्जा मूल्य सहायता प्याकेज सम्बन्धी विधेयक पारित गराएको थियो।

सङ्घीय ऊर्जा मन्त्री क्रिस बावन भन्छन् कि लेबरको नीतिले काम देखाउन सुरु गरेको छ।
"हस्तक्षेप पछि गत बर्षको भन्दा ऊर्जाको थोक मूल्यमा गिरावट आएको छ," उनले भने।
लीन गालाहर एनर्जी कन्स्युमर्स अस्ट्रेलिया नामक एक उपभोक्ता समूहकी सदस्य हुन्।
उनी भन्छिन् कि सरकारको भनाई जे-जस्तो भएता पनि घरेलु उपभोक्ताहरू चिन्तित भई रहनुपर्ने कारणहरू छन्।
"यस हप्ता टिभी, अखबार वा सोसल मिडियाहरूबाट पनि थाहा भइसक्यो कि ग्यासको भाउ २०% ले बढेको छ, यो त अत्ति हो नि!"
उता, सङ्घीय विपक्षी गठबन्धनले भने ऊर्जा बजार माथि सरकारी हस्तक्षेप र त्यसको प्रभाव माथि प्रश्न उठाएको छ।
उसको भनाईमा अन्तर्राष्ट्रिय कारणहरूले गर्दा ग्याँसको थोक मूल्य घटेको हो।
नेश्नल पार्टीका नेता डेभिड लिटिलप्राउड भन्छन् कि कोइला र ग्याँसको मूल्यमा अङ्कुश लगाउने काम आवश्यक छैन किनकि अन्तर्राष्ट्रिय अवस्थाहरूले तिनको मूल्य निर्धारण हुन्छ।
उनी यो पनि भन्छन् कि मूल्य माथि अङ्कुश लगाउँदा लगानी र घरेलु आपूर्ति दुवै माथि त्यसको नकारात्मक प्रभाव पर्छ।
तर, बावन लिटलप्राउडको यो भनाइसँग सहमत छैनन्।
उनी भन्छन् कि लिबरल र नेश्नल पार्टीहरूले सधैँ मूल्य निर्धारणको विरोध गरेका छन् किनकि सरकारले जे गर्छ, उनीहरू त्यसको विरुद्धमा उभिन्छन्।
लिइन गालाहर भने मूल्य माथि अङ्कुश लगाउने कामले सोचेको प्रभाव देखिनेमा उपभोक्ता समूहहरू आशावान् छन्।
उनका अनुसार ऊर्जा क्षेत्रका ठुला खेलाडीहरूले भने महसुल कम गर्न काम गर्न सक्छन्।
हाल थोक बजारमा देखिएको गिरावट, खुद्रा बजारमा देखिन भने घरेलु उपभोक्ताहरूले यो वर्षको मध्य सम्म नै कुर्नुपर्ने हुन्छ।
नयाँ ऊर्जा करार जुलाई महिना देखि सुरु हुने भएका कारण मूल्य समायोजन हुन यतिका समय लाग्ने भएको हो।
क्रिस बावनको कुरा मान्ने हो भने, अर्को आर्थिक वर्ष मानिसहरूले दुई सय तीस डलरसम्मको बचत गर्न सक्नेछन्।






