विशेष गरी लकडाउन हटाइए पछि जुवा खेल्ने गतिविधि बढ्दै गर्दा, परामर्श र सहायता प्रदान गर्ने सेवाहरूले संस्कृति सुहाउँदो हिसाबले कार्य गरिरहेका छन्।
कोभिड-१९ लकडाउनको समयमा प्रत्यक्ष उपस्थित भएर जुवा खेलिने स्थानहरू बन्द हुँदा त्यस्ता स्थानमा जुवा खेल्ने गतिविधि घट्नु स्वाभाविक हो तर त्यो अनलाइन तर्फ गयो, खास गरी १८ देखि २४ वर्ष उमेर समूहका पुरुषहरूमा अनलाइनमा जुवा खेल्ने क्रम बढ्यो।
गत वर्षको जुन र जुलाईमा लकडाउन निकै कडा रहँदा परिवारका विविध विषयमा अध्ययन गर्ने अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडिज ले २,000 अस्ट्रेलियालीहरूमा सर्वेक्षण गरेको थियो।
उक्त अध्ययनमा सहभागी प्रत्येक तिन जना मध्ये एक सहभागीले कोभिड-१९ को समयमा सट्टेबाजीका लागी नयाँ अनलाइन अकाउन्ट बनाएको बताएका थिए। र हप्तामा चार पटक भन्दा बढी जुवा खेल्ने मानिसहरूको सङ्ख्या पनि २३ प्रतिशत बाट बढेर ३२ प्रतिशत पुगेको पाइयो।
लकडाउन पछाडिको समयमा फेरी १८ देखि २४ वर्ष र ७५ वर्ष माथिका अस्ट्रेलियालीहरूको जुवा खेल्ने गतिविधि महामारी पूर्व कै अवस्थामा पुगेको छ।
यो तथ्याङ्क भने अस्ट्रेलियन नेशनल युनिभर्सिटीले नोभेम्बर २०२० मा ३,000 मानिसहरूमाथि गरेको अध्ययनले देखाएको हो।
रिपोर्ट सुन्नुहोस्:
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
त्यस्ता राष्ट्रिय स्तरमा नै देखिएको ढाँचा न्यु साउथ वेल्समा पनि देखियो।
जुवाका कारण हानी पुर्याएका मानिसहरूलाई निःशुल्क परामर्श र सहायता सेवा प्रदान गर्ने ग्याम्बलअवेरले महामारीको बेला एक समयमा त उनीहरूलाई फोन आउने सङ्ख्यामा पनि निकै कमी आएको देखिएको थियो।
ग्याम्बलवेरलाई हेर्ने राज्य सरकारको एजेन्सीकी निर्देशक नटाली राइटले धेरै मान्छेहरू अनलाइन तर्फ गएको देखिएको भए पनि महामारीका कारण उनीहरूको जुवा खेल्ने गतिविधिमा भने कमी आएको बताउछिन।
"हामीले यो समयमा धेरै मानिसहरू अनलाइन तर्फ लागेको पनि देख्यौ, तर धेरैले महामारीका कारण जुवामा कम समय दिएको पनि देख्यौ, धेरै मानिसका लागि यो मिश्रित अनुभव रह्यो," उनले भनिन।
सन् २०१८ मा ३५ प्रतिशत वा ६५ लाख अस्ट्रेलियाली वयस्कहरूले एक वा सो भन्दा बढी जुवाका गतिविधिमा मासिक रूपमा खर्च गरेको राष्ट्रिय घरधुरी, आय र श्रमको गतिशीलता हेर्ने हिल्डा सर्वेक्षणले देखाएको थियो।
ती सङ्ख्या मध्ये १३ लाख ३० हजार मानिसहरूलाई जुवाका कारण गम्भीर किसिमका हानी हुने जोखिम भएको वर्गमा राखिएको थियो।
राइट भन्छिन् जुवा सम्बन्धी तथ्याङ्कहरूमा आप्रवासीहरू धेरै नै रहेका छन्।
"जुवाको समस्या भएका मध्ये २० प्रतिशत बहुसांस्कृतिक पृष्ठभूमिका छन्, त्यसैले पनि न्यु साउथ वेल्सका सबैलाई सेवा दिनु आवश्यक छ, राज्यभर नै बहुसास्कृतिक समुदायको उपस्थिति जुवामा उच्च अनुपातमा छ," राइट भन्छिन्।
उक्त जानकारीले गर्दा अङ्ग्रेजी बाहेकका भाषा बोल्नेहरूका लागी सेवा विस्तार गर्न प्रेरित गर्यो।
दोभासे परामर्शदाताहरू, उल्थाकारहरू र समुदायका स्वास्थ्य सेवा प्रदायकहरूको सहकार्य हुँदा पश्चिम सिड्नीको स्थानीय स्वास्थ्य क्षेत्रमा सहयोगका लागी आउने मानिसहरूको सङ्ख्यामा वृद्धि हुने आशा गरिएको छ।
राइट भन्छिन् संस्कृति पृष्ठभूमिका आधारमा संस्कृति सुहाउँदो हिसाबले सहायताका सेवाहरूसँग जोड्नु पर्ने देखिन्छ।
बहुसांस्कृतिक समुदायको मानसिक स्वास्थ्यमा कार्यरत ट्रान्स कल्चरल मेन्टल हेल्थ सेन्टरकी व्यवस्थापक मारिया क्यासनिटीले ग्याम्बलअवेरको बहुसांस्कृतिक सेवा प्रदान गर्न सहयोग गर्छिन्।
उक्त स्वास्थ्य केन्द्र पनि पश्चिम सिड्नीको स्थानीय स्वास्थ्य जिल्ला अन्तर्गत नै पर्दछ।
उनी भन्छिन् सांस्कृतिक मूल्य मान्यता भित्र कलङ्कका रूपमा हेरिने विषयहरू रहेको बुझेपछि नै आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई जुवाको हानिबाट बाहिर निस्कन सहयोग गर्न सकिन्छ।
"कतिपय संस्कृतिमा सल्लाह लिनु वा प्रश्न गर्नु स्वीकार्य छैन," उनले भनिन्।
क्यासनीटी भन्छिन् सेवा प्रदायकहरू लकडाउन पछिको समयमा अझ धेरै आवश्यकता र मागहरूलाई पुरा गर्न आफूलाई तयार गरिरहेका छन्।
मोन्याश विश्वविद्यालयको सार्वजनिक स्वास्थ्य सङ्कायमा जुवा सम्बन्धी अनुसन्धान गर्ने असोसिएट प्रोफेसर चार्ल्स लिभिङ्गस्टोन भन्छन्, कि तिन राज्यमा क्यासिनो सञ्चालन माथि भएका अनुसन्धानहरू जुवा सम्बन्धी समस्यालाई सामना गर्ने मार्गमा एक कदम हुन्।
भिक्टोरिया र पश्चिम अस्ट्रेलिया दुवै राज्यमा क्राउन रिसोर्ट माथी लागेको रकम हिनामिनाको आरोप बारे अनुसन्धान गर्न शाही आयोग नै खडा गरिएको छ।
त्यस्तै न्यु साउथ वेल्समा एक स्वतन्त्र अनुसन्धानमा क्राउन रिपोर्ट राज्यमा क्यासिनो अनुमति पत्र प्राप्त गर्न योग्य नरहेको पत्ता लागेको थियो।
डा. लिभिङ्गस्टोनले ती अनुसन्धानहरूबाट आएका सुझावहरूलाई आगामी दिनमा कार्यान्वयन भएको हेर्ने प्रतीक्षामा रहेको बताएका छन्।
साथै उनी यो समस्यालाई कम गर्न नयाँ शिराको सार्वजनिक स्वास्थ्य अवधारणा ल्याउनु पर्ने मत राख्छन्। र त्यो भनेको सुर्तीजन्य पदार्थहरूको प्रयोगलाई लिएर चालिएको कदम जस्तै हुनु पर्ने लिभिङ्गस्टोनको भनाइ रहेको छ।
अस्ट्रेलियाले विश्वमै जुवाका कारण सबैभन्दा बढी प्रति व्यक्ति घाटा बेहोर्ने गर्दछ। यसको प्रत्यक्ष कारण भनेको जुवा खेल्न प्रयोग हुने पोकर मसिनलाई कानुनी बनाएर सन् १९९० मा जुवालाई नियमन नगर्ने विश्वमै पहिलो देश बनेको थियो।
जुवा सम्बन्धी घाटामा प्रत्येक वर्ष १२ सय डलर भन्दा बढी प्रतिव्यक्ति घाटा हुने गरेको बेलायतमा अवस्थित विश्वव्यापी जुवा सम्बन्धी गतिविधिको विश्लेषण गर्ने एच टु ग्याम्बलिङ्ग क्यापिटलले देखाएको छ।
त्यस्तै समग्रमा जुवा सम्बन्धी कानुनी कदमहरूमा सन् २०१८-१९ मा २५ अर्ब डलर खर्चिएको अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरले जनाएको छ।
तपाई वा तपाइले चिनेको जो कोही जुवाको लतका कारण प्रभावित भए न्यु साउथ वेल्समा ग्याम्बलअवेरको सेवा उपलब्ध छ।
अङ्ग्रेजी बाहेकका भाषा बोल्नेहरूका लागी पनि परामर्शदाताहरू उपलब्ध छन्। थप जानकारीका लागी ग्याम्बलअवेरको वेबसाइट जानु होस् वा १८०० ८५८ ८५८ मा फोन गर्नुहोस्।



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)
