ठुलो सङ्ख्यामा गुरुङ समुदायका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको सुरुवातमा लामा गुरुहरू बाट पूजा गरिएको थियो।

उपस्थित सम्पूर्णले पूजा सकिए पछि गुरुहरूबाट आशीर्वाद लिएका थिए।
कार्यक्रम बारे जानकारी दिदैं तमु समाज सिड्नीका अध्यक्ष दिनेश गुरुङले ल्होसार पर्वले गुरुङ समुदायमा निकै ठुलो महत्त्व राख्ने बताएका छन्।
उनले कार्यक्रममा स्वयम् सेवीहरूले नै बनाएको खानेकुरा राखिएको र यसरी बाँडेर खाँदा एकताको सन्देश जाने बिचार राखे।

"स्वयम् सेवक दाजु भाइहरू नै खटेर हामी आफैँले नै तयारी गरेर बनाएको नेपाली खाना नै हामी पस्कने छौँ। हामी त्यही भएर एकताको सन्देश भन्छौँ आयो ल्होसार एकताको सन्देश बोकेर आयो ल्होसार।"
अध्यक्ष दिनेश गुरुङ तमु समाजमा ल्हो वर्गले छुट्टै पहिचान बोकेको बताउँछन्।

उनका अनुसार गुरुङहरूले आफू कति वर्ष भएँ भन्ने कुरा आफ्नो कुरा कुन वर्गमा भएको हो भन्नेले निर्धारण गर्ने गर्दछ।
ल्होसार कार्यक्रमबारे पुरा रिपोर्ट माथिको मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोस्।
करिब छ महिना अगाडी अस्ट्रेलिया आएकी उजेली गुरुङले ल्होसार यसरी मनाएको देख्दा खुसी लागेको बिचार राखिन।
र उजेलीसँगै उनका ८३ वर्षीय श्रीमान् तम बहादुर गुरुङ पनि कार्यक्रम हेर्न आएका थिए।
र उनले विदेशमा पनि आफ्नो संस्कृति प्रति जागरूक भएको देख्दा धेरै खुसी लागेको बिचार व्यक्त गरे।

"यत्ति खुसी लागेको छ यहाँ आएर कि हाम्रो नेपालमा पनि यस्तो चलनहरू अहिले हराउँदै लोप हुँदै गएको छ। यहाँ अस्ट्रेलियामा आएर चारै दिशाको मान्छेहरू जम्मा छन् र गुरुङले मात्र नभई हरेक किसिमको जातहरूले आ-आफ्नो संस्कृतिहरू जोगाइ राखेको छ।"
सन् १९९६ मा स्थापना भएको तमु समाज सिड्नीका परिकल्पना गर्ने मध्येका एक र संस्थापक अध्यक्ष प्रेम काजी गुरुङले अहिले सम्म आइपुग्दा आफूलाई उपस्थितहरूको सङ्ख्या बढेको देख्दा खुसी लाग्ने बताएका छन्।
तर उनी पहिले भन्दा गुरुङ समुदाय बाहिरबाट भने पछिल्लो समयमा उपस्थिति कम भएको हो कि जस्तो लागेको बताउँछन्।

"अहिले गैर गुरुङ साथीहरू घट्दै गा'को हो की, तर उहाँहरूले माया गर्नु हुन्छ, सुरु सुरुमा हामीले ल्होसार भन्थ्यौँ अरू सबै नेपाली समुदायहरू आएर हामी सँग मनाउँथ्यौँ।"
एउटा रेस्टुरेन्टमा भेला भएर मनाउने गरिएको ल्होसार, क्रुज पार्टी त्यसपछि वनभोज हुँदै हल सम्म आएर यति भव्य रूपमा हुन थाले पछि आफूलाई निकै गर्व लाग्ने प्रेम गुरुङको भनाइ रहेको छ।
तमु लामा बौद्ध धर्म समाजमा आबद्ध लामा गुरु रक्ष गुरुङले सो समारोहमा पूजा गराएका थिए र उपस्थित सम्पूर्णलाई ल्होसार र ल्होसारमा वर्गहरूको महत्त्व बारे बताए।
"जसरी १२ वटा राशि भनिन्छ त्यस्तै प्रकारले १२ वटा वर्ग भनेर हामी बुझ्दछौँ । र वर्गबाट नै हाम्रो सम्पूर्ण ग्रहहरू सुरु हुन्छ। अस्ति पुस १५ देखि मृग वर्गलाई बिदाइ गर्दै मुसा वर्गलाई स्वागत गरेको हो।"

कार्यक्रममा उपस्थित अर्का लामा गुरु गम बहादुर गुरुङ तमु लामा बौद्ध धर्म समाजका संस्थापक सदस्य पनि रहेका छन्। पूजा समारोह पश्चात् धर्म गुरुहरूले तमु समाज सिड्नी का ला गी आशीर्वाद सहित केही रकम समेत हस्तान्तरण गरेका थिए।
त्यसरी गुरुहरूले रकम दिने प्रचलनबारे उनले भने, "खासमा नेपालमा पनि त्यस्तै गर्छन् ठुलो ठुलो गुरुहरूले कुनै सङ्घ संस्था खुलेको छ भने कुनै गुम्बाको लागी छ भने गुरुको आशीर्वाद स्वरूप दिने गरिन्छ, हाम्रो बौद्ध धर्ममा यस्तो चलन हुन्छ।"
तमु ल्होसार मनाइएको कार्यक्रमका प्रमुख अतिथि अस्ट्रेलियाका लागी नेपाली राजदूत महेश दाहालले मञ्चमा राखिएको वर्ग चक्रमा मृगको चित्र हटाएर मुसाको चित्र राख्दै नयाँ वर्गलाई स्वागत गरेका छन्।

राजदूत दाहालले नेपाल सांस्कृतिक र प्राकृतिक रूपमा निकै धनी रहेको बताउँदै, यस्ता जनजाति आदिवासीका संस्कृति र परम्परा देशकै सम्पत्ति भएको बताएका छन्।
त्यसैले यस्ता कार्यक्रमहरूको निकै ठुलो महत्त्व हुने उनको भनाइ छ।
"संस्कृतिको संरक्षणको लागि विभिन्न जनजातिहरूका यस्ता कार्यक्रमहरूले अझ महत्त्व पूर्ण नयाँ पिँढीलाई संस्कृति प्रति नजिक हुन र यसलाई संसारको जुनसुकै कुनामा पनि चिनाउनको लागी महत्त्वपूर्ण भूमिका निर्वाह गरेको मलाइ लाग्दछ।"

कार्यक्रममा विभिन्न साङ्गीतिक र गुरुङ समुदायको पहिचान झल्कने सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो।


यो पनि पढ्नुहोस्

मृगबाट मुसा वर्गमा जाने तमु ल्होसार सिड्नी र मेलबर्नमा मनाइँदै



