मुख्य बुँदाहरू:
- झुटा आश्वासन, दबाब वा धम्की दिएर सेक्स गर्नु अस्ट्रेलियामा यौन हिंसाका परिभाषा भित्र पर्छ।
- यौन हिंसा मानसिक, शारीरिक वा भावनात्मक पनि हुन सक्छ।
- अस्ट्रेलियाका केही राज्य तथा प्रदेशहरूमा सेक्सुअल कन्सेन्ट सम्बन्धी कानुनहरू बलियो हुनुको अर्थ मानिसहरूले सेक्स वा यौनजन्य क्रियाकलाप गर्नु अघि आफूसँग त्यस्ता कार्यका लागि अर्को पक्षको स्वीकृति छ भनेर सुनिश्चित पार्नु हो।
- अस्ट्रेलियाको शिक्षा प्रणालीले पनि सेक्सुअल कन्सेन्ट सम्बन्धी आफ्नो पाठ्यक्रममा समयानुकूल सुधार जारी राखेको छ।
अस्ट्रेलियामा घरेलु, पारिवारिक र यौन हिंसा सम्बन्धी परामर्श दिने राष्ट्रिय सेवा दि अस्ट्रेलियन नेश्ननल डोमेस्टिक फ्यामिली एन्ड सेक्सुअल भायलेन्स काउन्सेलिङ सर्भिसलाई सामान्य बोलीचालीको भाषामा १८०० रेस्पेक्ट भन्ने चलन छ।
उक्त सेवाका अनुसार यौनजन्य हिंसा भनेको तपाईँको मनमा त्रास उत्पन्न गराउने वा तपाईँलाई अफ्ठेरो लाग्ने किसिमका यौन क्रियाहरू हुन्।
यौनजन्य आक्रमण, व्यवहार, दुर्व्यवहार वा बलात्कार यौन हिंसाको दायरा भित्र पर्छन्।
यहाँ हिंसाको शाब्दिक अर्थ चाहिँ, शारीरिक रूपमा हुने आक्रमण लगायत मानसिक, भावनात्मक आघातहरू हुन् भनेर बुझ्नु जरुरी हुन्छ र यसमा अनलाइन प्रविधि मार्फत आदानप्रदान हुने लिखित सन्देश जस्तै कि टेकस्ट मेसेज, भिडियो वा अडियो पनि समेटिन्छन्।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स् (एबीएस) भनिने अस्ट्रेलियालीको तथ्याङ्क विभागका अनुसार यहाँका हरेक पाँच मध्ये एक महिलाले १५ वर्षको उमेरदेखि नै यौनजन्य हिंसाको अनुभव गरेका हुन्छन्।
अस्ट्रेलियामा यौनजन्य हिंसा वा सेक्सुअल असल्ट भनेको चाहिँ तपाईँलाई अफ्ठेरो लाग्ने किसिमले कसैले तपाईँको शरीरका संवेदनशील स्थान छुन वा तिनका सामीप्यमा आउन खोज्ने प्रक्रिया हो भनेर बुझ्नपर्छ।
भिक्टोरिया प्रहरीकी सिनियर सार्जेन्ट मोनिक केली तपाईँको अनुमति बिना, तपाईँको शरीरका गोप्य अङ्ग छुन खोज्नु, सेक्सुअल असल्टको परिभाषा भित्र पर्ने बताउँछिन्।
“तर सधैँ छुनुले मात्र नै यौन हिंसा हुन्छ भन्ने हुँदैन," उनी भन्छिन्।
“तपाईँ माथि सेक्सुअल असल्ट विविध रूपमा हुन सक्छन् जस्तै कि सहमति बिना कसैको अन्तरङ्ग वा ‘इन्टिमेट’ चित्र अरूलाई दिनु वा पठाउनु।"
यस बाहेक, बिना सहमति नै कामुक सामाग्री पठाउने काम जस्तै कि 'सेक्सटिङ्ग' पनि सेक्सुअल असल्टको कानुनी परिभाषाभित्र पर्न सक्छन्।

सेक्सुअल भायलेन्स र कानुन
सेक्सुअल भायलेन्स वा यौन हिंसालाई अस्ट्रेलियामा गम्भीर अपराध मानिन्छ।
पछिल्ला केही वर्षमा अस्ट्रेलियाका केही राज्य तथा प्रदेशहरूले आफ्नो कानुन फेर्दै, यौनजन्य अपराधका आरोपीहरूले दोषमुक्त हुन चाहेको खण्डमा उनीहरू स्वयमले नै अनिवार्य रूपमा, आफूले उक्त आरोप लागेको क्रियाकलापका लागि अर्को पक्षको स्वीकृति लिएको प्रमाण अदालतमा प्रस्तुत गर्नुपर्ने बनाइएको छ।
खोज पत्रकार जेस हिलले सेक्सुअल कन्सेन्टलाई अझ नजिकबाट बुझ्न कोसिस गरेकी छिन्, तीन भागको ‘आस्किङ फर इट’ नामक एक वृत्तचित्र शृङ्खलामा।
उनी भन्छिन् कि सबैभन्दा पहिले हरेक मानिसले बुझ्नुपर्ने कुरा के हो भने, यौनजन्य क्रियाकलापका बेला कुन कुरा ठिक र कुन कुरा बेठिक लाग्छ भनेर निर्क्योल गर्नु हो।
हिलका अनुसार आफ्नो मनमा लागेको कुरामा अडिग रहनुहोस् र त्यसै अनुसार सीमा तोक्नुहोस् अनि आफूसँग अन्तरङ्ग सम्बन्धमा रहेका अर्को पक्ष (सेक्सुअल पार्टनर)लाई त्यसबारे बताउनुहोस् अनि उनीहरूलाई कस्तो लागिरहेको छ भनेर पनि सोध्नुहोस्।
सम्बन्धका बेला 'हुन्छ' वा 'हुँदैन' भन्ने कुराको पनि ख्याल राख्नु महत्त्वपूर्ण हुने उनको भनाई छ।
सेक्सुअल कन्सेन्ट छ भन्नुको अर्थ यौनजन्य क्रियाकलापको अवधिभर हुने सबै गतिविधीहरूका लागी उत्साहजनक र सकारात्मक सहमति पाइएको छ भन्नु हो।
कतिपय राज्य वा प्रदेशहरूमा सेक्स गर्दा कानुन आफ्नो पक्षमा छ भनेर सुनिश्चित गर्न तपाईँले स्वीकृति सक्रिय रूपमा र बारम्बार लिइरहनुपर्ने प्रावधानहरू छन्।
मलाई उसले नगर भनेको छैन, सेक्स गर्दा, छुँदा, किस गर्दा भइहाल्छ नि भन्ने सोच राख्दा कानुनले तपाईँलाई दोषी पाउन सक्छ।
तपाईँले अन्तरङ्ग सम्बन्ध स्थापना गर्न चाहेको मानिसको हाउभाउ हेरेर पनि उनीहरूले तपाईँसँग शारीरिक सम्बन्ध गाँस्न चाहेको वा नचाहेको थाहा पाउन सक्नुहुन्छ।
अनि तपाईँलाई दिइएको सहमति उनीहरूले कुनै पनि बेला फिर्ता लिन सक्छन् भन्ने कुराको हेक्का तपाईँले सधैँ राख्नुपर्छ।
जस्तै कि यौन सम्पर्कको बिचमा एकाएक तपाईँको सेक्सुअल पार्टनर ट्वाँ परे वा उनीहरू हलचल नगरी अचेत झैँ भए उनीहरूले तपाईँको हर्कत मन नपराए त्यसो सङ्केत गरेको हो कि भनेर एक पटक सोच्नुहोस्।
“उनीहरूले 'हुन्न' वा 'नाइँ' नभन्दैमा, मैले (सेक्स गर्न) सहमति पाएको छु भन्ने सोच्नु चाहिँ गलत हुन्छ,” हिलले भनिन्।

माइकल ब्राड्ली एक कानुन व्यवसायी हुनुका साथै लेखक पनि हुन्।
उनले यौनहिँसा पीडित मानिसहरूसँग वर्षौँ काम गरेको अनुभव सँगालेका छन्।
ब्राड्ली भन्छन् कि सेक्सुअल कन्सेन्ट दिन नमिल्ने अवस्थाहरूका बारे कानुन अहिले नै स्पष्ट छ।
“कहिलेकाहीँ मानिसहरू सबै कुरा बुझेर आत्मनिर्णय गर्न सक्ने अवस्थामा हुँदैनन्,” उनी भन्छन्।
“जस्तो कि मानिलिऊँ, कसैलाई नशा चढेको छ, वा उनीहरू जे कारणले भएता पनि अचेत छन्, वा कोही बौद्धिक रूपमा एकदमै कमजोर छन् जसले उनीहरूले के गरिरहेका छन् त्यसबारे केही पनि बुझेका छैनन्, हो यस्तो अवस्थाहरूमा भएका मानिसहरूले जे भनेता पनि त्यसलाई उनीहरूको (यौन) सहमतिको रूपमा लिन मिल्दैन।“
“अनि, १६ वर्ष वा सोभन्दा मुनिका बालबालिकाले पनि कानुनीरूपमा सेक्सका लागि सहमति दिन सक्दैनन्,” ब्राड्लीले भने।

तर, बलात्कार जस्ता अपराधमा, डर र धम्कीका कारण भएका सहमतिलाई कानुनले हेर्ने तरिकामा भने समस्या रहेको पनि ब्राड्लीको भनाई छ।
“बाध्यता, जबरजस्ती वा बल प्रयोगबाट पाइने सहमति, बारे कानुन स्पष्ट छैन विशेष गरी पारिवारिक वा घरेलु हिंसाको परिप्रेक्ष्यमा,” उनी भन्छन्।
यौन सहमति बारे शिक्षा
सन् २०२३ देखि अस्ट्रेलियाको शिक्षा पाठ्यक्रममा यौन सहमति विषय अनिवार्य शिक्षाका रूपमा समावेश गरिएको छ।
यौन हिंसालाई रोक्नका लागि आवश्यक कदम नचालिएका भन्ने स्वरहरू सुनिन थालेपछि यस्तो निर्देशन लागु भएको हो।
नयाँ पाठ्यक्रमले समयानुकूल र उमेर अनुसार सहमति अनि अन्तरङ्ग सम्बन्धहरूमा हुनुपर्ने सम्मान सिकाउन थालिएको छ।
यसमा यसका साथै महिला र पुरुषमाथि परम्परागत रूपमा राखिने अवधारणा एवम् सांस्कृतिक अपेक्षाहरू पनि अस्ट्रेलियाको नयाँ यौन शिक्षा सम्बन्धी पाठ्यक्रममा समावेश छ।
अस्ट्रेलिया र न्युजल्यान्डका विद्यालयहरूमा यौन शिक्षा र सहमतिका बारेमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका रिची हार्डकोरका अनुसार विभिन्न संस्कृतिमा निषेधित भएका विषय र कलङ्कको त्रासले पनि यौनका बारेमा खुलेर कुरा गर्नलाई मानिसहरूलाई रोकिरहेको छ।
“कतिपय संस्कृतिले यौन सम्बन्धी आक्रामकता र प्रभुत्वलाई स्वीकार गरेको छ, महिला माथि पुरुषको प्रभावलाई पनि स्वीकार गरेको छ।” उनले भने।
यौन एक अद्भुत अनुभव हो र कसैलाई पनि शारीरिक, मानसिक वा भावनात्मक रूपमा चोट पुग्नु हुर्दैन।रिची हार्डकोर

यौन सहमति वास्तवमा लचिलो विषय हो, कैयन पुस्ता सम्बन्धका बेला सहमति नखोज्नमै अभ्यस्त बने।
हार्डकोर यस विषयलाई सामान्य सामाजिक चर्चा वा कुराकानीको विषय बनाउनु पर्ने बताउँछन् जसले कतिपय हानिलाई पूर्ववत् बनाउँछ।
“हामीले बलात्कार भन्ने बित्तिकै, कोही मानिस चक्कु लिएर झाडीबाट निस्किएको सम्झन्छौ, तर धेरै जस्ता यौन अपराध पीडितलाई चिनेकै व्यक्तिबाट हुन्छ, भेटिरहेका वा सम्बन्धमा रहेका व्यक्तिबाट हुन्छ, यसो भए मानिसहरू हिंसा रहित, दुवै जना सन्तुष्ट हुने, सहमति युक्त यौन सम्बन्धमा छन् भनेर कसरी भन्न सकिन्छ?” उनले प्रश्न गरे।

यता जेस हिल यौन सहमतिका बारेमा सिक्नका लागि यौन बारे रहेका पुरातन वादी सोचहरू भत्काउनु जरुरी रहेको बताउँछिन्।
लिङ्गमा आधारित यौन अपेक्षा र स्त्री र पुरुषलाई छुट्टाउन बनाइएका परम्परबादी सोचहरूलाई बदल्नु पर्ने उनको धारणा छ।
तपाईँलाई भावनात्मक सहयोग चाहिएमा १८०० रेस्पेक्टमा, लाइफलाइनलाई १३ ११ १४ वा बियोन्ड ब्लुलाई १८०० २२ ४६ ३६ मा सर्म्पक गर्नुहोस्।







