महामारीका कारण ठुलो संख्यामा बालबालिकाहरू झन्डै १२ महिनासम्मको अवधि पौडी पोखरीबाट वञ्चित रहेको बताइँदै गर्दा आउँदा दिनहरूमा जल जोखिम झनै बढ्न सक्ने अनुमान विज्ञहरूको छ।
धेरै अस्ट्रेलियाली बालबालिकाका निम्ति पौडी सिक्नु उनीहरूको बाल्यकालको एक अभिन्न अङ्ग हो।
तर कोभिड–१९ सम्बन्धी प्रतिबन्धहरूका कारण घरमै बस्ने आदेशका बिच बालबालिकाहरू पानीमा खेल्ने वा पौडीका बारेमा व्यवहारिक ज्ञान लिने कुरामा भने केही हदसम्म वञ्चित बन्न पुगेका छन्।
लकडाउन हट्दै जाँदा अबको गर्मी यामका दिनहरूमा पौडी खेल्न र समुन्द्री तटहरूमा घुमघामका लागि मानिसहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढ्ने प्राय निश्चित छ।
तर राम्ररी समुद्रमा पौडी खेल्न नजान्दा भने ज्यानै जाने जोखिम भने पहिलेका वर्षहरूमा झैँ यथावतै छ।
स्विम अस्ट्रेलियाले स्विम सेफर विक वा सुरक्षित पौडी सप्ताह मनाउने क्रममा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार अनुसन्धानमा भाग लिने आधा जसो अभिभावकहरू आफ्ना बालबालिका पानीमा डुब्ने खतराबाट जोगिन सक्दैनन् भनेर सोच्ने गर्छन्।

सन् २०२० र २१ का अधिकांश महिना लकडाउन लगायत कोभिड-१९ सम्बन्धी स्वास्थ्य प्रतिबन्धहरूका कारण प्रभावित बनेपछि भने केही अभिभावकहरूमा आफ्ना छोराछोरीले पौडी खेल्दा आइपर्ने दुर्घटनाहरूबाट आफूलाई बचाउन सक्छन् त भन्ने त्रास पैदा गरी दिएको हो।
तर सिड्नीकी सुनिता नगरकोटी भन्छिन् कि पौडी सिक्दै जाँदा शारीरिक तन्दुरुस्ती सँगै समुन्द्री तट या बिचमा जाँदा बच्चाहरू सुरक्षित हुन सक्छन्।
“समुन्द्रमा डुबेका सुन्दा नराम्रो लाग्छ, त्यही भएर पनि बच्चाहरूलाई स्विमीङ्ग सिकाउनु एकदमै आवश्यक छ,” उनले एसबीएस नेपालीसँग भनिन्।
कुराकानी सहितको हाम्रो रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नगरकोटीका ५ बर्सिया छोरा रियानले विगत डेढ वर्ष देखि पौडी कक्षा लिँदै आएका थिए।
तर गत जुलाईदेखि न्यु साउथ वेल्समा लकडाउन सुरु भएपछि भने रियानका पौडी कक्षाहरू स्थगित भएका थिए।

स्वीम अस्ट्रेलियाको रिपोर्टमा देशभरका प्रत्येक दुई मध्ये एक बालबालिकाले पौडीको कक्षा नलिने देखाउँदै गर्दा सुनिता नगरकोटी भने आफ्नो छोराको पौडी तालिम पुनः सुरु गर्ने बताउँछिन्।
तर स्विमिङ लेसन भनेर पनि परिचित यी पौडी सम्बन्धी कक्षामा भर्ती भएका बालबालिकाहरू मध्ये पनि २७ प्रतिशतले कोरोनाभाइरस स्वास्थ्य प्रतिबन्धहरूका कारण नियमित रूपमा तालिम नपाएको बताइएको छ।
यसरी पौडी सिक्ने अवसरबाट बालबालिकाहरू वञ्चित हुँदै गर्दा केही जानकारहरू पनि यस बारे चिन्ता व्यक्त गरेका छन्।
नेपाली समुदायमा जल सुरक्षाको पहल
यता नेपाली समुदायमा पनि पौडी सम्बन्धी खासै ज्ञान नभएको जानकारहरू बताउँछन्।
पछिल्ला केही वर्षका घटनाहरूलाई मात्र पनि आधार बनाउँदा नेपाली समुदायका थुप्रै सदस्यहरूले समुद्र, नदीनाला लगायतका प्राकृतिक जल क्रिडास्थलमा पौडी खेल्न वा रमाइलो गर्न जाँदा ज्यान गुमाएका समाचारहरू नियमित जसो नै आउने गरेका छन्।
बेलाबेलामा सामुदायिक पहलमा वा अन्य सङ्घ संस्थाका सहयोगमा पौडी सम्बन्धी प्रशिक्षण नहुने गरेका भने हैनन्।
भिक्टोरियाको जीलङ नेप्लिज कम्युनिटीले विगत केही वर्षदेखि पौडी सम्बन्धी प्रशिक्षण प्रदान गर्दै आइरहेको छ।
यस वर्ष पनि स्थानीय काउन्सिलसँगको सहकार्यमा कार्य सञ्चालन हुने नीरज कारञ्जीत बताउँछन्।

यस बाहेक पनि लाइफ सेभिङ्ग भिक्टोरिया सँग सहकार्यमा वाटर सेप्टी सम्बन्धी कार्यक्रम गरिँदै गरेको उनले जानकारी दिए।
“आउँदो वर्षको जनवरी ९ तारिख देखि बालबालिका र वयस्कहरूलाई छुट्टा छुटै रूपमा कक्षाहरू सञ्चालन हुदैछ,” उनले भने।
यता न्यु साउथ वेल्स राज्यमा पनि वयस्क वा बालबालिकाका लागि पौडीका कक्षा सञ्चालन हुँदै आएको नेप्लीज अस्ट्रेलियन एसोसिएसनका महासचिव तथा जल अभियन्ता ऋषि आचार्य बताउँछन्।
नेपाली समुदायमा पौडी सम्बन्धी ज्ञान नहुँदा जोखिम बढी रहेको उनले बताए।
“सन् २०१३ देखि २०१९ सम्मको तथ्याङ्कलाई हेर्दा (अस्ट्रेलियामा पानीमा डुबेर) १४ जना नेपालीको ज्यान गइसकेको छ,” उनले भने।
एडल्ट लर्न टु स्विम कार्यक्रम अन्तर्गत ब्ल्याक टाउन, लिभरपुल, सेभेनहिल्स, रकडेल र कोग्राह लगायतका क्षेत्रमा जनवरी पछि स्विमिङका कक्षाहरू सञ्चालनको तैयारी भइरहेको उनको भनाई छ।

यस बाहेक बालबालिका र परिवारकै सहभागिताका लागि वाटर सेप्टी डेको तयारी भइरहेको पनि उनले बताएका छन्।
“बच्चाहरू मात्रै नभएर सबै परिवारको सहभागिता हुने गरी कुनै एक समुन्द्री तट वा स्थानीय पुलमा भेला भएर एक दिन भरी नै वाटर सेप्टी, बिच सेप्टी, बोट सेप्टी, फिसिङ सेप्टी लगायतका विषयमा जानकारी दिने गरी तयारी गरेका छौ,” उनले भने।
लाइभ सेभिङ्गस अस्ट्रेलियाका अनुसार देशभर हरेक वर्ष ४ वर्ष वा सोभन्दा कम उमेर भएका औसत २२ बालबालिकाहरूको मृत्यु डुबेर हुने गरेको छ।
ती ज्यान जाने घटनामा आमाबाबुको लापरबाही नै प्रमुख कारण रहेको बताइएको छ।
यसरी मृत्यु हुने बालबालिकाहरू मध्ये अधिकांश माथि अभिभावकको ध्यान नपुगेको बेला डुबेर हुने गरेको उक्त संस्थाको भनाई छ।
यसमा पनि एक देखि २ वर्ष उमेर भएका बालबालिकाहरू त डुब्ने जोखिम झनै धेरै रहने गरेको छ।





