SKIP TO MAIN CONTENT

नेपाली बढ्दा समस्या बढेको देखिनु स्वाभाविक नै हो: भिक्टोरियाका लागि नेपाली दूत चन्द्र योञ्जन

Nepal Festival Melbourne 2018
Source: Srijana Ghimire

अस्ट्रेलियामा नेपालीहरू संलग्न घटनामा वृद्धि हुनुलाई सामान्य रूपमा लिनुपर्ने राय एक नेपाली दूतको रहेको छ।


Published

Updated

Source: SBS


Skip to podcast episode content

अस्ट्रेलियामा नेपालीहरू संलग्न घटनामा वृद्धि हुनुलाई सामान्य रूपमा लिनुपर्ने राय एक नेपाली दूतको रहेको छ।


भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनका अनुसार नेपाली समुदाय बढ्दै जाँदा समस्याहरू पनि त्यसै अनुपातमा अभिवृद्धि भइरहेको छ।

“समस्याहरू बढ्नु सामान्य नै हो, गुड थिङ्ग चाहीं भिक्टोरियाको, मेलबर्नको नेपाली कम्युनिटी एकदमै राम्रो छ, साह्रो गाह्रोमा एकदमै हेल्प गर्ने (त्यसैले हामीलाई सजिलो छ,” योञ्जनले एसबीएस नेपालीसँग भने।

“कतिपय घटनाहरू लाइमलाइटमा आउँदैनन्, कतिपयमा समुदायले चासो दिएर बाहिर आउँछन्।”

उनले समस्याहरू “खासै ठुला” नभएको जिकिर गरेता पनि बेला बखतमा नेपाली पृष्ठभूमिकाका मानिसहरू संलग्न भएका भन्ने केही नमीठा समाचारहरू अस्ट्रेलियाका राष्ट्रिय मिडियाहरूमा आउने क्रम पनि जारी नै छ। 

गत अक्टोबर महिनामा मात्र उत्तरी सिड्नी स्थित एक एज्ड केयरमा एक ८० वर्षीय वृद्धा माथि हात हालेको आरोपमा दोषी ठहर भएकी एक नेपाली  पृष्ठभूमीकी महिलालाई १०० घण्टाको सामुदायिक सेवाको आदेश दिइएको थियो। 

त्यसै गरी, साउथ अस्ट्रेलियामा गत महिना मात्रै पनि विद्यार्थी भिसामा रहेका एक नेपालीलाई आफ्नी पूर्व पार्टनरको आपत्तिजनक अवस्थाका तस्बिर र भिडियो, ती महिलाको परिवारजन तथा नयाँ श्रीमानलाई पठाएको कथित आरोपमा अस्ट्रेलियन फेडेरल पुलिसले पक्राउ गरेको थियो।

समस्या समाधान गर्नु आफ्नो दायित्व

Chandra Yonjan
Chandra Yonzon Source: Niru Tripathi

समस्याहरू जस्तोसुकै प्रकारका भए पनि तिनीहरूलाई समाधान गर्नु आफ्नो दायित्व भएको योञ्जनले बताए।

भर्खरै मात्र, केही विद्यार्थीहरूद्वारा नेपाल पैसा पठाउन खोज्दा कथित रूपमा ठगिएको भन्ने ब्यहोराको घटना सार्वजनिक भएयता, पारदर्शी रूपमा आफ्नो रोहबरमा सबै सरोकारवाला तथा समुदायलाई नेतृत्व प्रदान गरिरहेका व्यक्तिहरू मिलेर त्यसलाई निष्कर्षमा पुर्‍याउन सकिएकोमा पनि उनले सन्तोषको सास फेर्न मिल्ने बताए।

“यस्ता (समस्याहरू) भए, कम्युनिटीले रेज गर्नु उहाँहरूको पनि दायित्व हो, उहाँहरूले चाहीं कम्युनिटीमा यस्तो भइरहेको छ है भनेर अवेरनेस गराउने…,” चन्द्र योञ्जनले भने।

समुदायमा घटेका पछिल्ला केही घटनाहरू सार्वजनिक हुँदै गर्दा त्यसले थप पीडितहरूलाई अगाडी आउन थप सहयोग पुर्‍याएको पनि उनको ठम्याई छ।

Deepa Rai with her award.
दीपा राई Source: Solangture photography

तर, नेपाली समुदायकी एक अग्रज अभियन्ता दीपा राई भने नेपाली गैर आवासीय सङ्गठन तथा नेपलिज एसोसिएसन अफ भिक्टोरियाले मिलेर यहाँ बस्ने नेपालीहरूको समस्या सम्बोधन हेतु पहल गर्नुपर्ने बताउँछिन्।

"कन्सुलेटले मद्दत त गरेकै हो तर उसको कार्यक्षेत्र यस्ता कुरा पर्छन् कि पर्दैनन् भनेर पनि हेरिनुपर्छ," उनले भनिन्।

राई भन्छिन् कि धेरै नेपालीहरूमा अस्ट्रेलियाली कार्यविधि र प्रणाली बारे पर्याप्त ज्ञान नै छैन र उनीहरू अनेक थरी समस्यामा पर्नुको प्रमुख कारण पनि त्यही हो।

"मेरो विचारमा हाम्रो समुदायको प्रमुख मुद्दा भने कै अस्ट्रेलियाली नियम र चालचलन बारे कम जागरूकता हुनु हो। यसैको फाइदा उठाएर केही अवाञ्छित तत्त्वहरूले सोझा-साझा मानिसहरूलाई पीडित बनाउने काम गर्दछन्।"

गर्मीको छुट्टीमा चिन्ता

Swimming
Source: Maël BALLAND/Pexels

क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको आगमनसँगै आउने गर्मीको छुट्टीको बखत अस्ट्रेलिया भर छरिएर रहेका नेपाली समुदायका लागि चुनौती पूर्ण रहने गरेको छ।

विशेष गरी, नेपाली पृष्ठभूमिका विद्यार्थी लगायत अन्य मानिसहरूले पानीमा जाँदा सुरक्षाको उत्ति वास्ता नगरेको र हताहत हुन पुगेको बारे पछिल्ला केही वर्ष समाचारहरू निकै आउन थालेकोमा चन्द्र योञ्जनले चिन्ता व्यक्त गरे।

“अब अरू भन्दा पनि, हामीलाई कन्सर्न चाहिँ गर्मीको बेला चाहिँ हाम्रो थुप्रै नेपालीहरू इस्पेसल्ली यङ्ग नेपालीहरू पौडी खेल्न जान्छ; अनि पौडी खेल्न जाँदा खेरी चाहिँ धेरैलाई यहाँको (पानीको ज्ञान बारे) अवेरनेस नभएको हुनाले कतिपयले ज्यान गुमाए; लास्ट एर, प्रिभियस एर,” उनले एसबीएस नेपालीसँग भने।

यसका साथै, पानीमा जाँदा एकदमै सचेत हुन र पूर्ण सावधानी अपनाउन नेपाली समुदायलाई उनले आग्रह गरे।

“धेरै ठाउँमा प्रवेश निषेध भनेर लेखिएको हुन्छ, त्यो साइनहरू पढेर (पालना गरेर जान मिल्ने भए मात्र) जानुहोला,” उनले स्पष्ट पारे।

कन्सुलेट आजदेखि बिदामा

महावाणिज्यदूत चन्द्र योञ्जनले आजदेखि आगामी जनवरी ६ तारिखसम्म मेलबर्न स्थित कन्सुलेट कार्यालय बन्द रहने पनि जनाकारी दिएका छन्।

उनका अनुसार, यस वार्षिक छुट्टीको अवधिभर कुनै कन्सुलर सेवा सम्बन्धी आपत्कालीन अवस्था आइपरेमा ०४८१-३५१-१११ वा ०४११-३४३-९६९ फोन गर्न सकिने व्यवस्था गरिएको पनि बताए।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now