Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"कुवेतमा पैसा थियो, अस्ट्रेलियामा सुरक्षा छ": सिड्नीका तेक्वान्दो प्रशिक्षक प्रकाश क्षेत्रीको कथा

Prakash Chhetri_taekwondo_nepali sports

Source: Sunita Pokharel/ sbs nepali

चितवनमा जन्मिएका प्रकाश क्षेत्री, भारतीय सेना हुँदै कुवेती राज परिवारका एक सदस्यको व्यक्तिगत प्रशिक्षकको रूपमा पनि काम गरे पछि अहिले सिड्नीमा आफ्नै तेक्वान्दो केन्द्रहरु संचालन गरिरहेका छन्।


सन् २०१७ मा उज्ज्वल भविष्यको सोच लिएर अस्ट्रेलिया आएका प्रकाश क्षेत्रीले मात्र तीन वर्षको अस्ट्रेलिया बसाइमा आफ्नो बाल्यकालदेखिको सपना र लगन खर्चिएको मार्सल आर्टलाई नै व्यावसायिक रूप दिएका छन्।

अस्ट्रेलियामा सन् २००८ देखि नै शारीरिक सुगठन सम्बन्धी कक्षाहरू लिनका लागि आउने जाने गरिरहेका उनलाई  मार्सल आर्टको क्षेत्रमा पनि यहाँ प्रशस्त अवसर रहेको भान भइसकेको थियो।

"अस्ट्रेलिया आउन त म (सन् ) २००८ देखि नै आउने जाने गर्थे, फिट्नेस सम्बन्धी सबै कोर्सहरू गर्ने गर्थे र २०१७ मा चाहिँ मैले बसाइ सरे र आएको भोलिपल्ट देखि नै फिट्नेस प्रोफेसनल भएर काम गरे।"

Taekwondo trainer Prakash Chhetri in Sydney.
Taekwondo trainer Prakash Chhetri in Sydney. Source: Supplied

शारीरिक सुगठनमा पनि विशेष रुचि राख्ने प्रकाशको पहिलो जागिर नै फिट्नेस प्रशिक्षकका रूपमा एक जिममा भयो।

तर केही समय पछि नै  उनले मार्सल आर्टलाई जीवन यापनको एक हिस्सा बनाउँदा धेरै फाइदा हुने बारे नेपाली समुदायलाई जानकारी गराउन आफ्नै व्यवसाय सुरु गर्ने  निर्णय गरे।

अस्ट्रेलियामा तेक्वान्दो यात्रा

प्रकाश क्षेत्रीले अस्ट्रेलियामा आफ्नो परिवारका साथ बस्ने निर्णय गरे पछि भने अलिकति पनि समय नखर्ची एक वर्षको अवधिमा नै आफ्नै कक्षा सञ्चालन गर्ने सोच बनाउन थाले।

समग्र मार्सल आर्ट मध्ये नेपाली समुदायलाई उपयुक्त हुने देखेर तेक्वान्दोलाई रोजेको बताउने प्रकाश आफैँ पनि यो विधामा ब्ल्याक बेल्ट फोर डन हुन्।

prakash chhetri_taekawondo_nepali sports
मोर्टडेलको कक्षामा प्रशिक्षणका क्रममा विद्यार्थीहरूसँग प्रकाश क्षेत्री Source: Sunita Pokharel/ sbs nepali

जसको अर्थ उनले ब्ल्याक बेल्टहरूलाई पनि योग्यताको प्रमाण पत्र दिन मिल्छ।

यी सम्पूर्ण बजार अध्ययन पश्चात् सन् २०१८ को मार्च देखि प्रकाशको तेक्वान्दो प्रशिक्षण यात्राको सुरुवात भयो।

किङ्ग्स् ग्रोभ, मोर्टडेल र मक्वयरी फिल्डमा कक्षा सञ्चालन गर्दै आएका उनको तिनै ठाउँको जम्मा गर्दा  ८० जना जति विद्यार्थीहरू रहेका छन्।

समुदायमा टिभी, ट्याब्लेट वा फोनमा बच्चाहरूलाई सीमित राख्नु भन्दा शारीरिक क्रियाकलाप गर्दै सुरक्षाका उपायहरू सिकाउने मार्सल आर्ट सिकाउन प्रेरित गर्नु उनको मुख्य उद्देश्य रहेको थियो।

तर साना बालबालिकालाई अनुशासनमा राख्न कत्तिको गाह्रो हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्, "म फिट्नेस प्रोफेसनल भएको कारणले मेरो क्लाएन्ट ४ वर्ष उमेर देखि ९२ वर्ष सम्मका रहेका छन्।"

र यो क्षेत्रमा उनीहरूसँग कसरी व्यवहार गर्ने बारे सिक्नु पर्ने भएको कारण यो त्यति गाह्रो भएन।

prakash chhetri_taekawondo_nepali sports_martial arts
Source: Sunita Pokharel/ sbs nepali

बिस्तारै विद्यार्थी सङ्ख्या पनि बढ्यो र अहिले आफ्नो कमाइबाट सन्तुष्ट पनि रहेका प्रकाश आफ्नो ठुलो लगानी भनेको समय भएको बताउँदै, धैर्य गर्न नसक्दा मानिसहरू यो क्षेत्रमा लामो समय टिक्न नसक्ने बताउँछन्।

"प्रमुख कुरो भनेको चाहिँ जस्तै म एउटा विद्यार्थी आए पनि कहिल्यै निराश हुँदिन, त्यसैले मलाई खुसी बनाउँछ, यसैलाई मैले आज बनाउन सके भने भोलि उसले दस जना खोज्छ नि भन्ने सोचे।"

वारियर्स तेक्वान्दोको मोर्टडेल, किङ्ग्स ग्रोभ र मक्वयरी फिल्डमा कक्षाहरू सञ्चालन भइराखेका छन्।

prakash chhetri_taekawondo_nepali sports_martial arts
Source: Sunita Pokharel/ sbs nepali

सेक्युरिटी गार्डदेखि राज परिवारसम्मको सम्बन्ध

चितवन रत्न नगरका प्रकाश क्षेत्री सानैदेखि पढाइमा भन्दा खेलकुद र अन्य शारीरिक क्रियाकलापमा बढी रुचि राख्थे।

परिवारमा पढाइ नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने सोचाइका बिच मार्सल आर्टमा भविष्य हुन सक्छ भन्ने अवस्था नै थिएन।

त्यही भएर त मार्सल आर्ट सिक्न घरमा ट्युसन पढ्न गएको बहाना बनाउनु पर्थ्यो।

"ब्ल्याक बेल्ट लिने बेला सम्म मैले ट्युसन पढ्न जान्छु भनेर नै सिकेको हो। मेरो युनिफर्म पनि मैले मेरो साथीको घरमा राखेर धुन्थे। घरमा त्यस्तो कुराको अनुमति हुन्थेन, खाली किताब समातेर पढ्नै पर्छ भन्ने हुन्थ्यो।"

मार्सल आर्ट सिकेर नै भारतीय सेनामा प्रवेश पाएपछि, गोर्खा पल्टनमा पहिले बक्सिङ मात्र सिकाइने गरेकोमा उनी प्रथम मार्सल आर्ट प्रशिक्षक पनि बने।

prakash chhetri_taekawondo_nepali sports_martial arts
भारतीय आर्मीमा गोर्खा पल्टनमा पहिले बक्सिङ मात्र सिकाइने गरेकोमा प्रकाश प्रथम मार्सल आर्ट प्रशिक्षक पनि बने। Source: facebook/ Prakash Chhetri

प्रकाशले केही समय पश्चात् भारतीय सेनाको काम छोडेर कुवेत जाने निर्णय गरे।

अस्ट्रेलिया आउनु पूर्व लगभग १० वर्ष कुवेतमा बिताएका प्रकाश क्षेत्री त्यहाँ पनि फिट्नेस प्रशिक्षक बने।

एयरपोर्टमा सेक्युरिटी गार्डका रूपमा काम गर्न कुवेत गएका प्रकाश त्यतिमा मात्र सीमित भएर सन्तुष्ट थिएनन्।

सेक्युरिटी गार्डका रूपमा दिनको १२ घण्टाको काम गरिसके पछि विभिन्न क्लबहरूमा गएर मार्सल आर्ट सिकाउन थालेका उनले केही समयको अन्तरालमा नै व्यक्तिगत प्रशिक्षकका रूपमा सिकाउन थाले।

सेक्युरिटीको काम छोडेर एक जिममा काम गर्ने क्रममा उनको राज परिवारको एक सदस्यसँग भेट हुन पुग्यो र उनले ७ वर्ष राज परिवारका सो सदस्यको व्यक्तिगत प्रशिक्षकका रूपमा काम गर्न पाए।

जिममै राजपरिवारको एक सदस्य भेट भयो 'ए' क्लास परिवारको, उसको प्राइभेट प्रशिक्षक भएर लामो समय काम गरें २००९ देखि २०१६ को नोभेम्बर डिसेम्बर सम्म काम गरे ऊसँग।

उक्त कामका दौरान उनले राम्रो व्यवहार र तलब पाएका थिए नै साथमा राजपरिवारसँग सम्बन्ध भएकै कारण त्यहाँका नेपालीहरूलाई समस्या परेको बेला सहयोग गर्न समेत सक्षम थिए।

आफ्नो त्यो लिङ्क र भनसुन गर्न सक्ने स्थितिमा पनि पैसा कमाउनका लागी त्यसलाई  प्रयोग गर्ने सोच कहिल्यै नआएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा अहिले पनि सम्पर्कमा रहेको बताउने प्रकाशलाई कुवेतमा रहँदा एउटा कुरामा मात्र चिन्ता थियो। 

कुवेतमा रहँदा उनले मध्ये पूर्वी राष्ट्रहरूमा रहेको युद्धको वातावरण लगायतका बारेमा धेरै सुन्दा जुन सुकै बेला जे पनि हुन सक्ने भय थियो।

कुनै सुरक्षा नै नभएको अनुभूति भए पछि उनले आफ्नो श्रीमती, एक छोरा र एक छोरीका साथ अस्ट्रेलिया आउने निर्णय गरेका थिए।

तेक्वान्दो र नेपाल

तेक्वान्दो मार्सल आर्टको एक प्रकार हो।

मार्सल आर्ट अन्तर्गत कै करातेमा हातको प्रयोग बढी हुने गरेकोमा टेक्वान्डोमा खुट्टाको बढी प्रयोग हुन्छ।

prakash chhetri_taekawondo_nepali sports
Source: facebook/ Prakash Chhetri

कोरियन मार्सल आर्ट  तेक्वान्दोमा टाउको भन्दा माथिसम्म किक गर्ने, घुमाएर किक गर्ने र छिटो किक गर्ने तरिकाहरूलाई बढी प्राथमिकता दिइन्छ।

तेक्वान्दो ओलम्पिक खेल भएका कारण यसको लोकप्रियता पनि निकै देखिन्छ।

सन् १९४० तिर  सुरुवात भएको यस खेललाई १९८८ को दक्षिण कोरियाको सिओलमा भएको ओलम्पिक खेलमा परिचयात्मक रूपमा मात्र राखियो भने सन् २०००  देखि भने तेक्वान्दो ओलम्पिक खेलका रूपमा आधिकारिक रूपमा भित्रियो।  

दक्षिण कोरियामा सबैभन्दा उपल्लो वा विश्व स्तरीय निकाय रहेको तेक्वान्दो नेपालमा भने सन् १९८३ मा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

त्यस भन्दा अगाडी मार्सल आर्टका कुनै पनि खेलहरू नेपालीहरूले खेल्न प्रतिबन्ध लगाइएको नेपाल तेक्वान्दो सङ्घको वेबसाइटमा उल्लेख गरिएको छ।

तर पहिलो खेल प्रदर्शनी पश्चात् नेपाल आर्मी तथा प्रहरीमा अनुशासन सिकाउन यो खेल सहयोगी हुने सरकारी बुझाइ पश्चात् नेपालमा पनि यो खेलले क्रमशः लोकप्रियता कमाउन थाल्यो।

Nepali sports_nepali taekwondo
पछिल्लो दक्षिण एसियाली खेल सागमा नेपाल टेक्वान्डोमा सबैभन्दा बढी पदक जित्ने राष्ट्र बनेको थियो। Source: Nepal taekwondo association

सन् २०१९ को डिसेम्बरमा भएको दक्षिण एसियाली खेल सागमा पनि तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्यका साथ २९ पदक जितेर यो विधामा सबैभन्दा बढी पदक जित्ने राष्ट्र बनेको थियो।

चर्चित नेपाली तेक्वान्दो खेलाडीहरूमा दीपक विष्ट, संगीना बैद्य र आयशा शाक्यको नाम आउने गर्दछ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now