भिक्टोरिया राज्यमा शनिवार २५ नभेम्बरमा सम्पन्न भएको आम निर्वाचनमा अत्यधिक बहुमत हातपार्न लेबर पार्टी सफल भए पछि प्रिमियर ड्यानियल एन्ड्रूजले आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन्। पछिल्लो मत गणनाका अनुसार राज्यको ८८ सीट संसदमा सरकार बनाउन ४५ सीट चाहिने भएता पनि सत्ताधारी लेबर पार्टीले अहिले सम्म ५२ ओटा सीट जितिसकेको छ।
म्याथ्यू गाईको नेतृत्वमा रहेको लिबरल र न्याशनल पार्टीको विपक्षी गठबन्धनले अहिले सम्म २४ सीट मात्र हात पार्न सफल भएका छन् भने ग्रीन्स पार्टीले चाहिं अहिले सम्म एउटा पनि सीट जितेका छैनन्।
अहिले सम्म लेबर पार्टी प्रतिको मतदाता समर्थन ४.८ प्रतिशतले बढेको र लिबरल गठबन्धन विरुद्ध ६.७ प्रतिशतले घटेको देखिएको छ।
यसैक्रममा आफ्नो दोस्रो कार्यकालका लागि बहुमतका साथ् निर्वाचित हुन सफल लेबर नेता एन्ड्रूजले सरकारले बाचाहरु पुरा गरेको देखेरनै मतदाताहरुले आफ्नो चाहना प्रस्ट पारेको बताएका छन्।
गए राति आफ्नो जीत सुनिश्चित भए पछि आफ्ना समर्थकहरु समक्ष् बोल्दै मतदाताहरुले राज्यका सडकहरुमा रहेका ७५ ओटा रेल क्रस्सिंगहरु हटाएको जस्तो कामहरुको समर्थन गरेको उनले बताए।
२५ नभेम्बरमा सम्पन्न चुनाव अगाडी राज्य संसदमा लेबर पार्टीसँग ४५ सीट मात्र रहेको थियो।
अर्को तर्फ आफ्नो पार्टीको हार भएको सुइकार गर्दै विपक्षी नेता म्याथ्यू गाईले आगामी संसदीय कार्यकालमा आफ्नो पार्टी एकभै काम गर्न जरुरी रहेको बताएका छन्।
पछिल्लो नतिजा अनुसार गए १६२ वर्ष देखि अहिले सम्म लेबर पार्टीले जित्न नसकेको ब्राइटनमा पनि लिबरल पार्टीको हारने सम्भावना एकदमै धेरै रहेको छ अनुमान गरिएको छ।
यसकारण पनि अब आफु भन्दा आफ्ना प्रतिद्वन्दीहरुमाथि आफ्नो ध्यान केन्द्रित रहनु पर्ने गाईले बताए। साथै आफु र आफ्ना पार्टीका अन्य सदस्यहरुलाई भोट दिने मतदाताहरुलाई पनि उनले धन्यबाद दिएका थिए।

भिक्टोरियामा लिबरल गठबन्धनको हारलाई संघीय राजनीतिसंग पनि तुलना गरिएको छ।
विशेष गरि लेबर पार्टीको जीतले गलत प्रचारका साथ् मानिसहरुलाई भड्काउने प्रकारका संदेशहरुलाई मतदाताहरुले असुइकार गरेको पनि हिजोको चुनावले प्रष्ट पारेको संघीय लेबर पार्टीले बताएको छ।
तर सत्ताधारी संघीय लिबरल गठबन्धनले भने भिक्टोरियाली चुनावको नतिजाले राष्ट्रिय स्तरमा जनबिचार नदर्शाउने संकेत दिने प्रयास गरिरहेका छन्।
एबिसी संग कुरा गर्दै संघिय ट्रेजरर जश फ्राईडेनबर्गले भिक्टोरियाली नतिजाको दोष क्यानबेरा माथि नजाने जोड दिएका छन्।
भिक्टोरियामा लेबर पार्टीको बहुमतका साथ् जीत हुनुले संघीय विपक्षी नेता बिल शर्टनलाई आगामी चुनावमा कतिको सहयोग गर्ला त भन्ने प्रश्नमा लेबर सभासद रिचार्ड मार्ल्सले प्रधान मन्त्री स्कट मोरिशनले भिक्टोरियाली नतिजालाई पन्छाउन नसक्ने बताएका छन्।
तर स्काई समाचारसंगकै कुराकानीमा लिबरल मन्त्री फ्राईडेनबर्गले चाहिं अहिले देखिनै बिल शर्टनले चुनाव जित्ने सपना देख्न बन्द गर्नु पर्ने बताए।





