गत मे महिना यता एम-पी-एक्स भनेर विश्व स्वास्थ्य सङ्गठनले नामाकरण गरेको मङ्किपक्स भाइरसका कारण १४० अस्ट्रेलियालीहरुलाई सङ्क्रमण भइसकेको छ।
भिक्टोरिया र न्यु साउथ वेल्स यसको सबैभन्दा बढी चपेटामा परेका राज्य हुन्।
'राष्ट्रिय चासोको सङ्क्रामक रोगका' रूपमा अस्ट्रेलियाका मुख्य स्वास्थ्य अधिकारीले घोषणा गरेसँगै यसको रोकथामका लागि मुख्य गरी खोप व्यवस्थापन गर्नमा सरकारले ध्यान पुर्याएको छ।
विश्वभर देखिएका मङ्किपक्स सङ्क्रमणलाई आधार मान्ने हो भने करिब ९८ प्रतिशत केस पुरुष यौन साथी भएका पुरुषहरूमा देखिएको छ।
अर्थात् समलिङ्गी पुरुषहरूमा यसको सङ्क्रमण बढी भेटिएको छ।
अस्ट्रेलियाको एचआइभी एड्स सम्बन्धी कार्य गर्ने संस्थाहरूको महासङ्घले भने यौन स्वास्थ्य सम्बन्धी क्लिनिकहरूको सहयोगमा जोखिममा रहेका समुदायमा लक्षित कार्यक्रम सफल भएको बताउँछ।
महासङ्घका सहायक कार्यकारी अधिकृत हिथ पेन्टर, स्वास्थ्य अभियानकर्ताहरू मानिसहरूले सहयोग खोज्न अप्ठ्यारो मान्ने गरेकाले, यसलाई कुनै एक विशेष यौन अभ्यासमा रहेका मानिसहरूलाई मात्र सर्छ भन्ने सामाजिक मानसिकतालाई कम गर्ने प्रयास गरिएको बताउँछन्।
“समलिङ्गीमा मात्र यो भाइरस लाग्छ भन्ने सोचलाई हटाउनु पर्छ, यो जसलाई पनि हुन सक्छ, अहिलेको परिस्थितिमा यो समलिङ्गी मानिसहरूबाट सरेको छ, तर यसको चुनौतीलाई सही ढङ्गबाट व्यवस्थापन पनि गरिएको छ,” उनले भने।
उनका अनुसार मानिसहरूलाई स्वास्थ्य सम्बन्धी उचित सल्लाह वा ज्ञान दिँदा उनीहरू खोपका लागि तैयार भएका छन्।

खोपको कति डोज लगाउनु पर्छ?
एचआइभी, भाइरल हेपाटाइटिस र यस सम्बन्धी औषधि लगायत, समग्रमा यौन स्वास्थ्य हेर्ने न्युजल्याण्ड र अस्ट्रेलियाका स्वास्थ्यकर्मीहरूको संस्था एएसएचएमका क्लिनिकल एडभाइजर भिन्सेन्ट कोर्निलियस, सुरुमा मङ्किपक्स खोपको एक डोज दिनका लागि मात्र सुझाव भएको बताउँछन्।
तर २८ दिनको फरकमा खोपको दुई डोज दिँदा यसबाट सङ्क्रमण हुने जोखिम सधैँका लागि अन्त्य हुने उनको भनाई छ।
“एक डोजबाट पनि मानिसहरूले यसका विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बनाउन सक्छन् तर, खोपको उपलब्धताका हिसाबले मानिसहरूलाई दुई डोज दिन सकिन्छ,” उनले भने।
पछिल्लो समय खोप दिने तरिका पनि फरक भएको उनले बताए।
एक डोज खोपको मात्राले पाँच जनालाई रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सकिने उनको भनाई छ।
मेलबर्नमा रहेको दि थोर्न हार्बर क्लिनिकले हालसम्म ५,७०० जनालाई खोप उपलब्ध गराइसकेको छ।
क्लिनिकमा कार्यरत कालिव हकका अनुसार स्वंसेवकहरुका कारण यो सम्भव भएको हो।
“हाम्रो क्लिनिकको मङ्गिपक्स सम्बन्धी पेजमा गएर मानिसहरुले आफ्नो रुचि देखाउँथे, र हाम्रा स्वंवसेवकहरुले उनीहरूलाई सम्पर्क गरेर खोपका लागि समय मिलाउँथे,” उनले भने।

के सङ्क्रमण अझै बढ्न सक्छ ?
गत जुलाईमा विश्वभर मङ्गिपक्सका केसहरू निकै बढेका थिए।
कालिव हकका अनुसार गर्मी महिनामा सङ्क्रमण सङ्ख्या बढ्ने देखिन्छ।
क्रिसमस र फेब्रुअरीमा पर्ने वर्ल्ड प्राइड नामक संगलिङ्गी महोत्सवका कारण पनि केसहरू बढ्न सक्ने उनी बताउँछन्।
“हामी अझै पनि यसबाट मुक्त भइसकेका छैनौ, हामीले खोपको दोस्रो डोज पनि सुरु गर्नु पर्छ,” उनले भने।
मङ्किपक्सको प्रारम्भिक खोप अभियान सफल भएको र यसलाई कायम राख्ने कुरामा चनाखो हुनु पर्ने तर अवस्था सकारात्मक रहेको उनले बताए।
खोपका करिब ३००,००० डोजहरू अर्को वर्ष अस्ट्रेलिया आईपुग्ने बताइएको छ।
गत मे महिनामा स्वास्थ्य आपतकाल भनेर विश्व स्वास्थ्य संगठनल घोषणा गरेको भए पनि, धेरै अघि देखि सेन्ट्रल र वेस्टर्न अफ्रिकामा यो फैलिरहेको क्लिनिकल एडभाइजर भिन्सेन्ट कोर्निलियस बताउँछन्।






