यस हप्ता प्रधानमन्त्री निवासमा बसेको बैठकले कोरोनाका कारणले मार्च २४ देखि बन्द भएका यी सेवाहरूका बारेमा त्यस्तो निर्णय गरेको हो।
भर्खरै काठमाडौँ उपत्यकामा लकडाउन खुलाइए लगत्तै गरिएको यस निर्णय अन्तर्गत प्रत्येक यातायातका आ-आफ्नै नियम छन् ।
आन्तरिक उडानका हवाई जहाज र लामो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनले आफ्नो सिट क्षमताको आधा मात्र यात्रु राख्न पाउने छन्।

भौतिक दुरी कायम गर्नको निम्ति एक पक्तिंको सिटमा एक जानामात्र बस्न पाउने छन्।
वायु यानका हरेक यात्रुले मास्क र भाईजर र अरू सवारी साधनमा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ भने चालक, सहचालक र परिचारिकाले पन्जा पनि लगाउनुपर्ने हुन्छ।
वायु यान या गाडीको ढोका र भित्रपट्टि स्यानिटाइजर हर बखत उपलब्ध हुनुपर्नेछ र हरेक दिन हवाई यान र सवारी साधन ‘डिस्इन्फेक्ट’ गरिनुपर्ने हुन्छ।

सवारी साधनहरूको सिटबाहेक अन्य ठाउँमा बस्न पाइने छैन र यी मापदण्ड पालना गरिने अवधिभर सवारी सञ्चालकहरूले तोकिएको भाडा दरभन्दा ५० प्रतिशतले बढी रकम लिन सक्नेछन्।
यसका साथै अक्टोबर १७ तारिखदेखि विदेशी पर्यटक लगायत सबैको निम्ति ट्रेकिङ, पर्वतारोहण तथा अन्य पर्यटनका गतिविधि पनि सञ्चालन गर्न पाइने छ।
सरकारका प्रवक्ता प्रदीप ज्ञवाली भन्छन्, “हिमाल आरोहण र पदयात्रा प्रयोजनका लागि नेपाल आउने विदेशी पर्यटकहरूलाई यात्रा सुरु गर्नुभन्दा अगाडी बढीमा ७२ घण्टाको आर. टी. पी.सी.आर. नेगेटिभ रिपोर्ट सहित यात्रा गर्न चाहेमा, हामीले २०७७ को कार्तिक १ गते, अर्थात् २०२० को अक्टोबर १७ देखि यात्रा अनुमति दिनेछौँ।यस सम्बन्धीमा आवश्यक भिसाहरूको व्यवस्था हाम्रा विदेश स्थित नियोगहरूले गर्नेछन्।”

देशभरबाट सरोकारवालाहरूको दबाब आउन थालेपछि राजधानीमा लकडाउन हटाउनुपरे लगत्तै सरकारमाथि सबै किसिमका व्यवसाय खोल्न अनुमति दिने माग बढ्दो रूपमा आइरहेको छ।
तर नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार र मृतकको सङ्ख्या ३२० नाघिसकेको छ भने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ।
यस्तो अवस्थामा आन्तरिक उडान, लामो दुरीको यातायात तथा पर्यटन सेवामा अनुमति दिने निर्णयले जनस्वास्थ्यमा कस्तो असर पर्नेछ भन्ने सर्वसाधारणको चिन्ता पनि रहेको छ।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि यहाँ थिच्नुहोस्






