सिड्नीमा १५ विभिन्न देशका २ सय ५० बिद्यार्थीहरु महामारी सुरु भएपछि पहीलोपटक अस्ट्रेलिया भित्रिएका छन्।
एसबीएस न्युज सँगको कुराकानीका क्रममा हंगकङ्गका दुई विद्यार्थी लेस्टर र ज्याकलिनले पढाई सुचारु गर्ने बारेमा आफू आशावादी रहेको बताए।
"यदि म सिड्नी जान पाइन भने म आफ्नो डिग्री पुरा गर्न सक्दिन यसले मेरो ग्र्याजुएसन समय पनि पछाडि धकेल्न सक्छ,"उनले भने।
यस अघि सरकारले सीमा प्रतिबन्धलाई डिसेम्बर १ तारिखबाट हटाउँदै १ लाख ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीलाई आउन दिने योजना बनाएको भएतापनि कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रन देखिएपछि भने कम्तीमा पनि दुई हप्ताका लागि उक्त योजना पछाडि सरेको छ।
यता आगामी सोमबारदेखि बिना क्वारेनटिन अन्य राज्यमा मानिस क्वीन्सल्याण्ड प्रवेश गर्न सक्ने भएका हुन्।
तर त्यसका लागि विमान वा कारबाट त्यहाँ पुग्नु अघिको ७२ घण्टा भित्रको कोभिड–१९ को जाँच रिपोट भने नेगेटिभ आउनु जरुरी हुनेछ।
यस अघि १७ डिसेम्बरबाट सीमा खोल्ने बताएको राज्यले योजना गरिएको भन्दा चार दिन अघि नै सीमा खोल्ने घोषणा गरेको हो।
क्वीन्सल्याण्डकी प्रिमीयर एनास्टेसिया पलासेले यो घोषणाले मानिसहरूलाई योजना बनाउन सहयोग पुग्ने बताएकी छन्।
"तपाईँसँग अघिल्लो ७२ घण्टा भित्र गरिएको कोभिड जाँचको नेगेटिभ रिपोट हुनु जरुरी छ,तपाईँले मिति थाहापाइसक्नु भयो तपाई जाँचका लागि व्यवस्था गर्न सक्नुहुन्छ,यदि पूर्ण खोप लगाउनु भएको छ भने तपाईँलाई क्वारेनटिन बस्नु पदैन्," उनले भनिन्।
"यदि तपाईँले खोप लगाउनु भएको छैन भने चाहिँ तपाई विमानबाट आउनु पर्छ र १४ दिन होटेल क्वारेनटिन बस्नु पर्छ।"
प्रिमीयरले यसै हप्ता राज्यका ८० प्रतिशत मानिसले खोपको दुवै मात्रा लगाइसक्ने पनि बताइन्।
यसैबिच मङ्गलवार न्यु साउथ वेल्समा २ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

कोरोनाभाइरसका कारण राज्यमा मङ्गलवार दुई जनाले ज्यान गुमाएका छन्।
राज्यकी मुख्य स्वास्थ्य अधिकारी केरी च्यान्टले गर्मीको छुट्टी उपयोग गदै खोप लगाउन १२ देखि १५ वर्षका बालबालिकालाई आग्रह गरेकी छन्।
उता राज्यमा एक विद्यालय र जीमसँग जोडिएका ओमिक्रनका केसहरू बढ्न सक्ने बताइदै गर्दा राज्यमा हाल २५ जनामा ओमिक्रन भाइरस पुष्टी भइसकेको छ।
यता एसिटीमा पनि तीन नयाँ ओमिक्रन भाइरसका केसहरू पुष्टि भएका छन्।
पुष्टि भएका मामलासँगै राज्यमा हाल पाँच जनामा ओमिक्रन भेटिएको छ।
भिक्टोरियामा मङ्गलवार १,१८५ जनामा कोरोना सङ्क्रमण दर्ता भएको छ।
भाइरसका कारण राज्यमा थप सात जनाको मृत्यु भएको छ।
गत आइतबार न्यु साउथ वेल्स र भिक्टोरियाले ओमिक्रनको शून्य रणनीति नअपनाउने घोषणा गरेका थिए।
यता प्रधानमन्त्री स्कट मोरीसनले सबै राज्य र टेरीटरीका नेताहरू सँग नयाँ कोभिड भेरिएन्टको सामना गदै अगाडी बढिरहन आवश्यक रहेको बताएका थिए।
उनले यो साताको अन्त्य सम्म दोहोरो खोपको दर ९० प्रतिशत पुग्ने सम्भावना रहेको पनि बताए।







