दुई वर्ष अगाडी तत्कालीन टर्नबुल सरकारले अस्ट्रेलियाको आन्तरिक मामिला र राजनीतिमा वैदेशिक हस्तक्षेपलाई रोक्न भन्दै लागु गरिएको कानुनलाई पहिलो पटक प्रयोग गर्दै देशकै प्रमुख सुरक्षा निकायहरूले लेबर सांसदको घर, कार्यालय र उनका सवारी साधानहरुको खानतलासी गरेको हो।
न्यु साउथ वेल्स लेबर पार्टीले उक्त छानबिन जारी रहुन्जेलसम्मको लागि शौकत मोसल्मानेको पार्टी सदस्यता पनि निलम्बित गरेको छ।
राष्ट्रिय जासुसी निकाय र सङ्घीय प्रहरीद्वारा संयुक्त रूपमा गरिएको उक्त छानबिनमा - मोसल्माने र चीन बिचको कस्तो सम्बन्ध रहेको बारे ध्यान केन्द्रित गरिएको छ।
आफ्ना विभिन्न भाषण र सार्वजनिक सम्बोधनको क्रममा उनले चिनियाँ सरकारको प्रशंसा गरे पछि पहिला पनि उनी विवादमा फसेका छन्।
र उनी माथिको पछिल्लो कारबाहीबारे प्रतिक्रिया दिँदै प्रधानमन्त्री स्कट मोरिसनले भनेका छन् कि कथित वैदेशिक हस्तक्षेप बारे महिनौँ देखि चलिरहेको छानबिन अन्तर्गत
पछिल्ला विकास भएका हुन्।

गत वर्ष मात्र शौकत मोसल्मानेले न्यु साउथ वेल्सको विधायक परिषद्को उपाध्यक्ष पदबाट राजीनामा दिन बाध्य भएका थिए र यस वर्षको सुरुमा उनले चिनियाँ सरकारको व्यापक प्रशंसा गरेका थिए।
जसबारे उक्त समयमा उनका पार्टी नेत्री जोडी मकेले पनि, उनको त्यस्तो भनाइ उपयुक्त नरहेको बताएकी थिइन।
र २६ जुनको दिन मोसल्मानेको घर र कार्यालय लगायतका स्थानमा छापा मारिए पछि मकेले उनको पार्टी सदस्यता पनि निलम्बित गरेकी छन्।
साथै मोसल्माने माथि लागेका पछिल्ला आरोपहरू चिन्ताको विषय भएको पनि लेबर नेत्रीले बताइन।

गत हप्ता मात्र प्रधानमन्त्री स्कट मोरिसनले देशका सरकारी कार्यालय र व्यवसायहरू पनि - वैदेशिक सरकारको नियन्त्रणमा रहेका निकायहरूबाट साइबर हमलामा परिरहेको बारे बताएका थिए।
उनले त्यस्ता हमलामा कुन राष्ट्रको संलग्नता रहेको बारे पुष्टि नगरेता पनि, सुरक्षा निकायहरूले त्यसको लागि चीन माथि दोष लगाउँदै आएका छन् र देशको राजनीतिमा वैदेशिक हस्तक्षेप हुन नदिन सङ्घीय स्तरमा कडा कदम चालिएको मोरिसन बताउँछन्।
शौकत मोसल्माने कुनै अपराधमा संलग्न रहेको हाल कुनै आरोप रहेको छैन र उनको घर र संसदीय कार्यालयमा छापा मार्ने पछिल्लो कदम, जाति भेद बाट प्रेरित भएको उनका ठुला दाइ शोकी मोसल्मानेले दाबी गरेका छन्।
आफ्ना भाइ प्यालेस्टाइनदेखि आदिवासी र गरिबहरूको हितको लागि काम गर्ने भएकोले उनी विरुद्ध कदम चालिएको शोकी बताउँछन्।

संसद् समक्ष प्रस्तुत गरिएका विवरणका अनुसार सन् २००९ देखि मोसल्माने नौ पटक चीन गएका छन्।
साथै उनले वैदेशिक हस्तक्षेप विरुद्धको कानुनको आलोचना गर्नुका साथै चीनद्वारा कोरोनाभाइरस नियन्त्रणको लागि चालिएका कदमहरूको पनि प्रशंसा गरे पछि पनि उनले धेरैको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्री स्कट मोरिसनले चाहिँ उनी विरुद्धको छानबिनका केही जटिल विवरण सार्वजनिक गर्न नमिल्ने बताएका छन्।
र त्यस्तै भन्दै सङ्घीय प्रहरी र राष्ट्रिय जासुसी निकाय एजीयोको पनि रहेको छ।

गत शुक्रवारको कारबाही पछि एक विज्ञप्ति जारी गर्दै सुरक्षा निकाय पछिल्लो कारबाही समुदाय विरुद्धको कुनै निश्चित खतरा अन्तर्गत नरहेको बताएको छ।
कोरोनाभाइरसको श्रोत बारे स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन हुनुपर्ने अस्ट्रेलियाको माग पछि चीन र अस्ट्रेलिया बिचको सम्बन्ध बिग्रिँदै गएको छ।
आगामी दिनहरूमा दुई देश बिचको सम्बन्धमा थप चुनौती देखिन सक्ने बताउँछन् अस्ट्रेलिया-चीन सम्बन्धका विज्ञ प्राध्यापक चेन होंग।




