आगामी शनिवार अर्थात् २५ जुनका दिन न्यु साउथ वेल्स राज्य सञ्चालनका लागि नयाँ नेतृत्वको चयन हुँदै छ।
हालका प्रिमीयर डोमिनीक पेरोटे लिबरलको चौथो कार्यकालका लागि प्रयासरत छन्।
यता निकै लामो समय प्रतिपक्षमा बसेको लेबर दलका तर्फबाट क्रिस मिन्सले राज्यको यस पटक नेतृत्व गर्ने मौका खोजिरहेका छन्।
यता वर्तमान प्रिमीयर डोमिनिक पेरोटे पनि आफ्नो पार्टीको लिगेसीलाई यस कार्यकालमा पनि लिएर जाने अठोटमा छन्।

"मलाई लाग्छ कि सरकारको हाम्रो ट्र्याक रेकर्डले हामी कठिन अवस्थाहरूमा पनि के गर्न सक्षम छौँ भनेर देखाउँछ, अहिले हामीसँग बढ्दो मुद्रास्फीति, बढ्दो ब्याज दर जस्ता आर्थिक चुनौतीहरू छन्। र यो अवधिमा पनि हाम्रो राज्यलाई बलियो वित्तीय र आर्थिक व्यवस्थापनले मदत गर्नेछ।"
जनताको मत जित्न ऊर्जा सम्बन्धी राहत कार्यक्रम र बालबालिकाको भविष्यका लागि लगानी गर्ने उनको वाचा छ।
एसबीएससँगको कुराकानीका क्रममा उनले निकै गाह्रो परिस्थितिलाई सम्हालेर अगाडी बढेको दलले आगामी दिनमा पनि आर्थिक व्यवस्थापनलाई जोड दिने बताए।
यता प्रिमीयरका अर्का उम्मेदवार क्रिस मिन्स भने, जनता माथिको आर्थिक भारलाई कम गर्न पनि सरकार परिवर्तन हुनु पर्ने धारणा राख्छन्।

"हाम्रो नीतिहरू यस समयमा न्यू साउथ वेल्सले सामना गरिरहेका चुनौतीहरूलाई ध्यानमा राखेर ल्याइएको छ। मलाई लाग्छ धेरै मानिसहरूले हालको न्यु साउथ वेल्स सरकारलाई हेर्दा जीवनको लागत उनीहरूको अगाडी आकासिएको देख्नेछन्। उनीहरू विगत १२ वर्षदेखि सत्तामा छन् । टोल, कर, शुल्क, जरिवानाहरू सबै माथि उक्लिएका छन्।"
सिड्नी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध र गर्भनेन्स विभागमा कार्यरत चुनाव सम्बन्धी विज्ञ प्राध्यापक लुक मेन्सिलो यस पटकको चुनावमा बढ्दो जीवनयापनको भारले मतदाताहरूको निर्णयमा प्रभाव पार्ने बताउँछन्।
यता युनिभर्सिटी अफ टेक्नोलोजीमा सोसल जस्टिस र इन्क्लुजन विषयकी प्राध्यापक भेरीटी फर्थ पनि यस पटकको चुनावमा आर्थिक विषयले ठुलो प्रभाव पार्न सक्ने बताउँछिन्।
"पश्चिमी र दक्षिणपश्चिमी सिड्नीको मुटुमा हेर्नु भयो भने तपाईले देख्नुहुनेछ कि महँगीका मुद्दा सरकार निर्माणको प्रतिष्पर्धामा सबैभन्दा माथि छन्। त्यसैले हामीले सडक टोल, किफायती आवास नजिक रहेर गरिएका प्रतिज्ञाहरू देखिरहेका छौं। त्यस्तै शिक्षा र स्वास्थ्य हेरचाहको समर्थनको लागि प्रतिज्ञाहरू आएका छन्।"
"जब तपाईं सिड्नीको धनी क्षेत्रहरूमा जानुहुन्छ, जहाँ सम्भवतः आर्थिक चाप त्यति कडा छैन, तपाईंले योजना प्रणाली, दिगो विकास, सरकारी निष्ठा र जुवा प्रणालीमा सुधार जस्ता चीजहरू देख्नुहुन्छ। मतदाताहरू के बारे चिन्तित छन् भन्ने कुरालाई ध्यानमा राख्दै चुनावी वाचाहरू आएका छन्।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यस पटकको चुनावको एजेन्डामा दुई दलले घर भाडाको विषयलाई पनि आफ्नो मुख्य राजनीतिक मुद्दा बनाएका छन्।
लेबरले बिना कारण घरबेटीले भाडामा बस्नेलाई निकाल्न नपाउने नियममा आफ्नो समर्थन रहने जनाएको छ।
यस बाहेक भाडामा बस्दा दिइने 'बोन्ड' पनि अर्को घरबेटीकोमा जाँदा सजिलै सार्न मिल्ने व्यवस्था गर्नमा पनि लेबरले आफ्नो नीति मार्फत वाचा गरेको छ।
यता लिबरलका डोमिनीक पेरोटेले पनि विपक्षीका नीतिसँग मिल्दाजुल्दा नीतिहरू सार्वजनिक गरेका छन्।
पछिल्लो एक वर्षमा सहरी क्षेत्रमा घर भाडा १४ प्रतिशतसम्म बढेको र भाडामा घरहरू पाउन पनि मुस्किल भइरहेको अवस्थामा दुवै दलले यसलाई प्राथमिकतामा राखेका हुन्।
प्राध्यापक फर्थ दुवै दललाई वासस्थानको समस्या समाधानमा जोड दिनका लागि दबाब परिरहेको बताउँछिन्।
यता सरकारी निकायहरूलाई निजीकरण गर्ने विषयले पनि यस पटक चुनावमा चर्चा कमाएको छ।
पछिल्लो समय सिड्नी वाटरलाई निजीकरण गर्ने भन्ने हल्लाका बिच प्रिमीयर डोमिनीक पेरोटेले त्यसो नगरिने बताए।
यता न्यु साउथ वेल्स सबैभन्दा बढी कर लगाउने राज्य भएकाले वर्तमान प्रिमीयरले निजीकरण नगर्लान् भन्ने विश्वास नरहेको क्रिस मिन्सको भनाई छ।
लेबर सरकारले पनि महँगीलाई कम गर्न विभिन्न कदम चाल्ने, एम-फाइभ र एम-एट प्रयोग कर्ताहरूलाई हप्तामा ६० डलरको निश्चित रकम मात्र टोल काट्ने र पहिलो घर किन्नेहरूलाई राहत दिने योजना अघि सारेका छन्।

विपक्षीले सार्वजनिक क्षेत्रमा रहेको तलबमानमा पनि हेरफेर गरिने बताएको छ।
बढ्दो ऊर्जाको मूल्यलाई कम गर्न भने विपक्षी दलले एक अर्ब डलर बराबरको राज्य स्तरको नवीकरणीय ऊर्जा निगमको स्थापना गर्ने जनाएको छ।
यसबाहेक ऊर्जाको बिलमा राहत दिनका लागि साना व्यवसायलाई रिबेट दिइने विपक्षीको प्रस्ताव छ।
क्रिस मिन्स, फोसिल फ्युलबाट बाहिर निकालेर, नवीकरणीय ऊर्जा र जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न नवीकरणीय ऊर्जा निगमले भूमिका खेल्ने बताउँछन्।
यता गठबन्धनले भने बासिन्दाहरूलाई २५० डलरको ऊर्जा भाउचर र ब्याक टु स्कुल भाउचर दिने बताएको छ ।
बालबालिकाका लागि सुपरएनुएसन फन्डका लागि प्रत्येक बालबालिकालाई ४०० डलर राखेर एकाउन्ट खोलिने र कम आम्दानी भएका परिवारलाई बर्सेनि २०० डलर राखिदिने प्रिमीयरले बताए।
प्रिमीयरले राज्यको जुवा सम्बन्धी समस्या समाधानका लागि सन् २०२८ सम्म प्रत्येक पोकर मेसिनलाई क्यास लेस बनाइने पनि बताए।
जसका लागि अहिले परीक्षण स्वरूप राज्यका ५०० वटा मेसिनलाई क्यास लेस बनाइन लागेको उनको भनाइ छ।
कतिपय विज्ञहरू भने यस पटक राज्य चुनावमा कसैले पनि बहुमत ल्याउन नसक्ने अवस्था “हङ्ग पार्लियामेन्ट” हुने सम्भावना रहने पनि बताउँछन्।
प्राध्यापक मेन्सिलो यस्तो अवस्थामा योजना वा नीतिहरू के हुन्छन् भन्ने प्रश्न उठ्ने बताउँछन्।
स्पष्ट मत परिणाम आउनका लागि मानिसहरूले कसरी मतदान गर्छन् भन्ने कुराले पनि फरक पार्ने प्राध्यापकले बताए।
घरमा अङ्ग्रेजी नबोल्नेहरूका लागि मत कसरी खसाल्ने भन्ने बारेमा राम्ररी ज्ञान नदिइएकाले यसको प्रभाव देखिन सक्ने प्राध्यापकको भनाई छ।
चुनावका दिन भोट खसाल्न जान नसक्नेहरूका लागि राज्यभर प्रारम्भिक मतदान सुरु भइसकेको छ।






