साइबर आक्रमणलाई लिएर अप्टसले माग्यो माफी

OPTUS STOCK

Signage is seen at an Optus store in Sydney, Thursday, September 22, 2022. Optus customers' private information could be compromised after a cyber attack hit the phone and internet provider. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

अस्ट्रेलियाको दोस्रो ठुलो दूरसञ्चार व्यवसायकी प्रमुख कार्यकारीले झन्डै १ करोड ग्राहकहरूलाई प्रभाव पार्न सक्ने डाटा उल्लङ्घनको घटनालाई लिएर माफी मागेकी छिन्।


दूरसञ्चार कम्पनी अप्टसले उपभोक्ताहरूको जानकारीहरू जोखिममा पार्ने घटना भएको पुष्टि गरेको छ। साथै उसले उक्त डाटा उल्लङ्घनको अनुसन्धान सुरु गरिएको पनि बताएको छ।

उसका अनुसार साइबर आक्रमणलाई तत्काल बन्द गरिएको र सङ्घीय प्रहरीलाई खबर गरिएको थियो।

प्रमुख कार्यकारी केली बेर रोज्मेरिनले आफू यसबाट विक्षिप्त भएको र प्रायश्चित गर्ने बताएकी छिन्। साथै उनले उपभोक्ताहरूको भलाइका लागि र पारदर्शितालाई ध्यानमा राख्दै यस घटनाबारे जानकारी दिइएको बताएकी छिन्।

"अप्टसका लागि यसले राम्रो हेडलाइन नबनाउने भए पनि यो हाम्रा उपभोक्ताहरूको हितमा रहेको छ।"

उनले आक्रमणलाई परिष्कृत भएको भन्दै यसका बारेमा सम्पूर्ण विवरण भने नखोल्ने बताएकी छिन्।

कम्पनीले केही शङ्कास्पद गतिविधिहरू पश्चात् डाटा उल्लङ्घनबारे थाहा पाएको बताएको छ। तर यसबारे उपभोक्तालाई सिधै जानकारी नदिई समाचार प्रकाशित गरेको उसको भनाइ छ।

रक्षा मन्त्री रिचर्ड मार्ल्सले कम्पनीका लागि यो अप्ठ्यारो परिस्थिति भएको बताएका छन्।

"अहिले प्रमुख ध्यान भनेको अप्टसका ग्राहकहरू माथि छ, यो सुनिश्चित गर्न कि उनीहरूले उपयुक्त जानकारीहरू पाउन र अस्ट्रेलियाली साइबर सुरक्षा केन्द्र एसीएससीले अप्टससँग मिलेर काम गरिरहेको छ, ताकी जानकारीहरू उनीहरूलाई उपलब्ध गराइयोस् जसले गर्दा यो मामिलालाई सही ढङ्गबाट निकास दिन सकियोस्।"

एक वक्तव्य जारी गर्दै साइबर सुरक्षा सम्बन्धी मन्त्री क्लेयर ओ'नीलले प्राविधिक सहयोग प्रदान गरिएको र अस्ट्रेलियालीहरूले अनलाइनका जोखिमहरूबाट जोगिन आफ्नो सुरक्षा पद्धतिलाई दरिलो बनाउनु पर्ने बताएकी छिन्।

तर विपक्षीले भने सरकारले प्रश्नहरूको उत्तर दिनु पर्ने बताएको छ।

लिबरल नेता पिटर डटनले अस्ट्रेलियाको इतिहासमा नै सबैभन्दा ठुलो डाटा उल्लङ्घन भएको बताएका छन्।

उक्त उल्लङ्घन पहिलेका र हालका उपभोक्ताहरूको जानकारीसँग सम्बन्धित रहेको छ र यो सन् २०१७ सम्म पनि पुगेको छ।

यसमा नाम, जन्म मिति, फोन नम्बर र इमेल ठेगानाहरू पनि रहेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

केही उपभोक्ताहरूको संवेदनशील जानकारीहरू जस्तै घरको ठेगाना र लाइसेन्स र पासपोर्ट नम्बरहरू पनि रहेका छन्।

यद्यपि, अप्टसले पेमेन्टका जानकारी तथा खाताका पासवर्डहरू भने नपरेको बताएको छ।

अस्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोगकी डेलिया रिकार्ड उपभोक्ताहरूले सुरक्षित मापदण्डहरू अपनाउनु पर्ने बताउँछिन्, जस्तै बैङ्किङ कारोबार गर्दा थप भेरिफिकेसन अपनाउने।

पीडब्लुसीका सुरक्षाविद् रब डी पेट्रो भन्छन् १ करोड उपभोक्ताहरूको जानकारीहरू प्रभावित भएको हुनसक्ने प्रक्षेपण गरिएको छ।

उनी व्यक्तिगत जानकारीहरू गैर कानुनी बजारमा बिक्री हुन सक्ने भन्दै सचेत गराउँछन्।

"मलाइ लाग्छ यो घटनाले के कुरामा प्रकाश पारेको छ भने, डाटा बहुमूल्य छन्, यो संस्थाहरूका लागि बहुमूल्य छन् र यो साइबर अपराधीहरूको लागि बहुमूल्य छन् जसले आफ्नो फाइदाको लागि ती जानकारीहरू प्रयोग गर्न खोजिरहेका हुन्छन्। "


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now