रागिनी उपाध्यायकी छोरीको सम्झना लोक कला प्रवर्धनका लागी

Ragini Upadhyay_nepali artist_nepali art

रागिनी उपाध्यायद्वारा बनाइएको चित्र जहाँ आधा अनुहार आफ्नो र आधा आफ्नो स्वर्गीय छोरीको रहेको छ। Source: Supplied

नेपालकी प्रसिद्ध आधुनिक चित्रकार रागिनी उपाध्यायले सन् २०१६ मा आफ्नी एक मात्र सन्तान २० वर्षीय छोरी शिवातालाई अचानक गुमाएपछि छोरीको नाममा फाउन्डेसन खोलिन् र त्यसमार्फत विद्यार्थीहरूलाई कलाको अध्ययन गर्न मद्दत गरिरहेकी छिन्।


भर्खरै शिवाता लभ फाउन्डेसनले कपिलवस्तुका युवाहरूलाई अवधि चित्रकलाको प्रशिक्षण दिएको छ।

महिला शिक्षा विषयमा विद्यार्थी र प्रशिक्षकहरूले बनाएका कलाकृतिको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा मार्च १२ सम्म जारी रहेको छ।

यसै सन्दर्भमा सेवा भट्टराईले उपाध्यायसँग गरेको कुराकानी।

शिवाता लभ फाउन्डेसनले एउटा अवधि चित्रकलाको प्रदर्शन र तालिमको आयोजना गरेको छ। यो कस्तो खालको कार्यक्रम हो?

अवध कला भन्ने पनि लोक कला रहेछ। हाम्रो लोक कला विभाग (प्रज्ञा प्रतिष्ठान) ले पनि यसको प्रवर्द्धनको काम गरेको थियो सन् २०१४ मा। त्यो बेलामा मलाई थाहा भएको थियो कि अवध भनेको लखनउसँग सम्बन्धी छ।
Ragini Upadhyay_nepali artist_nepali art
Source: Supplied
अर्थात् कपिलवस्तुमा लखनउ र इलाहबादको जस्तो भाषा बोलिन्छ। त्यो भाषा सँगै लोक कलाले पनि यात्रा गर्‍यो। लोक कला एकदम सजिलो छ।

शिवाता लभ फाउन्डेसनले एउटा कार्यक्रम गर्नुपर्‍यो, महिला दिवसलाई पनि टार्गेट गरेर। अनि हामीले अवधि लोक कलाबाट सुरु गर्‍यौँ। यो लोप भइरहेको कला हो, त्यसलाई जीवन्त गर्नलाई।

यो फाउन्डेसन मेरो छोरीको नाममा खोलिएको हो, जसलाई मैले धेरै सानो उमेरमा गुमाएँ। २० वर्षको उमेरको के सपना हुन्छ? शिवाताले जहाँ सपना छोडिन्, त्यो सपनालाई मैले निरन्तरता दिएँ।

तपाईँले सानै उमेरमा शिवाता नामकी छोरी गुमाएको कुरा गर्नुभयो। शिवाताको सपना के थियो जसलाई तपाईँले पुरा गर्न खोजिराख्नुभएको छ?

शिवाताको सपना भन्दा पनि उसको उमेर। २० वर्षको बच्चाको के सपना हुन्छ? पढाइ लेखाइ गरौँ अनि शिक्षा लिएर हामी हाम्रो सपनासम्म पुगौँ, त्यही त हुन्छ। महिलाहरू जुन धेरै पछि छन्, शिक्षाको अभाव पनि त्यसको एउटा ठुलो कारण हो।

जबसम्म शिक्षा हुन्न, तबसम्म कमाई पनि हुन्न।

हुन त हाम्रो पुरानो कवि साहित्यकारहरूले जहाँ सरस्वतीको बास हुन्छ त्यहाँ लक्ष्मीको बास हुन्न भन्छन्। तर म बारम्बार त्यसलाई काट्छु। र म के भन्छु भने जहाँ सरस्वतीको बास हुन्छ त्यहीँ लक्ष्मी आउँछिन्।

धेरै बाबुआमाको सपना के हुन्छ भने मैले पुरा नगरेको सपना मेरो बच्चाले गरोस्। तर यस्तो पनि दुःखदायी कथाहरू हुन्छन् जस्तो मेरो र शिवाताको भयो। त्यसैले उसको सपनालाई हामीले निरन्तरता दियौँ र उ जस्ता छोरीहरूलाई बाटो दिने यो संस्थाले काम गर्छ ।

विशेष गरी अहिले भइरहेको प्रदर्शनीले कसरी छोरीहरूलाई मद्दत गर्छ?

यसको विषय नै "छोरी पढाउ छोरी बचाउ" हो। हामीले केटा र केटी दुवै गरेर २५-३० जना विद्यार्थीलाई यो विषय दियौँ। भन्दा खेरी कलाको मार्फत चेतना बढाउने र त्यो क्षेत्रका मानिसमाझ फैलाउने।

छोराहरूले पनि यो चित्रकला गरिरहेका छन्, उनीहरूलाई पनि छोरीको महत्त्व थाहा हुन्छ। छोरा र छोरी एउटै हुन्, समान हुन्, र शिक्षामा दुबैलाई ध्यान दिनुपर्छ भनेर ।

अवधि चित्रकलाको बारेमा थोरै बताइदिनुस् न।

हाम्रो देशको एउटा दुर्भाग्य यो छ कि कुनै पनि कलालाई उजागर गर्नका लागि विदेशबाट मान्छे आउनुपर्ने अनि उसले हामीलाई बताउनुपर्ने।
मिथिला कला कसरी मिथिला कला भनेर अन्तर्राष्ट्रिय जगतमा चिनियो भने क्लार भन्ने एक जना अमेरिकी महिला २५ वर्ष अगाडि आउनुभो, वहाँले हेर्नुभो, महिलाहरुले भित्ता भित्तामा बनाएको। वहाँले अमेरिकामा त्यसको प्रदर्शनी गर्नुभो। अनि मिथिला कला भनेको के हो भन्ने थाहा भयो।

तर अवधि कलामा त्यस्तो कोही आएन। त्यसैले हामीले अवधि कलाबाट शुरू गर्यौं, किनकी यो लोप भइरहेको कला हो, त्यसलाई जीवन्त गर्नको लागि।

अवधि चित्रकला परम्परागत रुपमा कपिलवस्तुमा गरिने कला हो?

हो, त्यो क्षेत्रमा। तौलिहवा भन्ने जुन ठाउँ छ, बुद्ध भगवानको मामाघर। त्यहाँ भग्नावशेषमा मैले ईंटाहरुमा कुँदेको देखें, त्यो पनि नजीकबाट सम्बन्धित छ अवधि कलासँग।

त्यहाँ कलाकार नभएर मात्रै त्यो छायाँमा पर्यो। बच्चाहरुले पनि त पहिले त आफ्नो क्षेत्रको कलालाई बुझ्नु पर्यो नि।

शिवता लभ फाउण्डेशनले अरु के के काम गरिरहेको छ?

हाम्रो अहिले १५ – १६ जना बच्चाहरु छन्, बिस्तारै त्यसलाई बढाउँदै जाने। अहिले चाहिँ सानो बच्चलाई भन्दा पनि ठुलो बच्चालाई मैले सहयोग गरिरहेको छु, विशेषगरी कलामा।

बच्चाहरुलाई किन कलामा प्रोत्सान दिनुहुन्छ? कला किन चाहिन्छ समाजलाई?

कला संस्कृति र साहित्य सभ्य समाजका परिचय हुन्। यो एउटा ध्यान हो। मैले त यसलाई पूजाकै रुपमा लिएको छु किनभने कलाको माध्यमबाट हामी धेरै धेरै दुःखहरुबाट पनि बाहिर आउन सक्छौं। जीवनमा मेरो जस्तो ठुलो पीडा हुँदैन।

तर त्यसबाट पनि त्यही चित्रकलाले मलाई बचायो। त्यो क्षणमा क्यानभास र तपाईं मात्रै हुनुहुन्छ। अझ तपाईं पनि हुनुहुन्न, कोही पनि छैन। क्यानभास र चित्रकला मात्रै छ।
Ragini Upadhyay_nepali artist_nepali art
Source: Supplied
छोरीलाई गुमाएपछि तपाईं पहिलाभन्दा बढी समाजसेवा तर्फ अथवा आफ्नो कलाकृति मात्रै नभएर अरुलाई मद्दत गर्ने तर्फ तपाईंको कदम अघि बढेको जस्तो देखिन्छ। त्यस्तो हो?

मैले मेरो जीवन हेर्ने हो भने सानै उमेरदेखि सामाजिक कार्यमा सकृय थिएँ। अहिले चाहिँ पुर्ण रुपमा यसमा संलग्न छु। म केही गरिरहेकी छु जस्तो लाग्छ मलाई। जीवनको केही अर्थ छ जस्तो लाग्छ।

ईश्वरको के मतलब छ, के गराउन चाहिरहेको छ त्यो त मलाई थाहा छैन। यो किन भयो? मेरो प्रश्नको त जवाफ छैन। यो पीडादायी छ। तर अहिले यसमा लागेर मेरो मन भुलाउने पनि काम भइरहेको छ र बच्चाहरुलाई पनि सहयोग गरिरहेकी छु।

मेरी छोरी आफु पनि राम्रो कलाकार थिइन। उसको निधन पछि मैले भेटें। जीवन र मृत्युको बारेमा उसले धेरै काम गरेकी थिइन।

म आफैं छक्क परेकी थिएँ त्यो चित्रहरु देखे। उसले कहिले पनि मलाई देखाइनन्। ममी एउटा कलाकार भएको हुनाले अप्ठयारो मानेर लुकाएर राखेकी थिइ त्यो चित्रकलाहरु। त्यो चित्रकलाहरु हेरेर, र उ एउटा फोटोग्राफर पनि थिइ।

र अहिले मेरो छोरी उमेरको अरुले, थुप्रै शिवाताहरुले सहयोग पाइरहेका छन्। मनमा शान्ती पाउँदो रहेछ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand