SKIP TO MAIN CONTENT

दुई दिन पैदल हिँडेर कोभिड-१९ को परीक्षण गराउने कर्णालीका सन्तोष धामी

Santosh Dhami Simikot walked for days to receive COVID-19 treatment
Source: Santosh Dhami/ Facebook

कर्णाली प्रदेशका सर्केगाड गाउँमा कार्यरत सन्तोष धामी दुई दिन हिँडेर कोरोनाभाइरस परिक्षण तथा उपचार गराउन सफल भएका छन्।


Published

Updated

By सेवा भट्टराई

Source: SBS



Skip to podcast episode content

कर्णाली प्रदेशका सर्केगाड गाउँमा कार्यरत सन्तोष धामी दुई दिन हिँडेर कोरोनाभाइरस परिक्षण तथा उपचार गराउन सफल भएका छन्।


दुई दिन हिँडेर कोरोनाभाइरस परीक्षण गराएका कर्णाली प्रदेशका सर्केगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हुन् - सन्तोष धामी। 

उनलाई सिमिकोटको जिल्ला अस्पतालमा कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि भोलिपल्ट बिहानै हेलिकप्टरमा जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। 

करिब २१ दिनको उपचारपछि उनी डिस्चार्ज भएका छन्।

धामीको कथाले नेपालको सबैभन्दा उत्तर पश्चिममा रहेको हुम्ला जिल्ला र त्यस्ता विकट ठाउँमा बसोबास गर्ने मानिसहरूलाई कोरोना सङ्क्रमणको परीक्षण र उपचार गर्नु कति गाह्रो छ भन्ने देखाएको छ। 

अस्पताल जानु अघि धामी र उनका स्वास्थ्यकर्मी साथीले आफ्नो गाउँपालिकामा कोभिडका बिरामी धेरै छन् भन्ने अनुमान गरिसकेका थिए। 

उनीहरूबिच सदरमुकाम सिमकोटबाट एन्टीजेन टेस्ट किट ल्याएर गाउँमा कोरोना परीक्षण गर्ने सल्लाह भइरहेको थियो।

Sarkegad Village in Far-western Nepal
सर्केगाड गाँउ Source: Santosh Dhami/ Facebook

सर्केगाड गाउँपालिका सिमिकोटबाट हिँडेर लगभग एक दिनको बाटो हो। 

धामीलाई स्वास्थ्यमा गाह्रो भएकोले यो बाटो हिँड्न दुई दिन लागेको थियो। 

धामीलाई सामान्य लक्षणभन्दा बढी नै असर भइसकेको र निमोनिया भइसकेको पाइयो। 

जिल्ला अस्पतालमा बिरामी धेरै भएको; बत्ती जाने समस्या भएको र आफूलाई स्वास्थ्यमा सुधार हुन नसकेको कारण धामीले आफूलाई जुम्ला पठाउनुपर्ने प्रस्ताव गरे।

“मलाई गाह्रो भएको थियो अनि अक्सिजनको मात्रा पनि घटेको थियो, यस्तै अन्य लक्षणमा ज्वरो पनि १०३ डिग्री जस्तो थियो।"

"नाकबाट रगत आउने, त्यसपछि सास फेर्न गाह्रो हुने अनि अरू धेरै समस्या होलाजस्तो लागिसकेपछि...”, धामी भन्छन्। 

भोलिपल्ट उनलाई जुम्ला पुर्‍याइयो र उपचार सुरु गरियो। अहिले धामीलाई स्वास्थ्यमा सुधार भइराखेको छ। 

बल्ल-बल्ल कर्णाली कोरिडोरले छुन लागेको सर्केगाड गाउँपालिका अझै विकट रहेको र स्वास्थ्य मापदण्ड पालनामा पछि परेको धामी बताउँछन्। 

उनका सहकर्मीहरूले त्यहाँ परीक्षण गरेका २०० जनामा लगभग २५ जनामा कोरोना पोजेटिभ देखिएको छ।

केही बिरामीहरू निको भएर घर फर्केका भए पनि लामो बाटो हिँडेर स्वास्थ्य चौकी पुग्नुपर्ने र स्वास्थ्य सामग्री पर्याप्त नहुनाले गाह्रो भइरहेको उनी बताउँछन्।  

यसै गाउँपालिकामा जन्मेका धामीले आफ्नै गाउँको सेवा गरिराख्दा यस्ता विकट ठाउँहरूको समस्याको चाँडै हल होस् भन्ने चाहन्छन्। 

उनी भन्छन्, “धेरै कुराहरूमा ध्यान नदिएकोले अवस्थाले पनि हाम्रोजस्तो ठाउँहरूमा कोभिडको सङ्क्रमण बढ्ने वाला छ।  यसको लागि हाम्रो सर्केगाड गाउँपालिका स्वास्थ्य शाखा, त्यहाँ काम गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था लगायत सबैले यसमा नियन्त्रणमा एकदमै लाग्नुपर्ने देखिन्छ।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now