प्रधान मन्त्री स्कट मोरिसनले विश्वव्यापी संस्थाहरूले सार्वभौम राष्ट्रहरूको आन्तरिक मामलामा अत्यधिक चासो लिएको बताएका छन्।
लवी इन्स्टिच्युटमा विदेश नीति सम्बन्धी बोल्ने क्रममा प्रधानमन्त्री स्कट मोरिसनले कुनै पनि अन्तर्राष्ट्रिय सङ्घ संस्था भन्दा अस्ट्रेलियाले आफू र आफ्नो दृष्टिकोणलाई माथि राख्नु पर्नेमा जोड दिएका छन्।
महत्त्वपूर्ण मानिएको सो सम्बोधनका क्रममा उनले अधिकांश समय कमजोर तरिकाले परिभाषित र सीमा विहीन विश्व समुदायको आदेशलाई राष्ट्रिय मुद्दामा लाद्ने नकारात्मक विश्वव्यापीकरण लाई बेवास्ता गर्नु पर्ने पनि बताएका छन्।
मोरिसनले उनकै शब्दमा "नकारात्मक विश्वव्यापीकरण" भन्दै यो विचारधाराका बारेमा सम्पूर्ण अस्ट्रेलियाली सचेत रहनु पर्ने बताएका छन्।
उनले सङ्घीय सरकारले मात्र अस्ट्रेलियाको राष्ट्रिय सरोकारको विषय के हो भन्ने परिभाषित गर्ने बताएका छन्।
लेबरले भने मोरिसनको उक्त भनाइ संयुक्त राज्य अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रंपको जस्तो अति राष्ट्रवाद झल्कने किसिमको भएको बताएको छ।

प्रधानमन्त्री मोरिसन केही हप्ता यता अन्तर्राष्ट्रिय स्तरमा नै उनको नेतृत्वको सरकारले अवलम्बन गरेका नीतिहरू र त्यसमा पनि जलवायु परिवर्तन सम्बन्धी नीतिलाई लिएर आलोचना भएका कारण दिक्क भएको बताइन्छ।
गत महिना भएको राष्ट्र सङ्घीय जलवायु सम्मेलनमा बोल्नका लागी अस्ट्रेलियालाई आमन्त्रित गरिएको थिएन।
राष्ट्र सङ्घले अस्ट्रेलियालाई बोल्न नबोलाउनुको कारणका रूपमा गठबन्धन सरकारको कोइलामा आधारित परियोजनाहरू लाई समर्थन गर्ने गरेको बुझाइ आधार भएको बताइन्छ।

मोरिसनका अनुसार उनले विदेश मामिला तथा व्यापार सम्बन्धी विभागलाई विश्वव्यापी सङ्घ संस्थामा अस्ट्रेलियाको भूमिकाका बारेमा परीक्षण गर्न भनेका छन्।
तर यसो भनी रहँदा आफू यस्ता सङ्घ संस्था बाट पूर्णतया बाहिरिने पक्षमा रहेको भन्ने कुराको भने खण्डन गरेका छन्।
उनले अस्ट्रेलियाको घरेलु मामिलामा अरू कसैले हस्तक्षेप वा अपमान गर्न भने नहुने बताएका छन्।
कार्यवाहक लेबर नेता रिचार्ड मार्ल्सले मोरिसनले प्रयोग गरेको उक्त भाषालाई लिएर आफू चिन्तित भएको बताएका छन्।
उनले नाइन नेटवर्क सँग कुरा गर्दै मोरिसनको भनाइ अमेरिका का राष्ट्रपति डोनाल्ड ट्रंपको "पहिले अमेरिका" भन्ने कथन जस्तो सुनिएको बताएका छन्।
विदेश मन्त्री मरिस पाइन् ले भने प्रधानमन्त्री मोरिसनको सो भाषणको प्रशंसा गरेकी छन्।
उनका अनुसार जटिल विदेश नीति बारेको बहसमा यसले धेरै ठुलो योगदान पुर्याएको छ।





