रंगमञ्च हुँदै फिल्ममा उदाएका अभिनेता नाजिर हुसेनको नयाँ नाटक ‘द अग्ली डकलिंङ (कुरुप हाँस)’ नामक नाटक मञ्चन भइरहेको छ । यसअघि उनले अभिनय गरेका नाटक ‘माथा पन्चर’, ‘डिग्री माइला’ र ‘चरनदास चोर’ लगायत नाटकलाई दर्शकले मनपराएका थिए । उनले ‘गाँठो’ ‘होस्टेल रिटर्न्स’ र ‘जंगे’, लगायत फिल्ममा समेत अभिनय गरिसकेका छन्। लेखक ह्यान्स क्रिस्टियन एण्डरसनको कथामा आधारित ‘द अग्ली डकलिंङ’ नाटक निर्देशन गरेका अभिनेता नाजिर हुसेनसँग एसबिएस नेपालीले गरेको कुराकानीः
नाजिर हुसेनसँगको पुरा कुराकानी सुन्न माथि रहेको मेडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्
१.‘द अग्ली डकलिंङ (कुरुप हाँस)’ नामक नाटकलाई तपाईको ड्रिम प्रोजेक्ट भन्नुको कारण के हो ? यसको पृष्ठभूमिबारे केही जानकारी गराउनु हुन्छ?
नेपाली रंगमञ्चमा करिव ८ वर्ष बिताएसकेको अनुभवको आधारमा नाटक निर्देशन गर्न इच्छुक थिए । यस कथाबारे थाहा भएपनि फिल्म सुटिङको व्यस्तताबाट फुर्सद निकाल्न भ्याएको थिइन्। मलाई डान्सको माध्यमबाट नाटकहरु मञ्चन गर्ने शैली मनपर्छ ।
डान्स र म्युजिकलाई जोडेर तीन वर्षअघि यो कथामा काम गर्न लागिपरेको थिए । झण्डै तीन महिनाको तयारीपछि बल्ल नाटक मञ्चन गर्न योग्य भएको हो ।
म मुश्लिम समुदायबाट प्रतिनिधित्व गर्छु ।
बाल्यकालमा मेरो परिवारले म मुश्लिमजस्तो देखिन्न भनेर भनिरहँदा आफै ‘द अग्ली डकलिंङ (कुरुप हाँस)’ हो भन्ने महशुस गर्थें ।
भावनात्मक रुपमा यो कथासँग निकट भएकाले निर्देशन आफैले गर्न सकेको थिए ।
२. आफ्नै जीवनसँग मिल्ने ‘द अग्ली डकलिंङ’ नाटक तयार गर्दा कत्तिको चुनौतीपूर्ण भयो ?
यो कथा संसारभरका मानिसको अनुभवमा आधारित भएको हुँदा चुनौतीपूर्ण देखिएको हो । कलाकारलाई हरेक रिहर्सलमा बारम्बार डान्स गर्ने भन्दापनि महशुस गर्ने कथा हो भनेर सम्झाइरहनु परेको थियो ।
३.रंगमञ्च हुँदै फिल्ममा उदाउनु भएको तपाईले आफ्ना कामहरुको मूल्याङ्न कसरी गर्नुभएको छ ?
मैले राम्रो काम गरिरहेको हुँदा काठमाडौंमा आफ्नो पहिचान बनाउन सकिरहेको छु । बाराको दृर्गम क्षेत्रबाट आएर संसारभरका मानिसलाई मैले जानेको कला देखाउन सकेको छु । यसले मलाई पनि प्रोत्सहित गरिरहेको हुन्छ ।
४.सबैतिर समान सहभागिताको बहस चलिरहेको छ । नेपाली मनोरञ्जन क्षेत्रमा मुश्लिम समुदायको प्रतिनिधित्व गर्ने तपाईको लागि यो कुराले कत्तिको महत्व राख्छ ?
मैले लागि काम महत्वपूर्ण हो जस्तो लाग्छ । फेरि मनोरञ्जन क्षेत्र भन्नासाथ देखिने कुरा धेरै हुन्छन्। समानताको बहस भइरहँदा कहिलेकाँही फ्यान वा मनोरञ्जन क्षेत्रमा आवद्ध व्यत्तिहरुको व्यवहारले गर्दा नराम्रो महशुस हुन्छ ।
मेरो जात कलाकार हो भन्दा आनन्द लाग्छ ।

५. विगत आठ वर्षदेखि नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय हुनुहुन्छ ? मुश्लिम भएकै कारण केही फिल्मबाट अन्तिम समयमा तपाईलाई हटाइयो घटना गुपचुप राख्नुको कारण केही थियो ?
सुरुवाती दिनमा मेरो कामको प्रशंसा गरिरहेका अग्रजहरुबाट नजानिने पाराले पीडित हुनपर्दा नराम्रो महशुस भएको थियो। उहाँहरुको व्यवहारको कारण स्क्रिप्टमा अटाएपनि फिल्ममा भने अटाउन सकिन् । सायद उहाँहरुलाई गोरो छाला, चिटिक्क परेको अनुहार खोज्नु भएको होला जस्तो लाग्थ्यो । अहिले मेरो काम सबैले मनपराइदिनु भएको छ ।
रंग र जातीय विभेदको शिकार भएपनि उहाँहरुको देखावटी व्यवहारबाट आश्चर्यमा परेको थिए। अहिले उहाँहरुलाई मेरो क्षमता र कामबारे थाहा हुँदै होला ।
यो कुराले दुखित तुल्याएपनि डिप्रेसनचाँहि कहिल्यै भएन् ।
६. बारादेखि काठमाडौंको यात्रा गरिरहँदा सफल कलाकारको रुपमा स्थापित हुन्छु भनेर कहिले सोच्नुभएको थियो ?
लोभचाँहि थियो। ११ कक्षामा पढ्दा मेरो दिदीले ‘कन्टेम्पोररी डान्स वर्कसप’मा सहभागी हुने अवसर जुटाइदिएपछि अभिनय क्षमता देखेर म लोभिएको थिए।





