हिमालसँग लागेको सम्मोहन हटाउन निकै गाह्रो हुन्छ। कोसौं पर बाट हेर्दा पनि हिउँले ढाकिएको पहाडले ह्रदयलाई कस्सेर समात्छ, अनि फुत्कनै दिदैन।
त्यहि भएर होला, भनिएको पनि छ, एकपल्ट हिमाल चढेपछि- घरि घरि फर्कन मन लाग्छ- फेरि हिमाललाई छुन, अनि शिखरमा पुग्न।
यस्तै हिमालको सम्मोहनमा परेका छन्- केन हट। सिड्नीबाट २ घण्टाको दूरीमा रहेको बेरि भन्ने स्थानमा घर भएका हट, विभिन्न हिमाल चढ्ने क्रममा पाँचपल्ट नेपाल गईसके। अब फेरि आउदो मार्चमा नेपाल जाने तयारीमा रहेका छन्।
यो पनि पढ्नुहोस्

माउन्ट केटु: नेपाली टोलीको किर्तिमानी आरोहण
तर अबको भ्रमण भने निकै विशेष रहेको उनी बताउँछन्। उनी संसारकै सबैभन्दा अग्लो, अनि भर्खरै उचाई पनि बढेको भनिएको- सगरमाथा चढ्न लाग्दै छन्। तर सगरमाथाको शिखरमा पुगेर उनी त्यहि बाटो झर्ने छैनन्। बरु त्यहाँबाट हाम फाल्नेछन्- प्याराग्लाईडिङ्गको साथ लिएर।
“मलाई हिमाल चढ्न मन परे पनि सगरमाथामा चाहि निकै भिड हुने भएकाले अहिलेसम्म अन्य हिमाल तिरै ध्यान दिईरहेको थिए,” हटले भने।
“तर अहिले म संसारबाट पोलियो उन्मुलनको लागि पैसा संकलन गरिरहेको छु। सगरमाथा चढ्दा- यसको महत्वको कारणले – राशी अझै बढी जम्मा हुने भएकाले मैले सगरमाथाको चयन गरेको हुँ।“

६१ बर्षीय हट ले सन् १९९५ मा पुलिसको जागीर छोडेपछि, आफ्ना भाई, एन्थोनिसँग हिमाल चढ्ने पेशातर्फ लागे। शुरुका दिनहरुमा दाजु-भाईनै न्युजिल्याण्डमा गई, त्यहाँ रहेको माउन्ट कुक र अन्य हिमालहरु चढ्न थाले।
अनि त्यसपछि नेपालमा रहेको हिमालहरुले उनको मनमा आकर्षण बढाउन थाल्यो।
“एकपछि अर्को गर्दै अन्य धेरै हिमालहरु चढेपछि, मलाई पनि सगरमाथा चढ्ने आँट आयो,” उनले भने। “अनि चुचुरोमा पुगी प्याराग्लाईडिङ्ग गर्ने हिम्मत पनि जुटिसकेको छ।“
हट अहिले आफ्नो स्थानिय रोटरि क्लाबका सदस्य रहेका छन् र अहिले रोटरीको एउटा प्रमुख उद्देश्यनै संसारबाट पोलियो उन्मुलन गराउने रहेको छ।
अस्ट्रेलिया र नेपाल लगायत संसारका धेरै देशहरुबाट पोलियो उन्मुलन भएपनि, पाकिस्तान र आफगानिस्तान लगायतका मुलुकहरुमा अझै पोलियोको प्रकोप जारी रहेको छ।

“भाईरसको माध्यमबाट सर्ने यो रोगको रोकथामको उपाय हुँदाहुँदै पनि सयौं बच्चाहरुको यसको कारणले अपाङ्ग बन्छन्” न्याउरो मुख बनाउदै हटले भने। “यो समस्याले टाउको नउठोस् भन्ने हेतुले म यो अभियानमा लागेको हुँ।“
उनको सेवामुखि उद्देश्यले गर्दानै उनी अझै यस हिमाल चढ्ने शोख मनमा राखिरहेका छन्।
तर यो शौख एक समय मुर्झाइसकेको थियो।
सन् २०१४ मा, सगरमाथा क्षेत्रमा आएको हिमस्खलनको कारणले देखेको त्रासदी पछि उनको मन अमिलो भएको थियो। त्यसबेला उनी समगरमाथा क्षेत्रमै रहेका थिए।
“एक पछि अर्को गर्दै हेलिकप्टर आउथ्यो, अनि त्यस हिमस्खालनका कारणले मारिएका शेर्पाहरुको लाश लैजान्थ्यो," उनले भने। "निकै मर्माहत बनायो मलाई त्यो दृष्यले।"
त्यस दुर्घटनामा सगरमाथा चढ्ने क्रममा रहेका १६ शेर्पाहरु मारिएका थिए। अनि आफ्ना मारिएका सहकर्मीहरुको सम्मानमा, सन् २०१४ मा बाँकी रहेको आरोहण सिजनमा भाग नलिने स्थानिय शेर्पाहरुले निर्णय गरेका थिए।

त्यसबखत, सगरमाथाभन्दा पश्चिममा रहेको चो ओयु हिमालको आरोहणतर्फ लम्केका हटले आफ्नो यात्रा रद्द गर्नेनै ठानिसकेका थिए। तर पोलियो उन्मुलनको वाचाले उनलाई फेरि त्यस बाटोमा डोर्रायो।
चो ओयु हिमालबाट प्यारा ग्लाईडिङ्ग गरिसकेका हटले, सगरमाथाको शिखरबाट उड्दै उत्रन सकेमा उनी त्यसो गर्ने चौथो समूहमा पर्ने छन्। सन् २०११ मा, बाबु छिरिङ्ग र लाक्पा शेर्पाले एउटै प्याराग्लाईडिङ्को छाताको सहाराले सगरमाथाको शिखरबाट हाम्फालेका थिए। अहिले हट उनीहरुसँग सम्पर्क गर्ने कोशिशमा रहेका छन्।
"नेपालमा रहेका मेरा साथीहरुले ती दुई आरोहीहरुसँग सम्पर्कमा ल्याउने कोशिशमा रहेका छन," हटले बने। "उनीहरुको अनुभव मलाई उपयोगी हुन सक्छ।"
संसारकै सबैभन्दा उच्च हिमाल, सगरमाथाको आरोहण त्यति सजिलो छैन। ८,८४८ मिटरभन्दा बढी उचाई रहेको हिमाल चढ्न झण्डै दुई महिना लाग्न सक्छ। झट्टै उचाईमा जाँदा शरिरमा श्वास-प्रश्वास अनि शरिरमा रहेको अक्सिजनको मात्रामा प्रभाव पर्ने भएकाले, पर्वतारोहिहरुले दिनहुँ थोरै-थोरै उचाई लिदै हिमाल उक्लछन्।
अनि शिखरमा पुगेपछि, त्यहाँबाट तल झर्न तिन दिनभन्दा बढी लाग्न सक्छ। अनि फर्किने यात्रा निकै जोखिमपूर्ण पनि रहन्छ।
तर ६० किलोमिटर प्रति घण्टा बत्तिने प्याराग्लाईडिङ्गबाट भने झण्डै ४० मिनेटमै हटले शिखरबाट भुई छुने छन्।
उनी सगरमाथा चढ्नको लागि शेर्पाहरुको सहयोग लिदै छन्। उनले प्रयोग गर्ने प्याराग्लाईडरको तौल मात्र २ किलो भएपनि, अक्सिजन लगायतका सामाग्रीहरु बोक्न उनको टोलीले सहयोग गर्नेछ।

उनी योजना अनुरुप आरोहण हुने कुरामा आशावादी छन् तर प्रकृतिको शक्तिलाई पनि सम्मान गर्न बिर्सदैनन्।
“सगरमाथा आमा हुन्। उनले जे चाहान्छिन्, त्यहि हुन्छ,” उनले भने। त्यसो भन्दा पनि, हिमालप्रतिको सम्मोहन उनको स्वरमा अझै झल्कन्थ्यो।




