एक नयाँ अनुसन्धानले अस्ट्रेलियाका आधा भन्दा बढी बालबालिका पौडी कक्षा लिनका लागि नजाने देखाइरहँदा एक समूहले भने जीवन उपयोगी ज्ञान सबैले पाउन भन्ने उद्देश्यले पौडी कक्षाको आर्थिक भारलाई कम गर्ने कोसिस गरिरहेको छ।
पानीमा डुबेर मृत्यु हुने घटनालाई कम गर्न मनाइने वर्ल्ड ड्रोनिङ्ग प्रिभेन्सन डेको अवसर पारेर ओलम्पिक पौडीबाज अल्का वालनले एक यस्तो कार्यक्रम सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् जसले पौडी सिक्न चाहने बालबालिकाहरूलाई आर्थिक रूपमा सहयोग गर्नेछ।
'स्विम इट फरवार्ड' नामक कार्यक्रमले पौडी सिक्न चाहने बालबालिकालाई शुल्क तिर्न मद्दत गर्ने लक्ष्य लिएको छ।
“मानिसहरूलाई यी ज्ञान लिन जरुरी छ, पौडी खेल्दा कसरी भित्तामा पुग्ने, बबल ब्रेथ कसरी गर्ने भन्ने जस्ता कुराहरू आजका दिनमा धेरै महत्त्वपूर्ण छन्, र हामी मानिसहरूलाई सुरुवात गर्न अनुरोध गरिरहेका छौ, विशेष गरी आर्थिक रूपमा सहयोग चाहिनेहरूलाई,” उनले भनिन्।
एक तथ्याङ्कका अनुसार अस्ट्रेलियाका करिब ५५ प्रतिशत बालबालिका पौडी कक्षामा समावेश भएका छैनन्, र यसको कारण भनेको बढ्दो जीवनयापनको लागत भएको बताइन्छ।
गत वर्ष पानीमा डुब्ने घटनामा ३०० मानिसले ज्यान गुमाएका छन् र यो अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढी हो।
ओलम्पिकमा सिल्भर र ब्रोन्ज मेडल जित्न सफल म्याट वेल्स धेरै बालबालिका दुई बर्से कोरोना प्रतिबन्धका कारण पनि पौडी कक्षामा नगएको बताउँछन्।

तर अब भने पुनः कक्षामा भर्ती हुने समय आएको उनको भनाई छ।
“आधा भन्दा बढी बालबालिकाले महँगो भएर पौडी कक्षामा भाग लिएका छैनन्, अहिले आएका केटाकेटीले पनि विगत दुई वर्ष पौडी कक्षामा भाग लिन सकेनन्, बालबालिका विशेष गरी पाँच वर्ष मुनीका बालबालिका पानीमा डुब्ने घटना पनि लगभग चार गुणा बढेको छ,” उनले भने।
महामारीका बेला करिब ८० लाख पौडी कक्षाहरू विद्यार्थीले गुमाएको बताइन्छ।
ओलम्पिकमा विभिन्न मेडल पाएका पौडीबाज एन्ड्रु लोर्टर स्टिनले पौडी कक्षा दिने धेरै वटा विद्यालयहरू सञ्चालन गर्दछन्।
सबै बालबालिकाले पौडी जान्न पर्ने महत्त्व पहिले भन्दा पनि बढ्दै गएको उनको भनाई छ।
“एउटा सेसनमा ३० मिनेट सिक्दा पौडी सिक्न धेरै समय लाग्छ, त्यसैले पनि गर्मी सुरु हुनुभन्दा अगाडी नै तयारी हुन अहिले नै कक्षा सुरु गरी हाल्नुपर्छ,” उनले भने।
विश्वभर बर्सेनि २३६,००० मानिसहरू पानीमा डुब्ने गर्दछन्, बालबालिका र वयस्कहरूको मृत्युको १० मुख्य कारण मध्ये यो पनि पर्ने बताइन्छ।





