जनवरी, फेब्रुअरी र मार्च सामान्यतया भन्दा बढी सुख्खा र गर्मी हुने मौसमी पूर्वानुमान रहेको बताउँदै मौसमविद् विमल केसीले हावाको बहावका कारणले गर्दा पनि त्यस्ता डढेलोहरूलाई बढावा पुग्ने बताए।
तटीय क्षेत्रहरूमा सो डढेलोको धुवाँ ल्याउन पनि हावा चल्ने प्रकृतिले भूमिका खेल्ने उनको भनाइ छ।

सिड्नीको उत्तर पश्चिमी गस्पर्स माउन्टेनमा लागेको डढेलो नियन्त्रणमा लिन अझै हप्तौँ लाग्न सक्ने न्यु साउथ वेल्स अग्नि सेवाले जनाएको छ।
यस्तो अवस्थामा एक मात्र डढेलो नियन्त्रणको आशा बनेको छ वर्षा।
पछिल्ला केहि दिन देखि न्यु साउथ वेल्स भरि नै अनुभव गरिएको वायु प्रदुषण नियन्त्रणमा पनि वर्षाले ठुलो भूमिका खेल्ने बताइदा अझै केही दिन वर्षा हुने सम्भावना नरहेको बताइएको छ।
मौसम विज्ञान विभागको पूर्वानुमानलाई हेर्दा सप्ताह अन्त्यमा केही राहत मिले पनि आगामी हप्ताको सुरुवातमा नै मौसम फेरी बिग्रने देखिएको छ।

मौसमविद् केसीले फाट्टफुट्ट पानी पर्ने सम्भावना भए पनि ठुलो वर्षा हुने सम्भावना भने एक हप्ता भरि नदेखिएको बताएका छन्।
"समुन्द्रको नजिक नजिक छेउहरूमा अलिकति पानी परे पनि खास ठुलो पानी पर्ने सम्भावना चाहिँ यो एक हप्तालाई देखिएको छैन।"
पछिल्लो डढेलो अवस्था :
दमकल सेवाका कर्मचारीहरू गस्पर्स माउन्टेनमा लागेको 'मेगा फायर' नाम दिइएको डढेलो अन्य छेउछाउका डढेलोहरू सँग मिसिदा यो गस्फर्ड तर्फ अघि बढ्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
"अहिले सम्म यी डढेलोहरूले लगभग ३ लाख ३५ हजार हेक्टर क्षेत्र नष्ट गरिसकेका छन्।" ग्रामीण अग्नि सेवा वा आर-एफ-एस ले शुक्रवार जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

शुक्रवार मात्र एक समयमा नै ९ वटा डढेलो आपतकालिन स्तरका थिए भने १०० भन्दा बढी डढेलोका घटना भएका थिए।
यसपालिको डढेलो सिजनको सुरुवात सँगै १००० घरहरू ध्वस्त भएका छन् भने ५००० घरहरूलाई डढेलोबाट जोगाउन सफल भएको ग्रामीण अग्नि सेवाले शुक्रवार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।
डढेलोले जन धनको क्षति पुर्याएको त छ नै साथमा लगातार केही दिन देखि धुवाँ युक्त वायुका कारण स्वास्थ्य चिन्ता मौसम विज्ञान विभागको फेसबुक पेजमा न्यु साउथ वेल्स, क्विन्सल्याण्ड र दक्षिण अस्ट्रेलियाका डढेलो प्रभावित क्षेत्रहरूमा आगामी तिन दिन सम्म आगो जोखिमलाई अत्यन्त उच्च र गम्भीर भनी वर्गीकृत गरिएको जनाइएको छ।
त्यस्तै पश्चिम अस्ट्रेलियामा अत्यन्त जोखिम रहेको भन्दै शनिवार सो राज्यका केही भागमा डढेलो जोखिम बढेर अत्यधिक देखि विपत्तिपूर्ण हुने पनि लेखिएको छ। अवस्थालाई हेर्दा सामान्य भन्दा सुख्खा र गर्मीको सिजन केही लम्बिएको भने देखिन्छ।
शनिवार न्यु साउथ वेल्सका सुदूर उत्तरी तटीय क्षेत्रहरू न्यु इङ्गल्याण्ड, ग्रेटर हन्टर, ग्रेटर सिड्नी, मध्य भेग तथा उत्तर पश्चिमी क्षेत्रमा घर बाहिर खुल्ला स्थानमा पूर्णतया आगो बाल्न प्रतिबन्ध लगाइएको छ।
न्यु साउथ वेल्समा लागेको आगो निभाउन सघाउन अमेरिकाबाट २१ जना अग्नि सेवाका अधिकारीहरू शनिवार बिहान सिड्नीमा आइपुगेका छन्।
यसअघि नै छिमेकी राष्ट्र न्युजिल्याण्ड र क्यानाडाबाट अग्नि नियन्त्रकहरूको टोली आइपुगि सकेका छन्।
धुवाँले ढाकिएको सिड्नी:
न्यु साउथ वेल्सका विभिन्न स्थानमा बलिरहेका डढेलोहरूका कारण अत्यधिक मात्रामा उत्पन्न भएको धुवाँ वायुमण्डलमा भरिदा सिड्नी नै धुवाँले ढाकिएको जस्तो देखिएको छ।
मौसम विद् विमल केसीले एसबिएस नेपाली सँग कुरा गर्दै धुवाँको कारण साथै न्यु साउथ वेल्सको पश्चिमी भागबाट धुलोका कणहरू आएका कारण पनि यो वायु प्रदूषण भएको बताएका छन्।

"यो सिजन चाहिँ गर्मी र सुख्खा सिजन भएको कारणले गर्दा खेरि सामान्यतया अस्ट्रेलियन महाद्वीपमा डढेलो लाग्ने सम्भावना बढी नै हुन्छ र डढेलो लाग्ने बित्तिकै त्यहाँबाट आउने धुवाँ ले गर्दा वायु प्रदूषण हुनु सामान्य नै हो।"
मौसम विज्ञान विभागले सामाजिक सञ्जाल मार्फत धुवाँको असर पूर्वी क्विन्सल्याण्ड र न्यु साउथ वेल्सको ठुलो क्षेत्रमा देखिने क्रमले निरन्तरता पाउने जनाएको भए पनि पूर्वी हावा विकास हुँदै जाँदा सिड्नीको अवस्थामा भने शनिवार देखि केही सुधार आउने भनिएको छ।
न्यून वायु गुणस्तर भएको समयमा श्वासप्रश्वास सम्बन्धी रोगी, बालबालिका तथा वृद्ध बृद्धालाई असर पुर्याउने भएकाले यस्तो समयमा निरन्तर रूपमा पछिल्ला सूचनाहरू बारे जानकार रहनु पर्ने पनि मौसम विद् विमल केसी बताउँछन्।
उनका अनुसार सर्वसाधारणको जानकारीका लागी कुनै सहर वा क्षेत्रको मौसमी पूर्वानुमान गरिएकै तल तिर न्यून गुणस्तरको वायु भएको कुरालाई पनि उल्लेख गरिएको हुन्छ।
"त्यस्तो वायु गुणस्तर न्यून छ भने मौसम पूर्वानुमान गरिएकै मुनि चाहिँ ' पुअर एयर क्वालिटी अलर्ट' भनेर दिइराखेको हुन्छ। जसलाई उद्योग तथा वातावरण योजना विभागले जारी गर्छ र मौसम विज्ञान विभागको पूर्वानुमानमा राखिएको हुन्छ।"

डढेलो सिजन र कारण :
अस्ट्रेलियाका धेरै स्थानहरूमा सेप्टेम्बर देखि सुरु हुने स्प्रिङ सिजन देखि नै डढेलोको सिजन पनि सुरु हुने मौसम विद् केसीले बताएका छन्।
उनी भन्छन् सामान्य तया ६ महिना रहने यो डढेलो जोखिमको अवस्था पछिल्लो समयमा भने अलि लम्बिएर ६ देखि ८ महिना सम्म पुगेको देखिन्छ।
"स्प्रिङ (सेप्टेम्बर - अक्टोबर) सुरु हुने देखि लिएर समर (डिसेम्बर-फेब्रुअरी) अनि त्यस पछि अटम (मार्च- मे) को आधा आधि सम्म चाहिँ सामान्यतया अस्ट्रेलियामा डढेलो लाग्ने सिजन भनिन्छ।"
तर यो पटक मात्र सुख्खा अवस्था छिटो सुरु भएको भने मान्दैनन् विमल केसी।
उनका अनुसार हावापानीको प्रकृतिलाई हेर्दा सुख्खा र गर्मीको समयावधि भने बढेको पाइन्छ।

गर्मी र सुख्खा मौसममा कुनै पनि कारणले आगो लाग्यो भने त्यसले ठुलो रूप लिने विमल केसीको भनाइ छ।
अस्ट्रेलियामा विशेष गरी मानव त्रुटि वा जानी जानी आगो लगाउने साथै अन्य प्राकृतिक कारणहरूले पनि आगो लाग्न सुरु हुने गरेको देखिन्छ।
केसी भन्छन्, "कुनै कुनै आगो मान्छेहरूले बाली दिन्छन्, कुनै कुनै आगोहरू चट्याङहरू पर्दा खेरि एकदमै सुख्खा झारपातमा आगो लाग्न सक्ने हुन्छ। र यो सुख्खा, गर्मी र हावा लागेको अवस्थामा कुनै पनि कारणले आगो लाग्यो भने त्यसलाई नियन्त्रण गर्न एकदमै गाह्रो हुन्छ।"





