अन्तर्राष्ट्रिय मुद्रा कोषले अन्य मुलुक भन्दा अस्ट्रेलिया कोरोनाभाइरस महामारीको असरबाट चाडै निस्कन सक्ने सम्भावना रहेको बताउँदै गर्दा आर्थिक मुद्दालाई अगाडी बढाउन आवश्यक दक्ष कामदारको भने यहाँ अभाव देखिएको छ ।
अस्ट्रेलियन चेम्बर अफ कमर्स र इन्डस्ट्रिजले मोरिसन सरकार समक्ष दक्ष कामदारहरूका लागि बाटो सहज बनाइदिन विशेष आग्रह गरेको छ ।
लामो समयसम्म जारी अन्तर्राष्ट्रिय सीमा बन्दको असर व्यवसायीहरूमा देखिएको कारण, सरकार समक्ष कामदार भित्राउन सहज वातावरण बनाइदिन आग्रह गरिएको हो।
आप्रवासन सम्बन्धी संयुक्त स्थायी समिति समक्ष पत्र बुझाउँदै उक्त सङ्घले, महामारीबाट बाहिर निस्कँदै गर्दा, दक्ष कामदारको अभावमा व्यवसायहरूमा गम्भीर असर परिरहेको बताएको छ ।
प्रमुख कार्यकारी जेनी ल्यामबार्ट भन्छिन् कि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा लामो समयसम्म बन्द गरिदिँदा पनि सिप अभाव थपिएको छ।
नर्स, जनरल प्राक्टीसनर, सफ्टवेयर इन्जिनियर, सोसल वर्कर लगायत १८ वटा पेसाहरूलाई हाल सरकारले दक्ष कामदारको सुचीमा राखेको छ।
यी पेसाकर्मी अस्ट्रेलियाको आर्थिक सुधारका लागि आवश्यक रहेको मोरिसन सरकारको भनाई छ।
तर कार्यकारी प्रमुख लाम्बार्ट भन्छिन्, सरकारले दक्ष कामदारको सुचीको क्षेत्रमा बिस्तार गर्नु आवश्यक छ ।
उनी भन्छिन् सीमा बन्दका कारण रिजनल क्षेत्रले पनि भार वहन गर्नु परिरहेको छ किनकि कृषि तथा हस्पिट्यालिटी भनिने आतिथ्य व्यवसाय यस्ता मौसमी कामदारहरूमा निर्भर रहन्छ ।
तर अर्थविद् सारा हन्टर भने दक्ष कामदारको कमीले आर्थिक वृद्धिमा ठुलो असर पुर्याउँछ भन्ने कुराको निक्यौल गर्न अहिले हतार गर्न नहुने बताउँछिन् ।
कम्तीमा पनि ६ महिनाको तथ्याङ्क हेरेपछि मात्र श्रमिकको अभावले आर्थिक बृद्धीलाई नकारात्मक असर गर्छ वा गर्दैन भन्ने थाहा हुने उनी बताउँछिन् ।
उद्योग वाणिज्य सङ्घले सरकारलाई कामदार भित्रँदा जोखिम सिर्जना नहुने गरी आवश्यक व्यवस्थापन गरी अर्थतन्त्रलाई फाइदा पुर्याउने कार्य गर्न आग्रह गरिरहेको छ ।
दक्ष कामदार भित्र्याउने सरकारी प्रावधान एकदमै जटिल र खर्चिलो भएका कारण यसमा पनि परिवर्तनका लागि आग्रह गरिरहेका छन् ।





