माघ महिनामा नेपालका धेरै हिन्दु धर्मावलम्बीले स्वस्थानीको पुस्तक पढ्दै व्रत बस्ने गरेका छन्।
विशेष गरी काठमान्डुको साँखुलाई स्वस्थानीको पुस्तकमा वर्णित स्थान भनेर भक्तजनहरू साँखुको शाली नदीमा नुहाउन जाने गरेका छन्।
तर पछिल्ला दिनहरूमा स्वस्थानीको पुस्तकले महिलामाथि विभेद गरेको भन्दै यसको व्यापक विरोध हुँदै आएको छ।
यस पुस्तकमा हाँस्ने, बोल्ने र विरोध प्रकट गर्ने महिलालाई नकारात्मक चित्रण गरिएको छ।

यति हुँदाहुँदै पनि स्वस्थानीप्रति भक्तजनहरूको प्रगाढ आस्था देखिन्छ।
यस वर्ष पनि साँखुमा १२५ जना व्रतालु एक महिना चोखो खाने, नाङ्गो खुट्टाले हिँड्ने लगायतका कठिन नियम भएको स्वस्थानी र माधवनारायणको व्रत बसेका छन्।
पनौतीकी २७ वर्षीय रोशनी जोशी स्वस्थानीको व्रत बस्नका लागि एक महिना साँखु नै गएर बसेकी छिन्।
उनी हालको आफ्नो दैनिकी यसरी वर्णन गर्छिन्, "बिहानै तीन-चार बजे शङ्ख फुक्न आउनुहुन्छ। त्यसपछि हामी नुहाएर शाली नदी जान्छौँ।"
त्यहाँ हामी सबै जना भेला भएर नुहाउँछौँ, गणेश पूजा गर्छौँ, अनि त्यहाँ दिनभरि बस्छौँ। त्यहीँ नित्य पूजा गरेर सहस्त्रधारा गरेर हामी घर जान्छौँ।
स्वस्थानीको यो व्रतमा निकै कठिन नियमहरू पालना गर्नुपर्ने जोशी बताउँछिन्।
"हामी हात खुट्टाको नङ पहिल्यै काटेर बसेका हुन्छौँ। जुत्ता लगाउँदैनौँ, जुत्ता लगाएका मान्छेलाई छुँदा पनि छुँदैनौँ। दिनको एक छाक मात्रै खान्छौँ, जसमा दूध, फलफूल, कन्दमूल, केराउ, उखु, लप्सी आदि पर्छन्। नुन खाँदैनौँ र नुनको नाम समेत लिँदैनौँ," उनले एसबीएस नेपालीलाई भनिन्।
भगवानमा आफ्नो आस्था भएकाले यस्तो कठिन व्रत बसेको जोशी बताउँछिन्।
मलाई स्वस्थानीको पुस्तक नकारात्मक लाग्दैन। म आफ्नो परिवारको सुखशान्तिको लागि यहाँ व्रत बस्न आएकी हुँ।
यस्तै आस्थाकै कारण नै स्वस्थानीप्रतिको भक्ति आजको समाजमा पनि कायम रहेको साँखुका संस्कृतिविद् प्रकाशमान सक्वले बताएका छन्।

तर माघ महिनामा पढिने स्वस्थानीको पुस्तकले अष्ट मातृकाको केन्द्रमा बसेकी देवीलाई पहिचान गरेको छ।
अष्ट मातृकालाई पार्वतीको रूप मानिन्छ, र त्यसै कारण स्वस्थानी शिवकी शक्ति मानिन्छिन्।
साँखुमा स्वस्थानीको लामो इतिहास रहेको छ।
करिब चार-पाँच सय वर्ष अघि जम्मा ६-७ पृष्ठको स्वस्थानी पाइन्थ्यो, जसमा गोमा नामक बालिकाको कथा मात्र पाइन्थ्यो भने आज सृष्टिको कथा, जालन्धर र तारकासुर जस्ता असुरको कथा आदि सम्मिलित गरेर ६४ अध्यायसम्मको स्वस्थानी पाइन्छ।

यी मध्ये कतिपय कथाले महिलामाथि विभेद गरेको भनेर आलोचना भइरहँदा भक्तजनहरू भने ती कथाले नैतिक शिक्षा दिएको बताउँछन्।
"कर्मको फल कसरी पाइन्छ, किन राम्रो काम र शुद्ध चित्त राख्नु पर्छ भनेर यी कथाले बताएका छन्," सक्व भन्छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।






