विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपालले न्यु साउथ वेल्सको लिन्डहर्स्टमा अस्ट्रेलियाका सबैलाई समेट्ने गरी एक 'धाम'को निर्माण गरेको छ।
विगत केही वर्षदेखि अनलाइनमा र भवनहरू भाडामा लिएर ध्यान एवम् अध्यात्मीक कार्यक्रमहरू गदै आइरहेको संस्थाले लिन्डहर्स्टमा रहेको एउटा पुरानो भवनलाई किनेर सबैका लागि खुल्ला गरेको हो।
योग, साधना र ज्ञान मार्फत जीवन परिवर्तनको मूल लक्ष्य सहित न्यु साउथ वेल्स र अस्ट्रेलियाका अन्य राज्यमा बस्ने मानिसहरूका लागि आस्थाको केन्द्रका रूपमा यसलाई स्थापना गर्न खोजिएको संस्थाले जनाएको छ।
संस्थाका तर्फबाट आर्चाय राजन शर्माले विश्वमा पछिल्लो समय देखिएको वैमनश्यता र तित्ततालाई छाडेर सहिष्णुताको भाव झल्कने स्थानको आवश्यकतालाई परिपूर्ति गर्न उक्त धामको निर्माण गरिएको बताए।
“कोही दिवङ्गत भइहाल्यो भने कहाँ गएर किरिया बस्ने, अथवा चार पाँच सय जन्ती लिएर जान चाह्यो भने कहाँ जाने? कोही आयुर्वेदिक रूपमा निको हुनु पर्यो भने कहाँ जाने?,” आर्चाय राजनले एसबीएस नेपालीसँगको कुराकानीमा भने।
“यस्ता कुराहरूलाई परिपूर्ति गर्न योगीक छहारी र ऋषि परम्पराको निरन्तरता दिन यसको सुरुवात गरिएको हो।”
यस अघि चर्च रहेको स्थानको चार एकड जमिन सहित खरिद गरिएको आचार्य राजनले बताए।

उक्त स्थानमा हाल बौद्धनाथ, पशुपति, गौशाला लगायतको संरचनाको निर्माण गरेको पनि उनले जानकारी दिए।
“प्राचीन समयमा पूर्वजहरूले आर्जन गरेमा निधिहरूलाई अभ्यास गर्ने अस्ट्रेलियामा सम्भवतः सबैभन्दा पहिलो र फराकिलो स्थान हो,” उनले भने।
उक्त धाममा योग, ध्यान साधनाका साथै, विपश्यनाको पनि सुविधा रहेको उनको भनाई छ।
आर्चाय राजन शर्मासँग गरिएको कुराकानी सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नाफा रहित संस्था भएका कारण यसलाई साझा आश्रय स्थलका रूपमा बनाइएको पनि आर्चायले बताए।

आफ्नो तनाव कम गर्न वा ध्यान गर्नका लागि जो कोही आउन सक्ने र स्वच्छीक रूपमा दान गर्न सक्ने पनि आचार्यको भनाई छ।
“यहाँ आएर आत्म आनन्दका साथ एउटा फरक खालको जिन्दगी लिएर फर्कन सक्नुहुन्छ, र यसमा कुनै सम्प्रदाय पन्थ ,ग्रुप वा वर्ग भन्दा पनि विशुद्ध मानवीय चेतनाबाट माथि उठेर सञ्चालित भएकाले हाम्रो समुदायले लाभ उठाउन सक्छन्,” आचार्य राजनले भने।





