विगत ६ वर्ष देखि न्यु साउथ वेल्सको सार्वजनिक स्वास्थ्य सेवामा कार्यरत प्रदीप आचार्यलाई राज्य सरकारले ३,००० डलरको बोनस दिने समाचारले केही राहत महसुस गराएको छ।
विगतका दुई वर्ष अहोरात्र पिपिईको सहारामा बिरामीको सेवामा खटिएको सम्झना गर्दै प्रदीपले सरकारले थोरै भए पनि स्वास्थ्य कर्मचारीलाई प्रोत्साहन गरेकोमा खुसी व्यक्त गरे।
“विगत दुई बर्षदेखिको कामको प्रेसर र अति नै बढेको महँगाइकाबीच सरकारले दिने भनेको ३,००० ले केही राहत महसुस गराएको छ,” प्रदीपले भने।
न्यु साउथ वेल्स राज्यको सार्वजनिक स्वास्थ्य क्षेत्रमा कार्यरत नर्स, मिडवाइफ र अन्य स्वास्थ्य कर्मचारीहरूलाई ३,००० डलर बोनस स्वरूप दिने राज्य सरकारले बताएको छ।
महामारीको समयमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सरकारले प्रोत्साहन स्वरूप प्रदान गर्न लागेको बोनस रकमको घोषणा पछि स्वास्थ्यकर्मीहरू केही उत्साहित बनेका हुन्।
रिपोर्ट सुन्नुहोस्।हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
यो सँगै कोभिड-१९ महामारीसँगै सर्घषशिल बनेको सार्वजनिक स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न राज्य सरकारले साढे चार अर्ब रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ।
१०,००० मेडिकल स्टाफ भर्ती गर्न र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उक्त रकम खर्चिने सरकारको भनाई छ।
दक्षिण पश्चिमी सिड्नी स्थिति व्यस्त सरकारी अस्पतालको प्राङ्गणमा प्रिमीयर डोमिनिक पेरोटेले राज्यव्यापि राहतको घोषणा गरेका छन्।
विगत साढे दुई वर्षमा कर्मचारी अभाव र बढ्दो मागका कारण शिथिल बनेको स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सरकारले योजना अघि सारेको हो।
“हामी मात्र नभएर हाम्रा सन्तान र तिनका पनि सन्तानले स्वास्थ्य सेवामा उत्कृष्ट सेवा पाउने कुरा हामी सुनिश्चित गर्नु जरुरी छ,” लिभरपुल अस्पतालको प्राङ्गणमा हालसम्मकै सबैभन्दा ठुलो योजनाको खुलासा गदै प्रिमीयरले भने।
आगामी चार वर्षको अवधिमा साढे चार अर्ब डलर खर्च गरिने प्रिमीयरले बताए।

१० हजार पूर्णकालिन कामदार भर्ना गर्नका लागि तैयारी थालिएको र अगामी वर्षसम्ममा ७६०० सय मेडिकल कर्मचारीहरू भर्ना गरिने पनि उक्त कार्यक्रममा बताइयो।
न्यु साउथ वेल्सकी रिजनल क्षेत्रका लागि स्वास्थ्य मन्त्री ब्रोनी टेलरले डाक्टर, नर्स, फिजीयोथेरापिष्ट, स्पिच प्याथलोजिष्ट जस्ता स्वास्थ्य कर्मचारीहरू आवश्यक रहेको बताइन्।
त्यसै कार्यक्रममा राज्यका सार्वजनिक स्वास्थ्य कर्मचारीहरूलाई कोभिड-१९ सङ्क्रमणको महामारीका बेला देखाएको सदाशयताका लागि धन्यवाद स्वरूप ३,००० डलरको बोनस पनि वितरण गरिने पनि बताइएको हो।
यस अघि राज्यको एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न थप १.७ अर्ब डलर खर्च गर्ने सरकारले बताई सकेको थियो।
कर्मचारी र युनियनहरूको लगातारको ताकेता पछि सरकार यो निर्णयमा पुगेको बताइन्छ।
न्यु साउथ वेल्सको नर्स एवम् मिडवाईफ एसोसिएसनका माइकल ह्वाइट्स भने सरकारी योजना विस्तृत नभएको र दीर्घकालीन समाधानका लागि नआएको बताउँछन्।
“जबसम्म नर्स र मिडवाईफको प्रत्येक सिफ्टमा कर्मचारीको वास्तविक सङ्ख्यामा वृद्धि हुँदैन, तबसम्म यो घोषणा खोक्रो हुनेछ,” उनले भने।
यो सँगै राज्यको सार्वजनिक क्षेत्रको ज्यालामा पनि वृद्धि गर्ने तैयारी गरिएको छ।
चालु आर्थिक वर्षमा २.५ देखि ३ प्रतिशतसम्म पारिश्रमिक बढाउने तैयारी भएको छ। यद्यपि कर्मचारीको उत्पादकत्वमा वृद्धि भए अर्को वर्ष साढे तीन प्रतिशत पुर्याउने सरकारी योजना छ।
यद्यपि युनियनले भने राज्य सरकारको ३ प्रतिशत तलवबृद्धी गर्ने निर्णय हालको मुद्रास्फितीदरको तुलनामा निकै कम रहेको भन्दै हड्ताललाई जारी राख्ने बताइरहेका छन्।







