लिबरल नेता म्याथ्यु गाइको य सप्ताहान्तका लागि एउटै मात्र धोको थियो, यसपालिको चुनाव जितेर सत्तामा जाने।
तर विपक्षी गठबन्धनको सत्ता प्राप्तिको इच्छा पुनः यसपालि पनि अधुरै रहने भएको छ।
यो रिपोर्ट तयार पारुन्जेल भिक्टोरियाली निर्वाचन आयोगले औपचारिक घोषणा त गरिसकेको छैन तर विश्लेषकहरूको कुरा मान्ने हो भने गन्न बाँकी भएका मतको रुझान हेर्दा लिबरल-नेश्नल्स सत्तामा आउने कुनै सङ्केत छैन।
चुनाव अघिसम्म लेबरले पूर्ण बहुमतका साथ फर्किन्छ कि फर्किँदैन भन्ने प्रश्न धेरैको मनमा थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
हालसम्मको नतिजाहरूलाई हेर्दा लेबरले कम्तीमा पनि ५१ सिटमा जित हासिले गर्ने बताइएको छ, र यो उपलब्धिसँगै प्रिमियर ड्यानिएल एन्ड्रुजले अन्य दल तथा स्वतन्त्र सांसदहरूको सहयोग बिना नै नयाँ सरकार गठन गर्ने हैसियत पाउनेछन्।
लेबरको विजयी हुने सम्भावनाका बिच मेलबर्नमा रहेको अस्ट्रेलियन लेबर पार्टी वा एएलपीको चुनावी मुख्यालयमा समर्थकहरू निकै उत्साहित मुद्रामा छन्।
अनि, प्रिमियर एन्ड्रुजले अर्को एक ऐतिहासिक समूहमा पनि आफ्नो नाम लेखाउन सफल भएका छन्।
लेबरको लगभग निश्चित जितसँगै ३,००० दिन भन्दा बढी भिक्टोरियाको प्रिमियर भएर काम गर्न पाउने उनी केवल पाँचौँ व्यक्ति हुन्।
कोभिड महामारीका बेला गरिएका लकडाउन सम्बन्धी निर्णयहरूका कारण लेबरले चुनावमा भोट गुमाउला भनेर केही विश्लेषकहरूले भन्दै आएका थिए तर त्यो डर पनि समाप्त भएको देखिएको छ।
यसका साथै उनले अब आफ्नो नेतृत्वमा बन्ने नयाँ सरकारले पार्टीगत रूपमा भन्दा पनि सबै भिक्टोरियालीको हितलाई ध्यानमा राखेर काम गर्ने बताएका छन्।

उता, हार स्वीकार गर्दै भिक्टोरियाली लिबरल नेता म्याथ्यु गाई भन्छन् कि अबको समय हिजो के भयो भनेर हेर्नुभन्दा पनि आउँदा दिनहरू भिक्टोरियावासीका लागि के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बताउँछन्।
आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले चुनावी नतिजा नराम्रो भएता पनि आत्तिइहाल्नुपर्ने स्थिति नरहेको स्पष्ट पारे।
अघिल्लो पटक दुई स्वतन्त्र सांसदहरू रहेको सिटमा लिबरल पार्टीले यसपालिको भिक्टोरियाली निर्वाचनमा जित हासिल गरेता पनि केही अन्य स्वतन्त्र उम्मेद्बारहरूले पनि आफ्नो विजयी उत्सव मनाउने अवसर पाएका छन्।
टील भनेर परिचित ग्रिन्स र लिबरल पार्टी बिचको मध्य धारलाई प्रतिनिधित्व गर्ने दुई स्वतन्त्र उम्मेदवारहरूले यसपालि लेबर र लिबरल पार्टीलाई हराउँदै भिक्टोरियाली संसद्मा आफ्नो स्थान पक्का गरेका छन्।
मेलिसा लोले हथर्नमा लेबरबाट र मर्निङटनमा लिबरलबाट केट लार्डनरले जितका छन्।
ग्रिन्स पार्टीले पनि यसपालिको भिक्टोरियाली चुनावमा गति पक्डेको देखिएको छ।
मेलबर्न, ब्रन्सविक र प्रारनका सिटहरू सुरक्षित राख्दै ग्रिन्सले लेबरको पकडमा रहेका नर्थकोट र रिचमन्डमा विजयी हुने लगभग पक्का छ।

यसरी सिट थप्न सफल भएपछि ग्रिन्सकी भिक्टोरियाली नेतृ समान्था रत्नम् हौसिएकी देखिन्छिन्।
उनी भन्छिन् कि यी नतिजाले अब भिक्टोरियामा दुई पार्टी प्रणाली खत्तम हुन थालेको सङ्केत गरेको छ।
चुनाव अघि रत्नम्ले दुई पार्टीको भ्रमबाट निस्केर मतदाताहरूले आफ्नो दललाई भोट दिने बताएकी थिइन्।
केही समय अघि राजनीतिबाट संन्यास लिएका पूर्व उप-प्रिमियर जेम्स मेलिनो भन्छन् कि यसपालिको नतिजा भनेको मतदाताहरूले उग्र राजनैतिक चिन्तन बोकेका उम्मेदवारहरूलाई नकारेको रूपमा बुझ्नुपर्छ।









