अस्ट्रेलियाली नागरिकको जोडीको रूपमा यहाँ आउन गत बर्षमात्र लगभग ४० हजार पार्टनर भिसा दिइएको तथ्याङ्क रहेको छ।
तर घरबाट टाढा रहनु र अस्ट्रेलियामा पनि अस्थायी भिसामा भएको बेला यदि उक्त प्रेम सम्बन्ध हिंसात्मक भयो भने के गर्ने ?
विवाह सिम्रनजित कौरका लागी पनि धेरै युवतीहरूका लागी जस्तै निकै विशेष दिन थियो।
विवाह गरेको सुरुवाती दिनहरूमा सिम्रनजितले आफ्नो श्रीमानको राम्रो रूप मात्र देखेकी थिइन।
"उनी मेरो धेरै ध्यान पुर्याउथे, जब मैले पहिलो पटक भेटे, उनले मलाई बाचा गरेका थिए कि मलाई खुसी राख्ने छन् त्यसैले मैले पनि सोचे कि उनी असल मान्छे हुन्।"
उनीहरूको भेट भारतमा भएको थियो। उनीहरूको परिवारले पनि एक अर्कालाई चिनेका कारण यो सबैभन्दा उत्तम जोडी जस्तो देखिएको थियो।
उनका पति अस्ट्रेलियाका नागरिक थिए र एक वर्ष भित्र उनले सिम्रनजितलाई प्रायोजन गरेपछि पार्टनर भिसामा अस्ट्रेलिया आउन अनुमति दिइयो...

तर त्यस पछि सबै कुरा बदलियो।
"उनले मलाई आफ्नो नियन्त्रणमा राख्न थाले। उनले जे चाह्यो मैले त्यही गर्नु पर्ने,जस्तै मैले बिहान देखि राति सम्म सरसफाइ गर्नु पर्ने। मैले उनका साथी र उनका लागी खाना बनाउनु पर्ने र उनलाई हरेक रात यौन सम्पर्क गर्नु पर्ने।"
"उनले मलाई काम गर्न पनि दिएनन्, त्यसैले मसँग पैसा पनि हुँदैन थियो आफ़ूलाई मन लागेको केही किन्न, मलाई आफू बाँधिएको जस्तो लाग्न थाल्यो। म सधैँ रुन्थे र भगवानलाई सहयोग गर्न प्रार्थना गर्थे। कहिले काहीँ त म मर्ने बारे पनि सोच्थे।"
अस्ट्रेलियामा प्रत्येक ६ मध्ये १ महिला आफ्नो पार्टनरबाट शारीरिक वा यौन हिंसा बाट गुज्रनु पर्दछ। र यो दर पुरुषमा भने प्रत्येक १६ मा १ जना रहेको छ।
तर यहाँ के चाहिँ थाहा छैन भने कति सङ्ख्यामा यस्ता हिंसा पीडितहरू प्रेमको लागी अस्ट्रेलिया आएका छन्... र उनीहरू अस्थायी भिसामा रहेका छन् र त्यो पनि आफ्नो पीडक पार्टनरले प्रायोजन गरेर पाइएको छ।
सामाजिक कार्यकर्ता जतिंदर कौर पनि सिम्रनजित जस्तै पीडितहरूका लागी काम गर्छिन्।
"अहिलेको समयमा यहाँको अध्यागमन प्रणालीमा, श्रीमान् प्राथमिक प्रायोजक हुनेछन्, त्यसैले घरमा हिंसा भएमा वा श्रीमतीसँग खुसी नभएमा उनले यसलाई प्रयोग गरेर धम्की दिने गर्छन्।"
"यदि कसैसँग कुरा गरे, म भिसा रद्द गरिदिन्छु, अध्यागमन विभाग बाट फाइल फिर्ता गर्छु भनेर धम्की दिन्छन्।"
प्राय कमजोर अङ्ग्रेजी र अस्ट्रेलियाको कानुनी सहायता सेवाहरू बारे जानकारी नहुँदा पीडितहरूलाई कहाँ गएर सहयोग लिने भन्ने थाहा हुँदैन।
उनीहरूलाई आफ्नै देशमा फर्काइने हो कि भन्ने चिन्ता हुन्छ। र त्यहाँ फर्किएर समाज र परिवारबाट अपहेलित हुने डर हुन्छ।

जतिंदर कौर भन्छिन्, बसाइसराइ सम्बन्धी कानुनमा पारिवारिक हिंसा भएको खण्डमा केही अस्थायी भिसा भएकाहरूले हिंसात्मक सम्बन्ध छोडी सके पछि पनि अस्ट्रेलियामा नै बस्न पाउने व्यवस्था रहेको छ।
यस्तो व्यवस्था भए पनि अध्यागमन विभागमा सो मुद्दा हाल्ने प्रक्रिया जटिल हुन सक्ने उनको भनाइ रहेको छ ।
"तपाइले घरेलु हिंसाको आदेशका लागी आवेदन हाल्नु पर्छ वा स्वास्थ्य परीक्षण प्रमाण वा प्रत्यक्षदर्शीहरूको भनाइ, त्यसैले पीडितबाट यी सबै जानकारीहरू प्राप्त गर्न र अध्यागमनमा बुझाउन निकै गाह्रो हुन्छ।"
चेन यन्होङ्गको पनि हिंसात्मक सम्बन्ध रहेको थियो।
पीडक, उनका दोस्रा श्रीमान्, ले नै उनको भिसाको प्रायोजन गरेका थिए।
उनको अहिले स्थायी बसोबास भिसा रहेको छ, तर उनलाई के लाग्छ भने यदि सहयोग सेवा र उनको यो विषय हेर्ने सामाजिक कार्यकर्ताहरू नभएको भए यो सम्भव हुँदैन थियो।
उनी अन्य पीडितहरूलाई पनि पार्टनरबाट हुने हिंसा सहेर बस्नु भन्दा सहयोग सेवा लिन प्रोत्साहित गर्छिन्।
"मलाई लाग्छ अस्ट्रेलिया धेरै राम्रो देश हो, सबै मान्छे, धेरै मान्छेहरू बुझ्ने खालका र ध्यान पुर्याउने खालका छन् धेरै व्यावसायिक रूपमा, उनीहरू मानिसहरूलाई सहयोग गर्छन्।"






