मेलर्वन काउन्सिलको खेल मैदान अहिले धेरै आप्रवासीका लागि सांस्कृतिक आदान प्रदान र विविधताको महत्त्वपूर्ण थलो बनिरहेको छ।
र यसलाई सम्भव बनाएको छ, मेलबर्न सोसीयल सकर नामक एक समूहले।
शनिवारको सदुपयोगका लागि सानो सङ्ख्याबाट सुरु भएको मेलर्वन सोसीयल सकर अहिले भिक्टोरियाको सबैभन्दा ठुलो फुटबल क्लब बनिसकेको छ।
क्लबका सह-संस्थापक माइकल मर्काथर अन्तर्राष्ट्रिय विद्यार्थी, ब्याग प्याकर्स र नयाँ आएका आप्रवासीका लागि साथी भेट्ने र आफ्नो देशमा रुचि भएको खेललाई अगाडी बढाउने सुरक्षित थलोका रूपमा क्लबको विकास भएको बताउँछन्।
हामी तालिम दिँदैनौ, हामी शनिवार वा अन्य कुनै दिन भेला हुन्छौ, यो मनोरञ्जनका लागि खेल्ने गरिन्छ, यसमा कम्पिटिसन त हुन्छ, तर त्यस्तो कुनै खास उद्देश्य चाहिँ हुँदैनमाइकल मर्काथर एमएसएस सह संस्थापक
क्लबमा आबद्ध हुनका लागि १० डलर शुल्क लिइने भए पनि कुनै विशेष योग्यता र खेल सम्बन्धी सिप भने चाहीदैन्।
तर बिमा प्रयोजनका लागि उमेरमा १८ वर्ष भने पुगेको हुनुपर्छ। यहाँ खेल्न आउने खेलाडी २० वर्ष देखि ५० वर्ष माथि सम्मका छन्।
पछिल्लो समय शनिवारका दिन महिलाहरूको ठुलो समूह पनि त्यहाँ खेलका लागि पुग्ने गरेको छ।

बहु सांस्कृतिक पुष्ठभुमीका महिलाहरूलाई खेलले कसरी फाइदा पुर्याउँछ त?
बहु सांस्कृतिक पुष्ठभुमीका महिलाहरू पनि अहिले विभिन्न खेलमा समावेश भइरहेका छन्।
मल्टी कल्चरल वुमन इन स्पोर्टस नामक महिलाहरूलाई खेलका लागि प्रोत्साहन गर्ने संस्थाकी संस्थापक मोलिना अस्थानी महिलाहरूको सशक्तीकरण, कल्याण र समाजमा आफ्नोपनको महसुस गराउन खेलले मद्दत गर्ने बताउँछिन्।
यस्ता खेल कार्यक्रमले महिलाहरूले भोग्दै आएका सामाजिक, सांस्कृतिक र आर्थिक अवरोधहरूलाई हटाउने उनले बताइन्।
“सांस्कृतिक पृष्ठभूमि अनुसार फरक पर्ने भएता पनि, धेरै समुदायमा भने लैङ्गिक अवधारणहरू कायम नै हुन्छन्,” उनले भनिन्।
“खेलको संस्कृति हेर्न हो भने पनि यसमा पुरुषहरू नै हाबी देखिन्छन् ...त्यहाँ आर्थिक अवरोधहरू पनि कायम छन्, त्यसैले खेल महिलाहरूको अन्तिम प्राथमिकतामा पर्छन्,” उनले थपिन।
मल्टी कल्चरल वुमन इन स्पोर्टसले महिलाहरूलाई विशेष ध्यानमा राख्दै, ट्रेनर वा कोचमा पनि महिलाहरूकै व्यवस्था गरेको छ।
बालबालिका भएका महिलाहरूका लागि लचिलो खेल तालिका निर्माण गर्ने र परम्परागत आफ्नै कपडामा खेल्न मिल्ने व्यवस्था गर्नेसम्म संस्थाले गर्दै आएको छ।
अस्ट्रेलियामा काम र जीवनलाई व्यवस्थापन गर्न पनि खेलको आवश्यकता पर्नेमा अस्थानी जोड दिन्छिन्।
यसले तपाईँलाई निर्धक्क बनाउँछ, आत्मबल बढाउँछ र शक्ति प्रदान गर्छ, नयाँ देशमा आइसोलेसन र डिप्रेसन जस्ता कुराहरूलाई हटाउन मद्दत गर्छ, खेल समूहबाट सहयोग र नराम्रा सम्बन्धबाट छुटकारा पाउन मद्दत पुर्याउँछ भने समाजमा रहेका लैङ्गिक असमानतालाई पनि चुनौती दिन्छमोलिना अस्थानी
युवाहरूमा यसले पार्ने सकारात्मक प्रभाव
सेन्टर फर मल्टी कल्चरल यूथले १२ देखि २५ वर्ष उमेर समूहका मानिसहरूका लागि खेल कार्यक्रमहरू सञ्चालन गर्छ।
स्थानीय समाजमा घुलमिल हुन र भावनात्मक सम्बन्धलाई बढाउनका लागि पनि यसले मद्दत गरेको छ।

सेन्टर फर मल्टी कल्चरल यूथका प्रोजेक्ट अफिसर जय पन्चल अस्ट्रेलियाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको खेलले स्थानीय समुदायका बारेमा पनि राम्रो ज्ञान दिने बताउँछन्।
नयाँ साथीहरू भेट्ने, स्थानीय रोजगारीका अवसरहरू पत्ता लगाउने साथै युवाहरूका लागि शारीरिक र मानसिक तन्दुरुस्तीका लागि पनि उपयोगी हुन्छजय पन्चल, प्रोजेक्ट अफिसर, सेन्टर फर मल्टी कल्चरल यूथ
उक्त संस्थाले आयोजना गर्ने विद्यालय पछिको खेल अभियान मेलर्वनको ह्युम क्षेत्रका युवाहरूलाई परिपक्वताको विकासका लागि सहयोग गर्ने यूथ ट्रान्जिसन सर्पोट प्रोगामको एक हिस्सा हो।
जसले फुटसल, भलिबल, बास्केटबल र स्विमीङ्ग जस्ता कार्यक्रमहरू सञ्चालन गर्दछ।
संस्थाले खेलमा करियर खोज्नेहरूका लागि विभिन्न तालिम पनि प्रदान गर्दछ।
खेलमा सबैको सहभागिता निश्चित गर्न सकियोस् भन्नका लागि आशक्त मानिसका लागि ह्विलचियर बास्केटबल, डिजेबिलिटी स्पोर्टस् भिक्टोरिया र वेलकमिङ्ग अस्ट्रेलिया जस्ता संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रम संस्थाले गरिरहेको छ।

आफूलाई रुचि भएको खेल छान्नुहोस्।
सामुदायिक खेलकुद प्रायजसो निःशुल्क हुन्छन् या त थोरै शुल्क लिएर सञ्चालन भएका हुन्छन्।
विद्यालयमा बढ्ने बिद्यार्थीहरुका लागि पनि स्थानीय स्तरमा विभिन्न खेल कार्यक्रम भइरहेका हुन्छन्।
स्थानीय काउन्सिलले पनि सबै उमेर र क्षमताका मानिसहरूका लागि खेल क्लब र गतिविधिहरू सञ्चालन गरिरहेको हुन्छ।
यस्ता कार्यक्रम कहाँ भइरहेका छन् भनेर जानकारी प्राप्त गर्नका लागि समाजिक संजालको प्रयोग पनि गर्न सकिन्छ।
ड्रागन बोट रेसिङदेखि पिकलबलसम्म, आफूलाई रुचि रहेको खेल छान्न सकिन्छ।
“संस्थाहरूले साईक्लिङ्ग गराउँछन्, बुशवाकिङ्गका लागि पनि संस्था छ, पार्क रन पनि छ,” मोलिना अस्थानी भन्छिन्।
“सामाजिक संस्थाहरूले खेल र सामाजिक गतिविधिलाई एकैसाथ सञ्चालन गरिरहेका हुन्छन्, आफ्नो स्थानीय समूहलाई सम्पर्क गरेर आफूलाई रुचि भएको खेल खेल्न सकिन्छ।”
युवा, वयस्क र वृद्ध जुनसुकै उमेरको भए पनि सक्रिय र तन्दुरुस्त रहनु सबैका लागि आवश्यक छ।
तर आफूलाई शारीरिक रूपमा कति सक्रिय राख्ने भन्ने कुरा चाहिँ शारीरिक अवस्था र उमेरमा निर्भर गर्छ, त्यसैले नयाँ अभ्यासमा जाँदा आफ्नो चिकित्सकसँग सल्लाह भने गर्नु पर्दछ।
आफू नजिकको खेल क्लबका बारेमा जानकारी लिन द अस्ट्रेलियन स्पोर्ट्स कमिसनमा जानुहोस्।






