कोरोना
नेपालमा विगतका केही हप्तामा घटिरहेको कोरोनाको सङ्क्रमण यस हप्ता केही बढेको देखिन्छ। गत हप्ता सक्रिय सङ्क्रमित मानिसको सङ्ख्या १००० भन्दा कम थियो भने यस हप्ता १२०० भन्दा बढी देखिन्छ। दैनिक सङ्क्रमित हुने मानिसको सङ्ख्या पनि १०० भन्दा बढी पुगेको छ, जुन गत हप्ता निकै कम थियो।
थुप्रै देशमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइरहँदा छिमेकी मुलुक भारतमा पनि सङ्क्रमितको सङ्ख्या बढेर थुप्रै सहरमा बन्दाबन्दी समेत गरिएको छ। त्यसै कारणले नेपालमा पनि सङ्क्रमण बढेको अनुमान गरिएको छ। हाल कूल सङ्क्रमितको सङ्ख्या २ लाख ७६ हजार भन्दा बढी रहेको छ।
राजनीति
प्रतिनिधिसभामा बहुमत गुमाएका प्रधानमन्त्री केपी ओलीले साना दलको समर्थन लिएर सरकारमा टिकिरहने कोसिस गर्दा सरकारका केही कदम विवादित बनेका छन्।
संसदमा बहुमत गुमाएपछि प्रधानमन्त्री ओलीले सानो दल जनता समाजवादी पार्टी (जसपा)लाई सम्मिलित गरेर बहुमतको सरकार बनाउने प्रयास गरिरहेका छन्।
तर जसपाले भने सरकारलाई समर्थन गर्नका लागि हत्याको आरोपमा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरीको रिहाइ लगायतका सर्त राखिरहेको छ।
सन् २०१५ मा ८ जनाको ज्यान जाने गरी भएको टिकापुर घटनामा अरू १० जना सहित चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर त्यसपछि फरार रहेका चौधरीले प्रतिनिधिसभाको चुनावमा भाग लिएर जितेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
राष्ट्रिय जनता पार्टीले त्यस बेला देखि नै राजनीतिक घटनालाई अपराधको संज्ञा दिइएको भन्दै विरोध गरिरहेको छ। यस हप्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जेलमा गएर चौधरीलाई भेटेका छन् भने थरुवान थरुहट समूहले चौधरीको पक्षमा प्रदर्शन गरिरहेको ठाउँमा गएर गृहमन्त्री रामबहादुर थापाले यस्तो आश्वासन दिएका थिए।
यो पनि पढ्नुहोस्:

'सङ्घर्ष छैन त जीवन नै छैन': भुटानी शरणार्थीको अस्ट्रेलियन कथा
"तपाईंहरुले जुन विषय उठाउनु भएको छ, ती विषयप्रति सरकारको सकारात्मक धारणा नै छ। यसलाई समाधान गर्नको निम्ति सरकारले छिटै एउटा वार्ता टोली गठन गर्छ। तपाईँहरूले पनि वार्ता टोली गठन गरौँ, र यसलाई संवाद तथा वार्ताद्वारा नै हल गर्नु उपयुक्त हुन्छ।"
राजनीतिक अनुकूलताका लागि सरकारले हत्याका दोषीलाई उन्मुक्ति दिन लागेको भन्दै मृतकका आफन्तले यस कदमको विरोध गरिरहेका छन्। जसपाको समर्थन हुने बित्तिकै प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने अनुमान गरिएको छ।
हाल प्रतिनिधिसभा पुनर्स्थापित भएता पनि यसले खासै काम गरिरहेको छैन, र गत डिसेम्बरमा संसद विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्रीले त्यो कदम सही देखाउन र बिस्तारै चुनावको माहोल बनाउन सांसदलाई सक्रिय नबनाएको आरोप विपक्षीहरूले लगाइरहेका छन्।
वायु प्रदूषण
अन्तर्राष्ट्रिय वायु गुणस्तर सूचकाङ्क अर्थात् एक्यूआईका अनुसार काठमाडौँ यस हप्ता संसारकै सबैभन्दा प्रदूषित सहर देखिएको छ। यस हप्ता काठमाडौँको एक्यूआई ४७० पुगेको छ, जबकी यो सूचक ३०० भन्दा माथि पुग्यो भने हानिकारक मानिन्छ। शुक्रबार काठमाडौँको वायुमण्डलमा अकस्मात परिवर्तन भएर आयो।
आकाशमा तुवाँलो लागेको जस्तो देखियो र सर्वसाधारणले आँखा पोलेको महसुस गरे। वातावरणविदहरुले पनि यसमा आपत्ति जनाएका छन्। केही आन्तरिक हवाई सेवा अवरुद्ध गरिए र केही उडानलाई निर्धारित भन्दा फरक एयरपोर्टमा अवतरण गराउनु पर्यो।

गर्मी तथा सुक्खा मौसम भएको कारणले देशका विभिन्न भूभागका जङ्गलमा एकै दिन करिब ५०० ठाउँमा आगलागी भएपछि धुवाँको मात्रा बढेर यस्तो भएको विज्ञहरूले दाबी गरेका छन् ।
सवारीसाधनको चाप, ईँटाभट्टा, अन्य फ्याक्ट्री र विभिन्न निर्माण कार्यक्रम पनि बढ्दो प्रदूषणको कारण रहेको बताइन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस समयमा सावधान रहन भन्दै विज्ञप्ति जारी गरेको छ, र केही दिन घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।
पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर
सरकारले देश पशुपक्षीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । यस हप्ता एउटा कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्याल भन्छिन्
“नेपालमा पहिलो पटक कृषि पशुपक्षी विकास मन्त्रालयको तर्फबाट हाम्रा उत्पादनहरूको केही क्षेत्रहरूमा आत्मनिर्भरता भयौँ भनेर हामीले घोषणा गरेका छौँ ।”

सरकारले अब नेपालमा मासु, अण्डा, धुले दूध र बटरमा आगामी दिनहरूमा यसै गरी आत्मनिर्भरता कायमा रहने बताएको छ। केही व्यवसायी सङ्घका सदस्यले यो कुरामा देश गत एक दशक देखि नै आत्मनिर्भर रही आएको भनेका छन्।
तर केही अनुसन्धानका तथ्याङ्क अनुसार आजसम्म पनि यसमा केही हदसम्म नेपाली बजार आयातमा भर पर्नु परेको देखिएको छ। यसै गरी दूध ढुवानी गर्ने सवारी साधनमा पनि सरकारले जारी गरेको एक आधिकारिक लोगो राखिने भएको छ।
यो निजी क्षेत्रको गाडीहरूमा पनि लागु हुनेछ। बन्द र हडतालमा यस्ता सवारी साधनहरूलाई अवरोध नहोस् भन्ने उद्देश्यले यसो गरिएको बताइएको छ।
राष्ट्रपतिको बांग्लादेश भ्रमण
राष्ट्रपति विद्यादेवी भण्डारी यस सोमबार बांग्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीदको मैत्रीपूर्ण निमन्त्रणामा उक्त मित्रराष्ट्रको भ्रमणमा गई मङ्गलबार स्वदेश फर्किएकी छिन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार दुई मुलुकको कूटनीतिक सम्बन्धको निम्ति यो भ्रमण निकै फलदायक भएको छ। राष्ट्रपतिलाई बांग्लादेशको राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको १०० औँ जन्मोत्सवको अवसरमा बोलाइएको थियो। भण्डारीले बांग्लादेशका राष्ट्रपति, प्रधानमन्त्री, र परराष्ट्र मन्त्रीसँग भेटवार्ता गरेकी थिइन्।
त्यस क्रममा उनले दुई देशबिच विकाशका विभिन्न साझेदारीका विषयका छलफल गरेकी छिन् र रेलमार्ग, पारवहन, पशुपक्षी र कृषि वस्तु क्वारेनटिन जस्ता विषयमा समझदारी पत्रमा हस्ताक्षर पनि गरेकी छिन्।

ह्वील्चेयर रेकर्ड
ह्वीलचेयर प्रयोग गर्ने रामबहादुर गोलेले विश्व कीर्तिमान कायम गर्ने उद्देश्यका साथ ह्वीलचेयरमा मेची महाकालीको यात्रा पुरा गरेका छन्। २६ दिनमा उनले १०२८ किलोमिटरको यात्रा पुरा गरेका हुन्।
स्पाइनल कर्ड इञ्जुरी अर्थात् मेरुदण्डको पक्षाघात भएका ३८ वर्षीय गोलेले यो भन्दा अगाडि पनि लुम्बिनीदेखि बोधगयासम्म लगायतका यात्रा गरिसकेका छन्।
अपाङ्गता भएका मानिसले पनि त्यस्ता लामा यात्राहरू गर्न सक्छन् भन्ने देखाउने उद्देश्यले यस्ता यात्रा गरिरहेको र अब भारतमा अझ लामो यात्रा गर्ने योजना रहेको उनले बताएका छन्।
यो पनि पढ्नुहोस्:

हिमचरि: सगरमाथाको शिखरबाट चराझै उड्ने साहस
अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्।





