अस्ट्रेलिया आउन पाउने सम्भावनाले केही मानिसहरूलाई ठूलो राहत र खुसी दिलाएको छ। यस्ता थुप्रै आशावादी मानिसहरू मध्ये एक पुरुषले काबुलको अस्ट्रेलियाली दूतावासमा सुरक्षा गार्डको रूपमा ६ वर्ष काम गरेका छन्।
उनको कामको कारण आफ्नो र उनको परिवारको ज्यान तालिबान हमलाको जोखिममा भएको हुनाले उनको पहिचान भने खुलाइएको छैन।
यही जोखिमको कारण नै आफ्नो परिवारलाई लिएर अफगानिस्तानबाट सर्न खोजेको उनी बताउँछन्।
यस हप्ता उक्त दूतावास बन्द हुने भनी सरकारले घोषणा गर्दा, त्यहाँ कार्यरत सुरक्षा गार्डहरूलाई यसो भनिएको थियो कि, निजी सुरक्षा कम्पनीको लागि काम गरिरहेका अफगानी नागरिकहरूले पुनर्वासको मौका पाउने छैनन्।
तर मिडियाबाट दबाब आए पछि अस्ट्रेलियाको वैदेशिक मामिला विभागले नीतिमा रातारात परिवर्तन ल्याउँदै, ठेकेदार र सुरक्षा कर्मचारीहरूले पनि मानवीय भिसा, अर्थात् लोकली इनगेज्ड ह्यूमानीटेरियन भिसाको लागि निवेदन हाल्न पाउने घोषणा गरेको हो।
यस भिसा अप्लाइ गर्न पाउने भन्दैमा भिसा पाउने भने कुनै ग्यारेन्टी हुँदैन, र ती भिसाहरू स्वीकार हुन वर्षौँको प्रक्रिया लाग्न सक्छ, अर्थात् उनीहरूको भविष्य अनिश्चित छ। र दूतावास बन्द हुने भए पछि, यसले अवस्थालाई झनै जटिल बनाएको छ।

अहमद शाह शार्दी १८ महिना अघि बल्ल बल्ल अस्ट्रेलिया भित्रिएका थिए। अस्ट्रेलियाली सुरक्षा बलमा अनुवादकको काम गरेका उनले, आफ्नो भिसा स्वीकार हुन सात वर्ष पर्खनु परेको थियो।
उनी भन्छन्, भिसा प्रक्रियामा सरकारले एक दिन ढिलो गर्दा, उनी जस्ता कर्मचारीहरूको ज्यान झनै जोखिममा पर्छ।
डाक्टर जोन ब्ल्याक्सल्यान्ड अस्ट्रेलियन नेशनल विश्वविद्यालयमा अन्तराष्ट्रिय सुरक्षा सम्बन्धी प्राध्यापक हुन्। यी अफगानहरू अस्ट्रेलिया आउन पाउनु एक खुसीको खबर भएको, तर अब दूतावास नै बन्द हुँदा यो प्रक्रिया पूरा गर्न अब पहिलेको भन्दा कठिन हुने उनी बताउँछन्।
सुरक्षा समस्याका कारण काबुल स्थित अस्ट्रेलियाली दूतावास २६ मे देखि अनिश्चित कालीन रूपमा बन्द गरिएको थियो। अफगानिस्तानमा रहेका अस्ट्रेलियाली सैनिक बलहरू आउँदो सेप्टेम्बरसम्म अस्ट्रेलिया फर्किसक्ने बताइएको छ।








