अस्ट्रेलियाली आदिवासीहरूका निमित्त कानुन बनाउने तथा उनीहरूलाई राष्ट्रिय जनगणनामा समावेश गर्ने कि नगर्ने भन्दै सन् १९६७ को मे २७ तारिकमा एक जनमत सङ्ग्रह आयोजना गरिएको थियो।
आम अस्ट्रेलियालीको आदिवासीहरू बारे बद्लिँदो धारण बुझ्न तत्कालीन सङ्घीय सरकारद्वारा गरिएको उक्त कार्यको निष्कर्ष ठुलो मतान्तरका साथ परिवर्तनको पक्षमा आयो।
राष्ट्रिय मेलमिलाप सप्ताह सोही उपलब्धिलाई आत्म बोध गराउन हरेक साल मनाइने गरिन्छ र यसै कारण आदिवासी अस्ट्रेलियालीहरूले आफ्नो अस्तित्व आधुनिक अस्ट्रेलियामा प्राप्त गरेका हुन् भन्दा अतिशयोक्ति नहोला।

सँगसँगै, नेश्नल रिकन्सिलिएसन वीक भनेर चिनिने राष्ट्रिय मेलमिलाप सप्ताहले उच्च न्यायालयको 'माबो' निर्णयलाई समेत आत्मसात् गरेको छ।
सन् १९९२ को जुन ३ तारिकका दिन उच्च न्यायालयले आफ्नो एक फैसला सुनाउने क्रममा एबोरिजिनल तथा टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूलाई अस्ट्रेलियाको परम्परागत भूमि पतिको दर्जा दिएको थियो।
यसपालि राष्ट्रिय मेलमिलाप सप्ताहको नारा "मोर द्यान अ वर्ड। रिकन्सिलिएसन टेक्स एक्सन" वा "एक शब्द भन्दा बृहत। मेलमिलापका लागि कदम चालिनु पर्छ" हो।
यो नाराले विगत दुई दशकको इतिहास पनि बोकेको छ किनकि राष्ट्रिय मेलमिलाप सप्ताह आयोजना गर्ने निकाय - रिकन्सिलिएसन अस्ट्रेलियाको स्थापना भएको २० वर्ष पनि यही बेला पुरा हुँदैछ।
क्यारेन मन्डिन उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्।
उत्तरी न्यु साउथ वेल्समा बसोबास गर्ने बन्डजालुङ समुदायकी मन्डिनका अनुसार, मेलमिलाप सबैको दायित्व भित्र पर्ने एक सक्रिय अनुभव हो।
उनी भन्छिन् कि राष्ट्रिय मेलमिलाप सप्ताह अस्ट्रेलियामा बसोबास गर्ने सबै मानिसहरू बिचको सम्बन्धहरू बारे मन्थन गर्ने, प्रकाश पार्ने र ती बारे कुराकानी गर्ने अवसर हो।
"राष्ट्रिय मेलमिलाप सप्ताहले हाम्रा सम्पूर्ण समुदायहरूलाई विविध कार्यक्रम तथा गतिविधिहरूका सक्रिय भएर भाग लिन प्रोत्साहन गर्छ," एसबीएस रेडियोसँगको कुराकानीका क्रममा उनले भनिन्।
रिकन्सिलिएसन अस्ट्रेलियाकी प्रमुख भन्छिन् कि यदि कोही आप्रवासीहरू पहिलो पटक राष्ट्रिय मेलमिलाप सप्ताहमा भाग लिँदै छन् भने त्यो निकै बहादुरीको काम हो।
अनि, हरेक वर्ष भाग लिने आप्रवासीहरूले चाहिँ यस पटक त्यसबारे कुनै कार्यक्रम आयोजनाको जमर्को गर्न उनको सुझाव छ।
आप्रवासी र मेलमिलाप
मोहमद अल-खफाजी - अस्ट्रेलियामा रहेका बहुसाँस्कृतिक समुदायहरूको छाता सङ्गठनका रूपमा स्थपति - फेडेरेसन अफ एथ्निक कम्युनिटिज काउन्सिल्स अफ अस्ट्रेलिया (फेक्का)का प्रमुख कार्यकारी हुन्।
उनी भन्छन् कि अस्ट्रेलियाको इतिहासका बारेमा जान्नु हाम्रो दायित्वका साथै कर्तव्य पनि हो।

"यहाँका समुदायहरूले भोगेका कुराहरू बारे बुझ्नु, थाहा पाउनु जरुरी छ, किनकि हाम्रो पनि त्यस्तै प्रकारका अनुभवहरू छन् र परिवर्तनका लागि सोही किसिमका कारणहरू" अल-खफाजीले भने।
"हामीहरू दुवैले जातिवाद भोगका छौँ, हामी दुवैले अन्याय सहेका छौँ र हामी दुवै यो देशमा समान पहुँच सबैलाई उपलब्ध हुनुपर्ने माग गर्छौँ।"
सबै आप्रवासीहरूले राष्ट्रिय मेलमिलापको महत्त्व बुझेका हुन्छन् भन्ने छैन, न त यो बारेमा जान्ने आवश्यकता नै उनीहरूले महसुस गरेका हुन्छन्।
अस्ट्रेलियामा अन्य देशबाट बसाइँ सर्ने थुप्रै मानिसहरूलाई त एबोरिजिनल वा टोरेस द्विप समूहका मानिसहरूसँग कसरी बोलचाल गर्नुपर्छ भन्ने पनि थाहा हुँदैन।
आदिवासी अस्ट्रेलियालीहरूको संस्कृति, इतिहास र उनीहरूको रहनसहन र बसोबासका थलो जस्ता विविध पक्षबाट ती अनभिज्ञ नै रहन्छन्।
अघिल्लो वर्ष फेक्काले आप्रवासीहरूका लागि इन्करेजिङ इन्गेजमेन्ट अ गाइड फर मल्टिकल्चरल अर्गानाइजेसन टु इन्गेज इन रिकन्सिलिएसन नामक एक निर्देशिका प्रकाशित गर्यो।

मोहमद अल-खफाजी उक्त दस्ताबेजले राष्ट्रिय मेलमिलाप सप्ताहभन्दा बाहेकका बेलामा पनि संवाद सुरु गर्न मानिसहरूलाई सघाउने बताउँछन्।
उनी भन्छन् कि तरिका सही हो वा गलत भन्ने कुरा छैन, सोच सही हुनुपर्यो।
"निष्ठावान् भएर सिक्न खोज्नु पर्यो अनि एक-अर्काका बारेमा जान्ने बुझ्ने प्रयत्न हुनुपर्यो," फेक्काका प्रमुखले भने।
साथै फर्स्ट नेशन्स वा जमिनाका प्रथम बासीहरूको आवाज बुलन्द पार्न आप्रवासीहरूले खेल्नुपर्ने भूमिकाका बारेमा बताउन आदिवासी अस्ट्रेलियालीहरूलाई आह्वान समेत गरे।
फेक्काद्वारा प्रकाशित निर्देशिकाले आप्रवासीहरूलाई सुझाएका केही अर्थपूर्ण क्रियाकलापहरु:
- मेलमिलाप कार्य योजना तर्जुमा गर्नुहोस्
- राष्ट्रिय मेलमिलाप सप्ताहसँग आबद्ध हुनुहोस्
- नाइडक सप्ताह मनाउनुहोस्
- स्थानीय आदिवासी समुदायका ज्येष्ठ सदस्यहरूलाई बोलाएर स्वागत समारोह वा धूम्र समारोह आयोजना गर्न आग्रह गर्नुहोस्
- सांस्कृतिक रूपमा बलियो र सक्षम कार्यस्थलका लागि बल गर्नुहोस्
