८० वर्षीय वृद्धा माथि हात हालेको आरोपमा स्याहारकर्मी सिड्नी अदालतमा दोषी ठहर

अपडेट: यो समाचार पहिलो पटक २७/८/२०१९ मा प्रकाशित भएको थियो। १६/८/२०१९ मा म्यान्ली स्थानीय अदालत द्वारा गरिएको फैसला विरुद्ध अनिता प्रजापति द्वारा न्यु साउथ वेल्स जिल्ला अदालतमा अपिल गरिएको थियो। गत १८ मार्च २०२० मा जिल्ला अदालत कि न्यायाधीश जे.कुल्भर द्वारा उक्त अपिललाई स्विकार्दै स्थानिय अदालतको फैसलालाई उल्टाएर, मुद्दा खारेज गरिएको छ।

Anita Prajapati outside Manly Courthouse in Sydney Australia

Source: Nine Network

उत्तरी सिड्नी स्थित एक एज्ड केयरमा कार्यरत रहेकी नेपाली पृष्ठभूमिकी अनिता प्रजापतिलाई ८० वर्षीय एक महिलाको मुखमा ‘ओसिलो रुमाल’ कोचेको आरोपमा म्यान्ली स्थानीय अदालतद्वारा दोषी ठहर गरिएको छ।

गए वर्षको नोभेम्बर महिनामा नर्दर्न बीचेसको नेराबीन स्थित आरएसएल लाइफ केयर नामक एज्ड केयरमा डिमेंशिया भएको उक्त महिला माथि हातपात गरेको पनि प्रजापति माथि आरोप लागेको थियो।

सोमबार म्यान्ली अदालतमा न्यायाधीश मिशेल गुडविन समक्ष बयान दिने क्रममा प्रजापति निर्दोष रहेको उनको वकिलले बताएका थिए।

व्यक्तिगत कलहका कारण एक समकक्षीले आफ्ना क्लाएन्ट विरुद्ध झुटो आरोप लगाएको प्रतिरक्षा समूहको भनाइ थियो।

एक समकक्षीको कामबारे गरिएको आलोचनाका कारण रिसाएर, उक्त व्यक्तिले प्रजापति द्वारा हातपात गरेको आरोप लगाएको अदालतमा बताइएको थियो।

अनिता प्रजापतिले ८० वर्षीय वृद्ध महिलाको लुगा फेरिदिने क्रममा चुप लगाउन झापड हिर्काएको र त्यसपछि उक्त वृद्धाको मुखमा “वेट वाइप्स” वा पुछ्न प्रयोग गरिने ओसिलो रुमाल कोचिदिएको आरोप रहेको थियो।

तर आफ्नो फैसला सुनाउँदै न्याधिश मिशेल गुडविनले प्रजापति एक “राम्रो चरित्र” को व्यक्ति रहेको विषयलाई आफूले ध्यान दिएता पनि उनी विरुद्ध रहेका हातपातका प्रमाण भने पर्याप्त रहेको पनि फैसला गरिन।

प्रजापति र उनका समकक्षी बिच केही तनाव रहेको कुरालाई पनि आफूले बुझेको न्यायाधीशको भनाइ थियो।

अनिता प्रजापति विरुद्धको सजाय आगामी महिना म्यान्ली अदालतमा सुनाइने छ।

Anita Prajapati with her partner outside Manly Courthouse
Source: Nine Network

अदालतको फैसला आउनु अगाडी, स्वास्थ्य स्याहार बारे दर्ता भएका उजुरीहरू माथि जाँच गर्ने जिम्मा पाएको न्यु साउथ वेल्स राज्यको आयोगले अनिता प्रजापतिलाई स्वास्थ्य क्षेत्रमा काम गर्न नपाउने गरी अन्तरिम प्रतिबन्ध जारी गरिसकेको छ।

गए जुलाई ८ देखि लागु भएको उक्त प्रतिबन्ध आठ हप्ता लागि जारी गरिएको थियो।

राज्यको स्वास्थ्य स्याहार उजुरी सम्बन्धी कानुन अन्तर्गत जारी गरिएको उक्त प्रतिबन्ध अनुरूप प्रजापतिले तलबी कर्मचारी वा स्वयंसेवकको रूपमा कुनै व्यक्तिको स्याहारमा संलग्न हुन पाउने छैनन्।

अदालतको फैसला बमोजिम, भविष्यमा उनी विरुद्धको अन्तरिम प्रतिबन्ध स्थायी रूपमा लागु गरिने बारे थप जाँच हुने आयोगको भनाइ छ।


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now