अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रधानमन्त्री स्कट मरिसनले क्यानबेरामा पत्रकारहरूसँग बोल्दै बुधवार मध्यरात उप्रान्त ऐच्छिक शल्यक्रिया स्थगित गरिएको जानकारी दिएका हुन्।
मरिसनका अनुसार सरकारद्वारा गरिएको उक्त निर्देशन निजी तथा सार्वजनिक दुवै किसिमका अस्पतालका हकमा लागू हुनेछन्।
“यसरी ऐच्छिक शल्याक्रियाहरू रद्द गर्दा त्यहाँ आवश्यक पर्ने व्यक्तिगत सुरक्षात्मक उपकरणलाई जगेडा राख्न मद्दत हुनेछ र त्यसले स्वास्थ्य सेवाहरूलाई कोभिड-१९ प्रकोप विरुद्ध काम गर्न सजिलो पार्नेछ,” उनले भने।

मरिसनका अनुसार क्याटोगरी १ र क्याटोगरी २ मा पर्ने अत्यन्त जरुरी सर्जरीहरू बाहेक अन्य सबै ऐच्छिक शल्यक्रिया हुने छैनन्।
क्याटोगरी १ भनिने पहिलो दर्जाको शल्यक्रियामा ३० दिन भित्र गरिसक्नु पर्ने सर्जरीहरू पर्छन् भने दोस्रो दर्जामा ९० दिन भित्र गरिनुपर्ने सर्जरीहरू पर्छन्।
यसमा विशेष गरेर, प्रसूति, हृदयाघात र क्यान्सर सम्बन्धी अत्यन्त जरुरी शल्यक्रियाहरू पर्छन्।
तेस्रो र चौथो दर्जाका शल्यक्रियाहरू भने हाललाई पूर्ण स्थगित भएका छन्।
फोर्टेस्क्यु मेटल्सका पूर्व प्रमुख कार्यकारी अधिकृत नेभिल पावरलाई उक्त आयोगको अध्यक्ष बनाइएको र उक्त आयोगले सुपरमार्केटहरूलाई दैनिक उपभोग्य सामानहरू निर्बाध रूपमा आपूर्ति गर्ने व्यवस्था मिलाउनेदेखि कल सेन्टरका कर्मचारीहरूलाई सेन्टरलिङ्कमा पुनर्भर्ती गर्ने लगायतका काम गर्ने बताइएको छ।
पावरले प्रधानमन्त्रीले अहिले कोरोनाभाइरसको प्रभाव रोक्ने र घटाउने तर्फ ध्यान दिनु पर्ने भएकाले देशले बोलाउँदा आफू सेवा गर्न उपस्थित भएको बताए।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।
यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।
कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र अन्य जानकारी यहाँ उपलब्ध छन्: https://www.sbs.com.au/language/nepali/coronavirus-updates
