कोरोनाभाइरस महामारीका कारण विदेशमा फसेका अस्ट्रेलियालीहरूलाई कुशलतापूर्वक घर फर्काउन, राज्य तथा प्रदेशहरूले आफ्नो क्वारेन्टिन क्षमता अभिवृद्धि गर्नुपर्ने बताइएको हो।
सङ्घीय मन्त्रिपरिषद्का वरिष्ठ सदस्य तथा उप-प्रधानमन्त्री माइकल मक्कोर्म्याकले देशभरका प्रिमियर तथा मुख्यमन्त्रीहरूलाई एक पत्र लेख्दै क्वारेन्टिन व्यवस्थाका लागि उपलब्ध स्थानहरू वृद्धि गर्न अनुरोध गरेका छन्।
हाल ४ हजार अस्ट्रेलियालीहरू प्रति हप्ता घर फर्किरहेको अवस्थालाई सुधार गर्दै सातामा ६ हजार देशवासीलाई घर फर्किन मिल्ने वातावरण निर्माण गर्न सरकार इच्छुक रहेको उनको भनाई छ।
"हामी के हेर्न चाहन्छौँ भने धेरै अस्ट्रेलियालीहरू घर आउन सक्षम हुन्," मक्कोर्म्याकले पत्रकारहरूलाई भने।
"केहीलाई घर आइपुग्न गाह्रो भएको छ र हामीले त्यस्तो घटना भएका छन् भनेर स्वीकार गरेका छौँ। यहाँ मानिसहरूका हृदय विदारक कथाहरू पनि छन्।"

सरकारी आँकडा अनुसार हाल २५ हजार जतिको सङ्ख्यामा अस्ट्रेलियालीहरू अझै देश बाहिर नै अड्केका छन् र उनीहरूलाई घर सकेसम्म चाँडो ल्याउन मोरिसन सरकार माथि दबाब दिनानुदिन बढ्दै छ।
उप-प्रधानमन्त्रीका अनुसार, नयाँ व्यवस्था कार्यान्वयन गर्न न्यु साउथ वेल्स, क्विन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया प्रत्येक राज्यले ५०० र साउथ अस्ट्रेलियाले ३६० का दरले क्वारेन्टिन स्थानहरू बढाउनु पर्नेछ।
यसै गरी तास्मानिया, नर्दन टेरोटरी र एसीटीले पनि क्वारेन्टिन कोटा वृद्धि गरेको आफूहरूले हेर्न चाहेको नेश्ननल पार्टिकल नेता समेत रहेका माइकल मक्कोर्म्याकले बताएका छन्।
केन्द्रीय सरकारको प्रस्ताव अनुसार प्रति हप्ता थप ५०० जनालाई क्वारेन्टिन स्थान उपलब्ध गराउन आफूहरू इच्छुक रहेता पनि अन्य राज्यहरूले पनि हाल उनीहरूले लिइरहेको भन्दा दोब्बर सङ्ख्यामा मानिसहरू लिनुपर्ने न्यु साउथ वेल्स प्रिमियर ग्लाडिस बेरीजिक्लियनको भनाई छ।
हाल आफूहरूले होटेल क्वारेन्टिनको सबैभन्दा ठुलो भार बोकिरहेको र अब अन्य राज्यले पनि होस्टेमा हैँसे गर्नुपर्ने उनी बताउँछिन्।
बेरिजिक्लियनका अनुसार क्विन्सल्यान्ड तथा वेस्टर्न अस्ट्रेलियाले अहिलेको भन्दा दोब्बर मानिसहरूलाई क्वारेन्टिन सुविधा उपलब्ध गराउँदा पनि त्यो सङ्ख्या हाल न्यु साउथ वेल्सले उठाएको भार भन्दा एक तिहाइ मात्र हुनेछ।

साउथ अस्ट्रेलियाका प्रिमियर स्टिभ मार्सलले थप मानिसहरूलाई क्वारेन्टिन सुविधा उपलब्ध गराइनुपर्नेमा आफूहरूको सहमति रहने सङ्केत गरेका छन्।
"पक्कै पनि हामीले थप मानिसहरू लिनुपर्छ," बुधवार एबीसी रेडियोलाई उनले भने।
वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क मक्गावनले चाहिँ सङ्घीय सरकारका क्वारेन्टिन केन्द्रहरूमा मानिसहरू राख्ने भए आफ्नो राज्य थप सङ्ख्यामा मानिसहरू लिन तयार रहेको बताएका छन्।
तर, वेस्टर्न अस्ट्रेलियामा बन्दी गृहलाई क्वारेन्टिन केन्द्रका रूपमा प्रयोग गर्नु अनुचित हुने भन्दै मोरिसन सरकारले त्यसो गर्न इच्छा देखाएको छैन।
कोरोनाभाइरसको दोस्रो लहरका कारण भिक्टोरियामा भने हाल होटेल क्वारेन्टिन कार्यक्रम स्थगित छ।
यही क्रममा मङ्गलवार मात्र पनि लेबरले प्रधानमन्त्री स्कट मरिसन सीमा तथा क्वारेन्टिन दुबैका जिम्मेवार रहेका कारण मानिसहरूलाई घर सकेसम्म चाँडो फर्काउने जिम्मा उनैले बहन गर्नुपर्ने बताएको थियो।
लेबरका नेता एन्थोनी अल्बनिजेले प्रधानमन्त्री तथा गभर्नर जनरलद्वारा प्रयोग हुने वायुसेनाका अति विशिष्ट हवाईजहाजहरू प्रयोग गरेर भए पनि अस्ट्रेलियालीहरूलाई घर फर्काउनु पर्ने बताएका छन्।
"हाम्रो राष्ट्रिय सिमाना स्पष्ट रूपमा उनको नियन्त्रणमा छ, क्वारेन्टिन मामिला पनि उनकै जिम्मामा छ र उनीसँग वायुसेनाका विशिष्ट विमानहरूको माध्यमबाट पूर्वाधारमा पहुँच छ जुन अहिले नै काममा लगाउन सकिन्छ" अल्बनिजेले सिड्नीमा मङ्गलवार पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए।
बुधवार प्रधानमन्त्रीलाई थप दबाब दिँदै अल्बनिजेले भनेका छन् राज्यहरूले चलाएको होटेल क्वारेन्टिन कार्यक्रमको साथमा उनी स्कट मोरिसन नेतृत्वको सरकारले पनि समानान्तर रूपमा आफ्नै क्वारेन्टिन कार्यक्रम सञ्चालन गरोस्।
"अहिले हामीसँग भएका प्रधानमन्त्री कस्ता छन् भने - यो सब अहिले नै गर्न गाह्रो छ भन्ने," उनले बुधवार एबीसी टेलिभिजनसँग बोल्ने क्रममा भने।
"अहिले २५,००० अस्ट्रेलियाली फसेका छन्। हामीलाई थाहा छ उनीहरूमध्ये धेरै जना घर फर्किन एकदम लागिपरेका छन्।"
एन्थोनी अल्बनिजेले राष्ट्रिय ध्वजावाहक क्वान्टसका विमानहरू चार्टर गरेर भए पनि विदेशमा फसेका अस्ट्रेलियालीहरू छिटो भन्दा छिटो घर फर्काउन सरकारद्वारा पहल गरिनुपर्ने समेत बताएका छन्।

यस्तै उनले डार्विन भन्दा केही पर रहेको हावर्ड स्प्रिङ्ग्स र क्रिसमस आइल्यान्ड स्थित बन्दी गृहलाई समेत क्वारेन्टिनका लागि सङ्घीय सरकारले प्रयोगमा ल्याउनुपर्ने बताएका छन्।
यो वर्षको सुरुवातमा महामारी फैलँदै जाँदा, विभिन्न देशबाट उद्धार गरिएका अस्ट्रेलियालीहरूलाई घर फर्काउने क्रममा ती केन्द्रहरूलाई सङ्घीय सरकारले क्वारेन्टिन स्थलका रूपमा प्रयोग गरेको थियो।
तर, अस्ट्रेलियन बोर्डर फोर्सका आयुक्त माइकल आउटरामले ती स्थलहरूमा खटाइएका स्वास्थ्यकर्मीहरू आफ्नै राज्य अन्तर्गतका केन्द्रहरूमा काम गरिरहेकाले तत्काल हावर्ड स्प्रिङ्ग्स र क्रिसमस आइल्यान्ड स्थित बन्दी गृह पुनः सञ्चालनमा ल्याउन नसकिने बताइसकेका छन्।

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ९ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि यहाँ थिच्नुहोस्
