अस्ट्रेलियाकै वरिष्ठतम धर्मगुरु मध्येका एक र सिड्नीका एङ्ग्लिकन आर्चविशप ग्लेन डेभिस आफूले अक्सफोर्ड विश्वविद्यालयद्वारा तयार हुँदै गरेको खोप नैतिकताको आधारमा बहिस्कार गर्ने बताएका हुन्।
अक्सफोर्ड विश्वविद्यालयमा बन्दै गरेको कोरोनाभाइरस विरुद्धको खोपमा ऐतिहासिक मानव भ्रूणको तन्तु प्रयोग भएको बताइएको छ।

डेभिसले वैज्ञानिकहरूद्वारा एक ऐच्छिक गर्भपतनबाट प्राप्त भ्रूणको कोशाणु सो खोप निर्माणका क्रममा प्रयोग भएको भन्दै आफ्नो चासो व्यक्त गरेका हुन्।
एबीसीसँग मङ्गलवार कुरा गर्दै उनले भने, "विज्ञानका लागि त्यो तन्तु प्रयोग गर्नु भर्त्सना योग्य छ।"
यदि कोभिड-१९ विरुद्धको लडाइँमा अक्सफोर्ड खोप अनुमति पाउने पहिलो खोप बने, आफूले दोस्रो बन्ने खोपका लागि पर्खने डा डेभिसको भनाइ छ।
"त्यो मेरो निजी निर्णय हुनेछ र यसले म अन्य कसैको पनि चेतनालाई बाँध्ने छैन।"
एङ्ग्लिकन धर्मगुरुको भनाइसँग क्याथोलिक एवम् ग्रिक अर्थोडक्स धार्मिक नेतृत्वको सहमति छ।
तर, सिड्नीकै एक अर्का धर्मगुरु - क्याथोलिक आर्चविशप एन्थोनी फिशर भने डेभिसको तर्क प्रति विमति राख्ने अपवादका रूपमा अगाडी आएका छन्।
"यो खोप उपलब्ध भएमा क्याथोलिकहरूलाई यो खोप बहिष्कार गर्न मैले भनेको पनि छैन, भन्दा पनि भन्दिन," फिशरले भने।
"मेरो विचारमा यो खोप प्रयोग गर्न अनैतिक हुनेछ भन्ने लाग्दैन, यदि कुनै विकल्प नै छैन भने।"
"सरकारले अनुसन्धान र प्रविधिमा लगानी गरिरहेको छ र हामीलाई आशा छ कि धेरै किसिमका खोपहरू उत्पादन गर्न सकिन्छ जुन धेरै भन्दा धेरै अस्ट्रेलियालीहरूका लागि उपयुक्त हुनेछ," प्रवक्ताले एएपीलाई भने।
ती प्रवक्ताका अनुसार विकास हुँदै गरेका थुप्रै खोपहरूमा सवाल खडा भएको उक्त भ्रूण कोशिकाको प्रयोग भएको छैन।
"जस्तो कि क्विन्सल्यान्ड विश्वविद्यालयमा तयार भइरहेको खोपमा ती कोशिकाहरूको प्रयोग भएको छैन," उनले भने।
सङ्घीय सरकारले उक्त खोप अनुसन्धानका लागि ५० लाख डलर दिएको छ।
"सरकारले जहिले पनि चिकित्सकीय सल्लाहको पालना गर्छ र खोप वा खोपहरूको सम्भव भएसम्म व्यापक प्रयोगको लागि प्रोत्साहन गर्नेछ।"
यो पछिल्लो अभिव्यक्तिका साथ धार्मिक नेताहरूले कोरोनाभाइरस खोपको विरुद्ध सार्वजनिक रूपमा कडा अडान किन लिएका हुन् भन्ने बारे प्रश्न पनि उठेको छ।
विशेष गरी अन्य साधारण उपचार विधिमा पनि सो कोशिकाको हाल प्रयोग भइरहेको सन्दर्भमा।
सन् ६० को दशकदेखि रुबेला, दादुरा, हेपाटाइटिस ए, र दादहरू विरुद्ध खोप बनाउन ऐच्छिक गर्भपतनबाट ल्याइएको कोषहरू प्रयोग भइरहेको छ।
त्यसै गरी हेमोफिलिया, रुमाटोइड बाथ र सिस्टिक फाइब्रोसिस जस्ता रोगहरू विरुद्ध लड्न पनि उक्त प्रविधि प्रयोग भएका छन्।
उप-प्रमुख चिकित्सकीय अधिकृत निक कोट्सवर्थ चर्चहरूको चिन्ताबारे सजग छन् तर उनी भन्छन् कि मानव कोषहरूको प्रयोग बारे कडा नैतिक नियमहरू पालना गरिन्छ।
"खोपको लागि वास्तविकता यो हो कि उनीहरूलाई कोशाणु विकास हुने प्रकियाको आवश्यकता पर्छ," उनले पत्रकारहरूलाई भने।
"मानव कोषहरू खोपको विकासका लागि वास्तवमै महत्त्वपूर्ण अंश हुन्।"
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
