लिबरल-नेश्नल गठबन्धन सरकारले कोरोनाभाइरस महामारी सुरूभएयता आफ्नो दोस्रो वार्षिक बजेट सार्वजनिक गरेको छ।
मङ्गलवार साँझ अस्ट्रेलियाली सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक सामु ट्रेजरर जस फ्राईडेनबर्गले आउँदो आर्थिक वर्ष देशको बजेट घाटा १६१ अर्ब डलर पुग्ने अनुमान सहित आर्थिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
यसअघि करिब ६ महिना पहिले चालू आर्थिक वर्षको बजेट घोषणका बेलामा भन्दा अहिले उक्त घाटा झन्डै ५३ अर्बले कम हुने प्रक्षेपण गरिएको छ।
तर, थुप्रै नयाँ नीति तथा कार्यक्रम बोकेर आएको यसपालिको बजेटमा, गएका समयमा झैँ कसैलाई फाइदा भएको छ भने कसैलाई घाटा।

अध्यागमन र आप्रवासन
यो बजेटले सन् २०२२ को मध्यसम्ममा अस्थायी र स्थायी दुवै किसिमका आप्रवासन कार्यक्रमहरू पुनः सुरु नहुने अपेक्षा राखेको छ।
देश बाहिर फसेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू केही सीमित मात्रामा यो वर्षको अन्त्यसम्ममा फर्किन सक्ने बताइएता पनि, राज्य तथा प्रदेशहरूले अस्ट्रेलिया फर्किने मानिसहरू कति सङ्ख्यामा लिन्छन् भन्नेमा यो कुरा निर्भर रहने छ।
महामारी सुरु भए यता आप्रवासन ठप्प भएता पनि, यो कार्यक्रम पुनः सुरु हुँदा प्रति वर्ष अस्ट्रेलिया आउन पाउने मानिसहरूको सङ्ख्यामा कुनै वृद्धि भने हुने छैन; हाल यस्तो सङ्ख्या प्रति आर्थिक वर्ष १६०,००० जनामा सीमित छ।
अस्ट्रेलियामा नै रहेका आप्रवासीहरू जसले स्थायी बसोबासका लागि वा अन्य भिसाका लागि निवेदन दिएका छन्, उनीहरूका लागि अलिक राहतको कुरा भनेको - सरकारले 'अनसोर' आवेदकहरूलाई प्राथमिकता राख्ने भनेर बताउनु नै हो।
यसका लागि बजेटमा एक लाख डलर छुट्ट्याइएको जस फ्राईडेनबर्गले बताए।
आप्रवासी महिला तथा शरणार्थीहरूको सुरक्षा एवम् उनीहरूलाई आर्थिक कार्यक्रमहरूमा समावेश गर्न, आगामी तीन वर्षको लागि २ करोड ९३ लाख डलर मोरिसन सरकारले छुट्ट्याएको छ।
अस्थायी भिसामा रहेका घरेलु हिंसा पीडित महिलाहरूलाई सहयोग गर्ने एक परीक्षण कार्यक्रम पनि, थप एक वर्षको लागि १ करोड ३ लाख डलरको लागतमा लम्ब्याइएको छ।
यो कार्यक्रम मार्फत भिसाको प्रकारका कारण, अस्ट्रेलियाको सामाजिक भत्ता पाउन असमर्थ महिलाहरूलाई रेडक्रसको समन्वयकारी भूमिकामा ३,००० डलरसम्मको आर्थिक सहयोग उपलब्ध छ र जसलाई उनीहरूले खाद्यान्न, बास अनि स्वास्थ्य सेवाका लागि प्रयोग गर्न सक्छन्।
कर छुट
बजेटले १ करोड निम्न तथा मध्यम आय भएका अस्ट्रेलियालीहरूका लागि थप कर छुटको व्यवस्था गरेको छ।
सो योजना अनुसार, जोडीहरूको हकमा २,१६० डलर र एकल मानिसहरूको हकमा १,०८० डलरसम्मको कर छुट आगामी ट्याक्स रिटर्नका बेला प्राप्त हुनेछ।
यसै गरी व्यापार व्यवसायहरूले ३० जुन २०२३ सम्म मूल्य ह्रास हुने कानूनद्वारा मान्यता प्राप्त सर-सामान जडान गरेमा, त्यस्ता सामानको पूर्ण भुक्तानी कर तिर्दा घटाउन सकिने छ।
यो योजना अस्ट्रेलियाभरका ९९ प्रतिशत व्यापार-व्यवसायहरुका हकमा लागू हुने सरकारको भनाई छ।
शिक्षा
समग्र रूपमा यसपालिको बजेटले शिक्षा क्षेत्रका लागि अर्बौँ डलर छुट्ट्याएता पनि, अन्तर्राष्ट्रिय शिक्षा प्रदायकहरूका लागि जम्मा ५ करोड ३६ लाख डलर मात्रै विनियोजित गरिएको छ।
विशेष गरी यो रकम अङ्ग्रेजी भाषा पढाइ हुने स्वतन्त्र सेवा प्रदायक तथा विश्वविद्यालय बाहेकका अन्य उच्च शिक्षा अध्यापन गराइने संस्थाहरू प्रति लक्षित छ - जस अन्तर्गत यस्ता शिक्षा सेवा प्रदान गर्नेहरूले 'अफसोर' र 'अनलाइन' अध्यापनका लागि बढीमा १५०,००० डलरसम्मको सरकारी अनुदानका लागि आवेदन हाल्न सक्नेछन्।
घरेलु विद्यार्थीका हकमा भने यो बजेटले थप विषयहरूसम्मको पहुँच बढाइदिएको छ भने अरू पढाई गर्न चाहने मानिसहरूलाई आगामी डिसेम्बर ३१ तारिखसम्मका लागि थप शुल्क मिनाहा हुने व्यवस्था पनि रहेको, ट्रेजरर फ्राईडेनबर्गले बताए।

यसै गरी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका कार्यक्रममा भर्ना हुने महिलाहरूको लागि छुट्टै छात्रवृत्ति पनि यसपालिको बजेटले व्यवस्था गरेको छ।
अस्ट्रेलियाली स्कूलहरूका लागि सरकारले रेकर्ड तोड २४ अर्ब ४० करोड डलर विनियोजन गरेको छ।
प्रि-स्कूल तथा चाइल्डकेयरसम्मको पहुँच बढाउन सरकारले थप ३.३ अर्ब डलर खर्च गर्ने पनि बताएको छ जसमा १.७ अर्ब डलर, एक भन्दा बढी सन्तान हुने अभिभावकलाई दिइने अनुदानमा खर्च हुनेछ भने बाँकी १.६ अर्ब चाहिँ प्रि-स्कूल शिक्षाका लागि दिइने छ।

मोरिसन सरकारले ३ करोड ९ लाख डलरको राष्ट्रिय तालिम दर्ता सूचि वा नेश्नल ट्रेनिङ रेजिस्टरका लागि लगानी गर्ने पनि बताएको छ।
त्यसै गरी एक राष्ट्रिय डिजिटल अस्ट्रेलियाली प्रशिक्षार्थी पोर्टलको स्थापना गरेर, सरकारले रोजगारदातालाई आफ्नो प्रशिक्षार्थी कामदारहरू प्रबन्धन गर्न तथा उनीहरूले पाउने सर-सुविधाहरूका बारेमा बुझाउन सहयोग गर्ने नीति समेत सार्वजनिक गरेको छ।
डिजिटल कार्यदक्षता बढाउन आगामी आर्थिक वर्ष २०,००० जनासम्मका लागि लक्षित एक अर्को कार्यक्रमका लागि बजेटमा थप १ करोड ७ लाख डलर विनियोजित छ र यो विशेष रूपले अस्ट्रेलियालीहरू साइबर सुरक्षा, डाटा अनालिटिक्स र एनिमेसनमा दक्ष होउन् भनेर ल्याइएको ट्रेजरर फ्राईडेनबर्गले बताए।
महिला तथा बालबालिका
अस्ट्रेलियामा महिलाहरूको आर्थिक सुरक्षाका लागि बजेटमा १.९ अर्ब डलर विनियोजन गरिएको - नेश्नल करिअर्स ईन्सटिट्युट पार्टनरसिप ग्रान्ट्स प्रोग्रामबाट - सरकारले महिलाहरूको लागि रोजगारीको थप अवसर सृजना भएको बताएको छ।
थप ४ करोड २४ लाख डलर लगानीका साथ आगामी सात वर्षमा 'स्टेम' भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा अध्ययन गर्ने २३० महिलाहरूको लागि छात्रवृत्ति कार्यक्रम पनि ल्याइएको जस फ्राईडेनबर्गले आफ्नो बजेट भाषणका क्रममा उल्लेख गरेका छन्।
अस्ट्रेलियाली सरकारी संस्थाका सञ्चालक समितिहरूमा गत क्यालेन्डर वर्ष - रेकर्ड तोड ४९.५ प्रतिशत महिलाहरू नियुक्त भएका थिए।

सङ्घीय महिला मन्त्री मरिस् पेअनले आगामी पाँच वर्षका लागि महिलाहरूको नेतृत्व र विकास कार्यक्रमका लागि भन्दै ३ करोड ३० लाख डलरको घोषणा गरेकी छिन्।
मन्त्री पेअनद्वारा घोषित उक्त कार्यक्रमले, महिलाहरूलाई नेतृत्वदायी पदमा पुग्न मद्दत गर्ने, योजनाहरूलाई मद्दत पुग्ने बताइएको छ।
फ्यामिली ल कोर्ट सिस्टम भनिने पारिवारिक मामिलाको छिनोफानो हुने अदालत प्रणाली अन्तर्गत महिला तथा बालबालिकाको सुरक्षा र कानूनी सहायताका लागि बजेटमा ४० करोड डलर छुट्टाइएको छ।
महान्यायाधिवक्ता मिकेला क्यास भन्छिन् कि यसबाट थप परिवारहरूले अविलम्ब आफ्नो मुद्दाको सुनवाइ र छिनोफानो भएको अनुभव गर्न सक्नेछन्।
यसै गरी यसपालिको बजेटमा यौन दुर्व्यवहार पीडित र भोगिरहेका बालबालिकाहरूको कानूनी सहायताका लागि १ करोड ६८ लाख डलर विनियोजन गरिएको छ।
साथै, सरकारले बाल यौन दुराचारबाट पीडित बालाबालिकाहरुका निमित्त एक अनलाइन च्याट सेवाको पनि सुरुवात गरिने बताएको छ।
करिब ३७ लाख डलरको लागत अनुमान गरिएको उक्त च्याट सेवाका साथै, थप १ करोड ३१ लाख डलरको विशेषज्ञ कानूनी परामर्श सेवा पनि सुरु हुने सरकारी भनाई छ।
आगामी चार वर्षका लागि महिला तथा बालिकाहरूलाई अनलाइन दुर्व्यवहारबाट बच्न र इन्टरनेटमा सुरक्षाको प्रत्याभूति गर्न - थप २ करोड ६२ लाख डलर समेत लगानी गरिने - बजेट घोषणाका क्रममा सार्वजनिक गरिएको छ।

महिला खेलाडी तथा व्यवासयिक रूपमा आफ्नो खेललाई अगाडी बढाउन उत्सुक अस्ट्रेलियाली महिलाहरूका निमित्त, आउँदा वर्षहरूका लागि १ करोड ७० लाख डलर दिने पनि बताइएको छ।
सरकारी अनुदानले महिला तथा बालिकाहरूको फुटबल एवम् बास्केटबलका विकास कार्यक्रमलाई पनि सहयोग गर्ने अपेक्षा गरिएको छ।
रोकथाम गर्न मिल्ने महिला स्वास्थ्य समस्याको सम्बोधन हेतु, बजेटमा मोरिसन सरकारले १४ करोड ८० लाख डलर दिने बताएको छ जसमा स्तन क्यान्सर लगायत अन्य रोगहरूको उपचारका लागि आवश्यक पर्ने औषधि - फर्मासिट्युकल बेनेफिट स्किम भनिने औषधोपचार लाभ योजनामा समावेश हुनेछ।
यसका साथै पाठेघरको क्यान्सरको रोकथाममा प्रभावकारी मानिएको सर्भिकल स्क्रिनिङ कार्यक्रमका लागि पनि - बजेटमा ३ करोड ३० लाख डलर राखिएको छ भने स्तन क्यान्सरको रोकथाम कार्यक्रम सञ्चालन गर्ने - ब्रेस्ट स्क्रिन अस्ट्रेलियालाई ७ करोड डलर प्राप्त हुनेछ।
अस्ट्रेलियन चिल्ड्रेन्स टेलिभिजन फाउन्डेसन वा अस्ट्रेलियाली बालबालिकाहरूको टेलिभिजन प्रतिष्ठानलाई बालबालिकाको कार्यक्रम निर्माणका लागि आगामी चार वर्षका लागि १ करोड १० लाख डलर सरकारले उपलब्ध गराउने बताएको छ।
सीमा सुरक्षा

मोरिसन सरकारले अस्ट्रेलियाको सीमा सुरक्षाका साथै देशको अध्यागमन प्रणालीलाई चुस्त पार्नका लागि भन्दै, २ अर्ब डलरभन्दा बढी रकम विनियोजन गरेको छ।
गृह मामिला सम्बन्धी सङ्घीय मन्त्री क्यारेन एन्ड्रुज भन्छिन् कि यो बजेट अस्ट्रेलियालीहरू, देशको सीमा र अर्थतन्त्रको सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको हो।
अध्यागमन बन्दी गृहहरूको क्षमता अभिवृद्धि गर्न कुल ४६ करोड ५० लाख डलर बजेटमा छुट्ट्याइएको छ भने अस्ट्रेलियन बोर्डर फोर्सको हवाई सम्पर्क सेवालाई चालू राख्न थप ७७ लाख डलर खर्च गरिने बताइएको छ। उक्त सेवाले अन्तर्राष्ट्रिय हवाईअड्डाहरूमा बोर्डर फोर्सका कर्मचारीहरूको दरबन्दी हेर्छ।
यसै गरी, सामुद्रिक बाटो हुँदै गैर-कानूनी रूपमा अस्ट्रेलिया पस्न खोज्नेहरूलाई रोक्ने उद्देश्यले सुरु गरिएको अपरेसन सोभ्रन बोर्डर्स कार्यक्रमका लागि थप ३ करोड ८० लाख डलर खर्चिने सरकारले बताएको छ।
अपाङ्गता
नेश्नल डिसेबिलिटी इन्सुरेन्स स्किम भनिने राष्ट्रिय अपाङ्गता योजना हेर्ने जिम्मेवारी पाएकी सङ्घीय मन्त्री लिन्डा रेनोल्डसले - आर्थिक वर्ष २०२३-२४ सम्मका लागि सरकारले थप १३.२ अर्ब डलर अनुदान दिने बताएकी छिन्।
उनी भन्छिन् कि उक्त योजनाले झन्डै ४५०,००० अस्ट्रेलियालीहरूलाई सहयोग गर्दै आइरहेको छ।
अपाङ्गताको क्षेत्रमा सन् २०२४ सम्ममा ८३,००० भन्दा बढी कामदारहरूको माग हुने र सरकारी अनुदानले त्यस प्रकारका रोजगारी सृजना गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ।
रिजनल अस्ट्रेलिया
रिजनल क्षेत्रका व्यापार व्यवसाय, समुदाय लगायत स्वास्थ्य एवम् शैक्षिक सेवाहरूकालागि हाल उपलब्ध सरकारी सहयोग तथा अनुदानमा थप ८ करोड ५० लाख डलर मोरिसन सरकारले प्रदान गर्ने प्रतिबद्धता गरेको छ।
रिजनल कनेक्टिभिटी प्रोग्राम अन्तर्गत क्षेत्रीय तथा ग्रामीण भेकमा बसोबास गर्ने अस्ट्रेलियालीहरूले सुधारिएको उच्च गतिको इन्टरनेट सेवा पाउने बताइएको छ।
बुसफायर वा डढेलो लाग्ने धेरै सम्भावना भएका ठाउँहरूमा मोबाइल सम्पर्कमा सुधार गर्न १ करोड ४० लाख खर्चिने सरकारले बताएको छ।

त्यस्तै अस्ट्रेलियाको कृषि क्षेत्रको विकास तथा यो क्षेत्रले अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने तुल्याउन ८५ करोड डलर सरकारले लगानी घोषणा गरेको छ।
अस्ट्रेलियाको दुर्गम इलाकामा काम गरिरहेका डाक्टरहरूले - सरकारबाट 'बल्क बिलिङ' भुक्तानी अन्तर्गत थप रकम प्राप्त गर्नेछन् - जस अनुसार चिकित्सकहरूले जति दुर्गम क्षेत्रमा गएर आफ्नो सेवा दिन्छन्, उनीहरूले सरकारबाट पाउने भुक्तानी सोही अनुपातमा बढ्दै जानेछ।
यसका साथै सरकारले ग्रामीण समुदायमा गएर आफ्नो करिअर सुरु गर्ने डाक्टरहरूलागि उनीहरूको चिकित्सकीय तालिमका दौरान थप अवसरका लागि समेत अनुदान दिने बजेटमा उल्लेख छ।
एज्ड केयर
वृद्ध स्याहारमा रहेका समस्याहरू छानबिन गर्न गठित शाही आयोगको सिफारिसहरूलाई मान्दै, सरकारले अस्ट्रेलियाको एज्ड केयर सेक्टरमा आगामी पाँच वर्षका लागि भन्दै १७.७ अर्ब डलर खर्चिने कटिबद्धता जाहेर गरेको छ।
यसमध्ये साँढे सात अर्ब डलर आफ्नै घरमा रहेर वृद्ध स्याहार खोज्ने अस्ट्रेलियालीहरूका लागि हो।
लगभग उति नै रकम आवासीय वृद्ध स्याहार केन्द्रहरूको स्तरोन्नति तथा सुधारमा खर्च हुनेछ भने अर्को १ अर्ब डलर सेवाको गुणस्तर तथा सुरक्षामा खर्च हुने बताइएको छ।
दयालु तथा व्यावसायिक कार्यकुशलता भएका कर्मचारीहरूको सङ्ख्या बढाउन ६५ करोड डलर छुट्ट्याइएको छ र लगभग ७० करोड डलर चाहिँ वृद्ध स्याहार सञ्चालन व्यवस्था सुधार गर्न र नियमनमा खर्च हुने सरकारी भनाई छ।
स्वास्थ्य
मोरिसन सरकारले मानसिक स्वास्थ्य र आत्महत्या रोकथामका लागि अस्ट्रेलियाको इतिहासकै सबैभन्दा ठुलो लगानी आफूले गर्ने बताएको छ।
उक्त योजना अनुसार, १.४ अर्ब डलरको लागतमा एक राष्ट्रिय सञ्जाल निर्माण गरिनेछ जसमा ५७ वटासम्मका थप मानसिक स्वास्थ्य उपचार केन्द्रहरू सञ्चालनमा आउनेछन्।
नेश्नल सुसाइड प्रिभेन्सन अफिस भनिने राष्ट्रिय आत्महत्या रोकथाम कार्यालयका लागि - बजेटमा १ करोड २८ लाख डलर विनियोजन गरिएको छ भने अर्को ६ करोड १६ लाख डलरबाट राष्ट्रिय आत्महत्या रोकथाम नेतृत्व र सहायता कार्यक्रम सञ्चालन गरिने सरकारी योजना छ।

घरेलु हिंसा पीडित महिलाहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर थप १ करोड ७१ लाख डलर त्यस प्रकारको मानसिक स्वास्थ्यलाई चाहिने खर्चका लागि छुट्ट्याइएको छ।
सरकारले १ खर्ब २६ अर्ब डलर आगामी चार वर्षसम्म मेडिकेयरको लागि खर्च गर्ने बताएको छ भने टेलिहेल्थका लागि २० करोड डलर बजेटमा विनियोजन गरिएको छ।
त्यसै गरी राज्य तथा प्रादेशिक सरकारहरूको सहयोगार्थ १० करोड डलरभन्दा बढी रकम दन्त्य सेवाका लागि सङ्घीय सरकारले प्रदान गर्नेछ र अर्को २ करोड ७० लाख डलर खानपिनमा समस्या भएका मानिसहरूको उपचार तथा सहयतामा खर्च हुनेछ।
आगामी चार वर्षसम्म फार्मेसिट्युकल बेनेफिट स्किमका लागि भनेर बजेटमा ४३ अर्ब डलर राखिएको छ जसको मद्दतले जीवन रक्षा गर्ने महँगा औषधोपचारका लागि मानिसहरूले सङ्घर्ष गर्नुनपर्ने ट्रेजररले बताए।
वैदेशिक सहायता
अफिसियल डिभेलप्मेन्ट असिस्टेन्स कार्यक्रम अन्तर्गत भारतीय-प्रशान्त क्षेत्रका देशहरूमा स्वास्थ्य सुरक्षा, स्थायित्व र आर्थिक पुनर्जागरणका निमित्त ४ अर्ब डलर सङ्घीय बजेटमा व्यवस्था गरिएको छ।
यसका साथै सरकारले उक्त क्षेत्रमा कोभिड-१९ महामारीको प्रभावसँग लड्न सहयोग होस् भन्ने हेतुका साथ थप ३ करोड १९ लाख डलर अनुदान स्वरूप दिने पनि घोषणा गरेको छ।
