अस्ट्रेलियाको कर्मचारी अभाव र यसले भिसाको नियममा पार्ने प्रभाव
- अस्ट्रेलिया भर २८६ वटा पेसाहरूमा कर्मचारी अभाव रहेको पाइएको छ। सन् २०२१ मा १५३ रहेको यो सङ्ख्या हाल दोब्बर भएको हो।
- भिसाका नियममा हुने परिवर्तनहरू तुरुन्तै भने हुने छैनन्।
कर्मचारी अभावको समस्या भोगिरहेका पेसाहरू पछिल्लो एक वर्षको अवधिमा दोब्बर भएका छन्। यस समस्याको हलका लागि अधिकारीहरू लागिपरे तापनि, भिसाका नियममा "तुरुन्तै" परिवर्तन भने नआउने बताइएको छ।
सङ्घीय सरकारद्वारा अनुदान प्राप्त राष्ट्रिय सीप आयोग २०२२ को सीप प्राथमिकता सूचीमा २८६ पेसाका कर्मचारी अभाव भएको पाइएको हो।
तुलनात्मक रूपमा, सन् २०२१ मा १५३ पेसाले यो समस्या भोगिरहेका थिए।
"सूचीमा पेसाहरूक सङ्ख्या यस्तो ह्वात्तै बढेकोमा, सीपको अभावलाई तत्कालै सम्बोधन गर्नु पर्ने देखिन्छ," सीप मन्त्री ब्रेन्डन ओ'कनरले बताए।
अत्यधिक कर्मचारी माग रहेको पेसाहरूमा नर्स, सफ्टवेयर प्रोग्रामर, वृद्ध स्याहारकर्ता, निर्माण प्रबन्धक र बाल हेरचाहकर्ताहरू रहेका छन्।
उक्त आयोगले सरकारलाई निर्णय लिने क्रममा सल्लाह दिने गर्दछ।
तर ग्रेट इन्स्टिच्युटको आर्थिक नीति कार्यक्रमका निर्देशक
ब्रेन्डन कोट्सले बताए कि यसको अर्थ सरकारको दक्ष पेसा सूचीमा (स्किल्ड अक्युपसन लिस्ट) तुरुन्तै परिवर्तन आउँछ भन्ने होइन।

कोट्सका अनुसार सम्भावित परिवर्तन कमनवेल्थको प्राथमिकता प्रवासी दक्ष पेसा सूचीमा (प्रायोरिटी माइग्रेसन स्किल्ड अक्युपेसन लिस्ट) हुन सक्छ।
उक्त सूचीमा अस्ट्रेलियाको सीप अभाव कम गर्न आवश्यक ४४ प्राथमिक पेसाहरू उल्लेखित हुन्छन्।
यी पेसाहरूमा आबद्ध मानिसहरूको भिसा आवेदन कमनवेल्थ र राज्य तथा प्रदेशका भिसा प्रशोधन योजना मार्फत छिटो अगाडि बढाइन्छ।
जुलाई २०२१ मा अस्पताल फार्मासिस्ट, औद्योगिक फार्मासिस्ट र रिटेल फार्मासिस्ट पेसाहरू सूचीमा थपिएका थिए।
करिब ४०० भन्दा बढी पेसाहरू समावेश हुने लामो दक्ष पेसा सूचीहरूमा भने परिवर्तन हुन धेरै समय लाग्न सक्छ। यी सूचीहरूले छोटो-अवधिका, क्षेत्रीय, र अन्य राज्य तथा प्रदेशद्वारा प्रायोजित (स्पन्सर्ड) भिसाका निर्णयमा प्रभाव पार्दछन्।
"यी सूचीहरू लामो हुन्छन्, र प्रायः परिवर्तन हुँदैनन्," कोट्सले बताए।
"यी सूचीहरू मन्त्रीले गृह मामिला र सीप आयोगको सल्लाह साथ निर्धारण गर्दछन्, तर सीप आयोगबाट स्वचालित रूपमा भने हुँदैन।"

राष्ट्रिय रोजगारदाता सङ्घ एआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत इनेस विलक्स बताउँछन् कि आयोगको प्राथमिकता सीप सूचीले तत्काल आवश्यक सीपका लागि आप्रवासन महत्त्वपूर्ण रहेको देखाउँछ।
"४८२ टेम्पररी स्किल भिसा जस्ता योजनाहरू व्यवसायहरूलाई बढ्दो महत्त्वका छन् किनभने उनीहरूलाई स्थानीय रूपमा कर्मचारी पाउन गाह्रो भइरहेको हुन्छ," विलक्सले बताए।
"राष्ट्रिय सीप आयोगको तथ्याङ्क र गृह मामिला विभागको प्राथमिकता दक्ष पेसा सूची अलग भए तापनि, त्यो सूची अद्यावधिक भएकाले आयोगले महत्त्वपूर्ण जानकारी प्रदान गर्नु पर्छ।"
सरकारले अद्यावधिक गरिएको दक्ष प्राथमिकता सूची अनुसार भिसा नियममा परिवर्तन गर्छ कि गर्दैन भनी एसबीएस न्युजले सीप मन्त्री ब्रेन्डन ओ'कनर समक्ष प्रश्न राखेको थियो, तर प्रकाशन भन्दा पहिले उनीबाट प्रतिक्रिया आएन।
राष्ट्रिय सीप आयोगकी एक प्रवक्ताले बताइन् कि उक्त सूचीले नीति निर्माण गर्दा कुन पक्षमा केन्द्रित हुने भनी निर्धारण गर्न मद्दत गर्छ।
"तर त्यो मात्र [नीति निर्माणमा] महत्त्वपूर्ण पक्ष होइन भनेर हामी बुझ्नु पर्छ," उनले भनिन्।

त्यस्तै, अर्को एक विज्ञप्तिमा ओ'कनरले बताए कि सीपको अभावलाई सम्बोधन गर्न र भेट [VET व्यावसायिक शिक्षा र प्रशिक्षण) क्षत्रलाई बलियो बनाउन सरकारले तत्काल कदमहरू चालिसकेको छ।
"यसै कारण एल्बनिजी सरकार जब्स एन्ड स्किल्स सम्मेलनमा सहभागी थियो, र हाल सिनेटमा रहेको जब्स एन्ड स्किल्स अस्ट्रेलिया विधेयकलाई पारित गर्न प्राथमिकता दिइरहेको छ," उनले बताए।
"त्यसैले राष्ट्रिय मन्त्री परिषद्ले सन् २०२३ सम्म टेफमा १,८०,००० वटा नि:शुल्क स्थानहरू प्रदान गर्ने, र लेबर सरकारले विश्वविद्यालयहरूमा २०,००० वटा नयाँ स्थानहरू प्रदान गर्ने बताएको छ।"

कोभिड-१९ को प्रभाव र बदलिँदो आर्थिक परिवेशका कारण स्वास्थ्य, शिक्षा लगायत विभिन्न पेसामा चुनौतीहरू थपिएको आयोगको प्रतिवेदनले जनाएको छ।
यसै बीच, श्रम बजारमा प्राविधिक र ट्रेड कर्मचारीहरूको कमी निरन्तर रहेको रिपोर्टमा बताइएको छ।
रिपोर्टको अनुसार अस्ट्रेलियामा सन् २०२२ को अगस्ट महिनामा ३,०९,००० रोजगार अवसरहरू विज्ञापन गरिएका थिए।
गत वर्षको अगस्ट महिनाको तुलनामा यो सङ्ख्या ४२% बढेको छ।
सबैभन्दा धेरै कर्मचारीहरू भएका २० ठुला पेसाहरूले (वृद्ध र अशक्तता हेरचाह, इलेक्ट्रिसियन, स्टोरपर्सन र वेट्रेस सहित) कर्मचारी अभावको सामना गरिरहेका थिए।
