हाइलाइट्स
- कोभिड-१९ का कारण अस्ट्रेलिया भित्रन नपाएका निम्न सूचित भिसा धारकका लागि भिसा आवेदन शुल्कमा छुट
- यात्रा प्रतिबन्धका कारण आफ्नो देश फर्कन नपाएकाले भिसाको म्याद थप्न पाउने
- अस्ट्रेलियालाई कृषि र पर्यटकीय क्षेत्रमा सुधार ल्याउने सरकारको योजना
कोरोनाभाइरस महामारीको सुरुवातका साथ् लागु गरिएका यात्रा प्रतिबन्धका कारण अस्ट्रेलिया प्रवेश गर्न नपाएकाहरुको भिसा खर्च खेर जान नदिन भन्दै मोरिसन सरकार द्वारा अस्थायी भिसा शुल्कमा केहि परिवर्तन गर्ने घोषणा गरेको छ।
देशको खस्कदो अर्थ व्यवस्थालाई उकास्न उक्त कदम चालिएको सरकारको भनाइ छ।
यस सुविधाका लागि कोभिड-१९ का कारण यात्रामा असर परेका पर्यटक, वर्किङ होलिडे भिसा धारक, सिजनल र प्यासिफिक वोर्कर,सम्भाव्य विवाह भिसा धारक तथा अस्थायी स्किल्ड वोर्कर भिसा भएकाहरू योग्य हुनेछन्।
भिजिटर(आगन्तुक) भिसा
भिजिटर भिसा भए तापनि अस्ट्रेलिया आउन नपाई आफ्नै देशमा रहेका, र सन् २०२० को मार्च महिनादेखि आउँदो सन् २०२१ को डिसेम्बर महिना बीच उक्त भिजिटर भिसाको म्याद सकिएको या सकिने मानिसहरूले नयाँ भिसा आवेदन पेस गर्दा छुट पाउनेछन्।

यस सुविधाले अन्तराष्ट्रिय यात्रा प्रतिबन्धहरू खुकुलो भएपछि अस्ट्रेलियाको ४५ अर्ब अस्ट्रेलियाली डलर बराबरको अन्तराष्ट्रिय पर्यटन क्षेत्रलाई उकास्न मद्दत गर्ने सरकारको विश्वास छ।
अहिले देशभरका पर्यटकीय क्षेत्र र तीनका सञ्चालकहरू घाटा बेहोर्न बाध्य भइरहेको समयमा उक्त योजनाले यात्रा सुचारु भए पश्चात् अस्ट्रेलियाको अर्थव्यवस्था सुधार्ने अपेक्षा गरिएको छ।
वर्किङ होलिडे भिसा
कोभिड-१९ का कारण अस्ट्रेलिया भित्रन नपाएका अथवा भिसा अवधि सकिनु अघि नै आफ्नो देश फर्कनु परेका वर्किङ होलिडे भिसा धारकहरुले अस्ट्रेलिया आउँदा/फर्कँदा भिसा शुल्कमा छुट पाउने छन्।
साथै ग्रामिण स्थानहरुमा काम पनि गर्न पाउने उक्त पर्यटन भिसाका धाराकहरुको उमेर सीमा नाघे उनीहरुले भिसा शुल्क फिर्ता पाउने छन्।

क्षेत्रीय तथा ग्रामीण अस्ट्रेलियाका पर्यटकीय क्षेत्र एवं कार्यबलको कमी भएका अन्य मुख्य उद्योगहरूमा यस भिसा आउनेहरूको ठूलो योगदान हुने गरेको छ। यतै काम गर्ने र बस्ने भएकाले उनीहरूले स्थानीय रोजगारलाई समर्थन गर्दै देशको अर्थव्यवस्थामा औसत ३ अर्ब अस्ट्रेलियाली डलरको योगदान गर्ने गरेका छन्।
यी पछिल्ला परिवर्तनहरूमा स्वास्थ्य, वृद्ध हेरचाह, अशक्त हेरचाह, कृषि र खाना प्रशोधन उद्योगलाई आवश्यक पर्ने अन्य उपायहरू पनि समावेश गरिएको छ।
सिजनल वोर्कर प्रोग्राम र प्यासिफिक लेबर स्किम कामदारहरू
२० मार्च २०२० अघि भिसा पाएका तर कोभिड-१९ का कारण अस्ट्रेलिया आउन नपाएका सिजनल वोर्कर प्रोग्राम र प्यासिफिक लेबर स्किमका भिसा धारकहरूले आफ्नो भिसा आवेदनमा लागेको भीएसी खर्च फिर्ता पाउने छन्।

कृषि लगायत अन्य ,मुख्य उद्योगहरूमा कामदारको कमीलाई पूरा गर्नका लागि गत अगस्ट महिनादेखि यी भिसा कार्यक्रमहरूको पुनः थालनी गरिएको थियो। यस भिसामा आएका कामदारहरूले थप १२ महिनाका लागि आफ्नो भिसा अवधि थप्न पनि पाउने छन्।
अस्थायी कामदारहरू (टेम्पोररी स्किल्ड वोर्कर)
यात्रा प्रतिबन्धहरूका कारण थुप्रै टेम्पोररी स्किल शर्टेज र टेम्पोररी स्किल्ड कामदार भिसा धारकहरू अस्ट्रेलिया भित्रन नपाएका या छिटै आफ्नो देश फिर्ता जानु परेको थियो।
यसबाट प्रभावित भएका रोजगारदाताले प्रायोजक गर्ने भिसा (टेम्पोररी इम्प्लोयर स्पन्सर्ड स्किल्ड माइग्रान्ट) भएकाहरूले फेरी सो भिसाको आवेदन दिँदा भीएसीमा छुट पाउने छन्।
स्थानीय कार्यबलमा नपाइने सीपहरू दक्ष आप्रवासी कामदारमा पाइने, र यस्ता कामदारहरूको माग गर्ने स्थानीय व्यवसायहरूको समर्थनका लागि यो योजना अघि सारिएको हो।
यद्यपि, रोजगार अवसरमा अस्ट्रेलियाली हरूलाई प्राथमिकता दिनका लागी कामदार भिसाका आवेदकहरूको श्रम बजारका उठेका माग अनुसार कडा मूल्याङ्कन गरिने बताइएको छ।
सम्भाव्य विवाह भिसा धारकहरू (प्रोस्पेक्टिभ म्यारिज भिसा धारक)
प्रोस्पेक्टिभ म्यारिज भिसा भएकाहरूले नौ महिनाका लागि अस्ट्रेलिया भ्रमण गर्न र अस्ट्रेलियाली नागरिक या यहाँको स्थायी निवासीसँग विवाह गर्न पाउँदछन्।
कोभिड-१९ का कारण आफ्नो भिसाको म्याद सकिनु अघि अस्ट्रेलिया आउन नपाएका प्रोस्पेक्टिभ म्यारिज भिसा धारकहरूले पनि भिसा आवेदन शुल्क फिर्ता पाउनेछन्।

फिर्ता गरिएको शुल्क प्रयोग गरेर आवेदकहरूले यात्रा प्रतिबन्धहरू हटेपछि नयाँ भिसा आवेदन पेस गरी आफ्नो विवाह सम्पन्न गर्न सक्नेछन्।
म्याद सकिएर पेस गरिएका नयाँ आवेदनहरूलाई प्राथमिकता दिइने छ। अझै म्याद बाँकी रहेका भिसा धारकहरूले भनी सोही भिसाको अवधि लम्बाउन पाउने छन्।
यात्रा प्रतिबन्धहरू हटेपछि अस्ट्रेलियालाई पहिले झैँ पर्यटकीय थलो बनाउनका लागि यी कदमहरू प्रभावकारी हुने सरकारले जनाएको छ।
