SKIP TO MAIN CONTENT

अस्ट्रेलियासँग आफ्नो देशको सम्बन्ध ‘एक नयाँ मोड’मा उभिएको चिनियाँ राजदूत सियाओ किआनको भनाई

अस्ट्रेलियाका लागि चिनियाँ राजदूत सियाओ किआनका अनुसार दुई देश बिचको सम्बन्ध अब एक नयाँ मोडमा आएर उभिएको छ।

China's ambassador to Australia, Xiao Qian, says relations between both countries are moving in a new direction.
China's ambassador to Australia, Xiao Qian, says relations between both countries are moving in a new direction. Source: AAP

2 min read

Published

Updated



Skip to article content

केही दिन अघि सिङ्गापुरमा दुई देशका रक्षा मन्त्रीहरू बिच भेटघाट भएपछि किआनको सो भनाई आएको हो।

सिङ्गापुरमा आयोजित साङ्ग्रिला संवाद शिखर सम्मेलनका क्रममा अस्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्स र चिनियाँ समकक्षी वेई फेङ्घेको भेट भएको थियो।

पछिल्ला केही वर्षदेखि चिसिएको दुई देश बिचको सम्बन्धलाई अन्त्य गर्ने महत्त्वपूर्ण कडीका रूपमा लिइएको उक्त भेटघाट झन्डै तीन वर्षमा पहिलो पटक भएको थियो।

वेस्टर्न अस्ट्रेलियामा आयोजित अस्ट्रेलिया-चाइना फ्रेन्डसिप एसोसिएसनको एक राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्ने क्रममा राजदूत सियाओ किआनले द्वपक्षिय भेटघाटसँगै अब अस्ट्रेलियासँगको चिनियाँ सम्बन्ध एक नयाँ मोडमा उभिएको बताएका हुन्।

उनका अनुसार सङ्घीय सरकारसँग मिलेर काम गर्दै दुई देश बिचको सम्बन्धलाई ठिक दिशातर्फ उन्मुख गराउन बेइजिङ तत्पर छ।

चिनियाँ राजदूत सियाओ भन्छन् कि आफ्नो देशले अस्ट्रेलियासँगको सम्बन्धलाई एक चिरकालसम्मको नजरबाट हेरेको छ र ऊसँग मिलेर अगाडि बढ्न आफूहरू कटिबद्ध छन्।

“चीन-अस्ट्रेलिया सम्बन्ध थुप्रै चुनौतीहरू र अवसरहरू लिएर एक नयाँ मोडमा उभिएको छ,” उनले सप्ताहान्तमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

“चीन... पारस्परिक लाभ र नतिजाको लागि अस्ट्रेलिया पक्षसँग मैत्रीपूर्ण आदानप्रदान र सहयोग सञ्चालन गर्न प्रतिबद्ध छ। (हाम्रो) यो नीति थियो र यसमा परिवर्तन भएको छैन।”

कोभिड-१९ को उद्गमबारे छानबिन हुनुपर्ने भन्दै अस्ट्रेलियाले आवाज उठाएपछि, चीनसँगको उसको सम्बन्धमा तिक्तता छाएको थियो।

गत महिना चीनले प्रशान्त महासागर स्थित सोलोमोन आइल्यान्ड्ससँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि भने दुई देशबिच तनाव झनै चुलिएको थियो।

तर राजदूत सियाओका अनुसार भने चीन प्रशान्त क्षेत्रमा रहेका देशहरूको दिगो विकासका लागि अस्ट्रेलियासँग सहकार्य गर्न तयार छ।

“प्रशान्त क्षेत्रमा रहेका देशहरू माथि अस्ट्रेलियाको पारम्परिक प्रभावलाई चीनले ठुलो महत्त्व दिएको छ,” उनले भने।

“यी देशहरूसँगको मामिलामा अस्ट्रेलियासँग संवाद गर्दै अगाडी बढ्न चीन तयार छ।”

यता अस्ट्रेलियाका पूर्व रक्षा तथा गुप्तचर प्रमुख डेनिस रिचर्डसन्‍ले पनि दुई मन्त्रीहरू बिचको संवादलाई केही वर्षदेखि चिसिएको सम्बन्ध न्यानो तुल्याउने तर्फ अग्रसर कदम भनेर टिप्पणी गरेका छन्।

एबीसी रेडियोसँग बोल्दै उनले भने कि मौका मिल्नासाथ दुवै देश तयार भएर वार्ता गर्नु एकदमै उल्लेखनीय काम हो।

“मेरो विचारमा यो एक सुरुवात मात्र हो र हामीलाई (सम्बन्ध सुधार्न) धेरै लामो बाटो तय गर्नु छ,” रिचर्डसन्‍ले भने।

अस्ट्रेलियामा सरकार परिवर्तन भएका कारण पनि दौत्य सम्बन्ध केही सुधारोन्मुख लागेता पनि दुई देश बिच थुप्रै कुरामा मतभेद रहेको उनको भनाई छ।

“आधारभूत रूपमा चीन र अस्ट्रेलियाको सोचमा निकै ठुलो फरक छ,” पूर्व रक्षा प्रमुखले भने।

“मेरो बिचारमा तत्कालै यसमा अद्भुत रूपमा सुधार हुनेछैन।”


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now